+
+

भारत भ्रमणमा किन जाँदैछन् रक्षामन्त्री उप्रेती ?

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १२:०७

२९ माघ, काठमाडौं । भारतको बैंग्लोरमा हुन लागेको ‘एयर एक्जिविसन’मा नेपालका रक्षामन्त्री हरिप्रसाद उप्रेती आफैं सहभागी हुने भएका छन् । ‘एरो इण्डिया–२०२३’ मा सहभागी हुन उप्रेतीसहितको टोलीले आइतबार भारततर्फ प्रस्थान गर्ने तयारी गरेको छ ।

रक्षा मन्त्रालयका प्रवक्ता सह–सचिव प्रकाश पौडेलले भारतका रक्षामन्त्री राजनाथ सिंहको निमन्त्रणमा उप्रेतीसहितको टोलीले भारत भ्रमण गर्न लागेको अनलाइनखबरलाई बताए ।

बैंग्लौरस्थित सैनिक हवाई अड्डामा ‘एरो इण्डिया २०२३’ आयोजना गरेर भारतले हवाई प्रतिरक्षा क्षमता प्रदर्शन गर्दैछ । सोमबारदेखि पाँच दिनसम्म हुने कार्यक्रममा अन्य मुलुकका हवाई प्रतिरक्षाका अधिकारी, रक्षा मन्त्रालयका कर्मचारी, उड्डयान सामग्री उत्पादन कम्पनी, प्रविधिविज्ञहरु सहभागी हुँदैछन् ।

तर, नेपालबाट चाहिँ रक्षामन्त्री उप्रेती स्वयम् उपस्थित हुन लागेका हुन् । जबकि, यसमा प्रधानसेनापति प्रभुराम शर्मा पनि सहभागी हुने छैनन् । रक्षामन्त्री आफैं भारत जाने भएपछि जंगीअड्डाले बलाधिकृत रथी सरोजप्रताप राणालाई पठाउने निर्णय गरेको छ । राणा प्रधानसेनापतिपछि दोस्रो वरियताका सैन्य अधिकारी हुन् ।

एसियाको सबैभन्दा ठूलो हवाई प्रदर्शनी भनिँदै आएको यो कार्यक्रम १९९६ बाट हुँदै आएको छ । त्यसयता १३ औं संस्करणसम्म यो कार्यक्रम भइसकेको छ । तर, कुनै पनि कार्यक्रममा नेपालका प्रधानसेनापति सहभागी नभएको उच्च सैनिक स्रोतले अनलाइनखबरलाई बतायो ।

‘यसअघिका संस्करणमा सैनिक हवाई निर्देशनालयबाट टोली जाने गरेको थियो, कहिले काहीँ विजनेससँग सम्बन्धित भए सम्भार रथीलाई पनि पठाइने गरिएको थियो’, स्रोतले भन्यो, ‘एकपटक सम्भार रथी र रक्षासचिव सहभागी भएको जानकारी छ ।’

मन्त्रालयका प्रवक्ता पौडेलले चाहिँ धेरै देशका मन्त्रीहरुको भ्रमण हुने आफूले सुनेको बताउँदै निमन्त्रणमा पनि त्यही अनुसार भएको बताए । ‘निमन्त्रणा देख्ने कुरा त भएन, तर सेना प्रमुखहरुलाई पनि बोलाएको हुन्छ रे’, उनले भने ।

रक्षा मन्त्रालयले मन्त्रीहरुबीच सोही अवसरमा साइड लाइन छलफल पनि हुने जनाएको छ । तर, अन्य कुन कुन देशका रक्षामन्त्रीलाई कार्यक्रममा सहभागी हुन्छन् भन्ने खुलेको छैन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रममा ६९९ भारतीय र ११० विदेशी प्रदर्शकहरु उपस्थित हुने भनिएको छ ।

प्रदर्शनी अन्तरगत सोमबार एरोस्पेश र सैन्य सामग्री उत्पादक कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुबीच राउण्ड टेबल छलफल हुनेछ । छलफल ‘आकाश सीमा होइन : सीमाहरु बाहिरका अवसरहरु’ शीर्षकमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?