+
+

सुदूरपश्चिममा जस्तै अरु ठाउँमा पनि हाम्रो आवश्यकता महसुस होस् : माधव नेपाल

'रेशम चौधरीलाई रिहा गर्न आवश्यक छ'

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १४:१६

२९ माघ, धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेशमा जस्तै अन्य ठाउँमा पनि सबैले समयमै आफ्नो पार्टीको आवश्यकता महसुस गर्ने विश्वास व्यक्त गरेका छन् ।

पार्टीको प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्न आइतबार बिहान धनगढी पुगेका नेपालले समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सबैतिर आवश्यकता महसुस हुनुपर्ने उल्लेख गरेका हुन् ।

‘एक जना व्यक्तिले पनि शक्ति सन्तुलनमा धेरै फरक पर्छ । सुदूरपश्चिम प्रदेशसभामा तपाईहरु चार जना हुनुहुन्छ । मन खुम्च्याउने काम नगर्नुस् । यहाँको सरकारमा हाम्रो पनि सहभागीता हुनु राम्रो कुरा हो,’ उनले भने, ‘अरु ठाउँमा पनि सबैले हाम्रो आवश्यकता समयमै महसुस गरुन । अवमूल्मन अपमान, वेवास्ता नगरुन ,हामी पनि कोही हौँ भन्ने कुरा जबसम्म कार्यकर्ता र जनताले महसुस गर्दैनौँ तबसम्म संगठन निर्माणमा लागिरहनुपर्छ ।’

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले मुलुकले लामो समयदेखि अस्थिरता भोगेको बताउदै शासन सञ्चालन गर्ने कतिपय कुरासँग सहमत हुन नसकिने बताए । राष्ट्रपतिले प्रतिनिधिसभामा सम्बोधन गर्न जाने बेला प्रहरीले चिकित्सकमाथि कुटपिट गरेको घटनामा प्रधानमन्त्रीले गम्भीर बन्नुपर्ने बताएका उनले छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गाँधमा राष्ट्रिय राजनीतिलाई सहमतिका साथ अघि बढाउनुपर्ने दायित्व आएको बताउदै उनले सहमतीको यात्रामा अघि बढ्न सक्नेमा विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपतिमा तपाईको पनि नाम चलेको छ नी भन्ने जिज्ञाशामा नेपालले आफ्नो मात्र इच्छा भएर केही नहुने उल्लेख गरे भने राष्ट्रिय सहमती अहिलेको आवश्यकता भएको उनको भनाई थियो ।

टीकापुर घटनामा दोषी ठहर भएर डिल्लीबजारस्थित कारागारमा रहेका रेशम चौधरीलाई रिहा गर्नुपर्नेसमेत बताएका छन् । ‘उहाँ (रेशम) लाई रिहा गर्न आवश्यक छ,’ नेपालले भने, ‘रेशम मात्र होइन, हिजो माओवादीको शान्ति प्रक्रियासँग जोडिएको कुरा, विप्लवहरुका मुद्दा, हाम्रै पनि कतिपय मुद्दा मामला छन् । यस्ता राजनीतिक प्रकृतिका विषयवस्तु र मुद्दालाइ छिटो टुंगो लगाउनु राम्रो हुन्छ ।’

वैचारिक शक्तिहरुबीच एकता गर्ने पार्टीको नीति भएको बताएका नेपालले विभिन्न दलहरुसँग संवाद भइरहेको बताए । एमालेसँग पनि एकता हुने सम्भावना कतिको छ ? भन्ने पत्रकारको प्रश्नमा उनले ताली एक हातले मात्र बजाउन नसकिने टिप्पणी गरे ।

‘ताली एक हातले बज्दैन् । ताली बजाउन दुई वटा हात चाहिन्छ । हामीले मात्रै त्यतिकै हात उठाएर केही भएन,’ नेपालले भने, ‘हामी कुनै पनि कुरामा संकिर्ण छैनौँ, पूर्वाग्रह राख्दैनौँ, बदलाको भावना लिदैनौं। अरुको अपमान गर्दैनौँ, खिल्ली उडाउदैनौँ हाम्रो आफ्नै किसिमको संस्कार छ त्यहीअनुसार व्यवहार गछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?