+
+

क्वात्राले प्रचण्डलाई किन दिएनन् भारत भ्रमणको औपचारिक निम्तो ?

दिपेश शाही दिपेश शाही
२०७९ फागुन १ गते २१:५२

भारतीय विदेश सचिव विनयमोहन क्वात्राको नेपाल भ्रमण तय भएदेखि नै उनले निर्वाचनपछि गठन भएको नयाँ सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको निम्तो दिने अनुमान गरिएको थियो ।

तर दुई दिने भ्रमणका लागि काठमाडौं आएका भारतीय विदेश सचिव क्वात्राले सोमबार बेलुका नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटघाटका क्रममा प्रचण्डलाई भारत भ्रमणको औपचारिक निम्तो भने दिएनन् । यद्यपि, भ्रमणको लागि अनुकुल समयका विषयमा भने छलफल भएको छ ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार क्वात्राले नेपालमा नयाँ राष्ट्रपति निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा भ्रमणको अनुकुलताका विषयमा चासो व्यक्त गरेका थिए ।

‘उहाँले प्रधानमन्त्रीको भ्रमणका लागि समय कहिलेसम्म मिल्नसक्छ भन्ने विषयमा चासो राख्नुभयो’, स्वकीय सचिव मल्लले भने, ‘त्यसका लागि यताको समय पनि मिल्नुपर्ने हुन्छ । हाम्रो समय अनुकुलतालाई हेरेर निम्तो दिने उहाँहरूको तयारी होला ।’

उनले राष्ट्रपति निर्वाचनको मिति तय भइसकेकाले त्यसअघि भ्रमणको सम्भावना यसै पनि नरहने हुँदा त्यसपछि मात्रै औपचारिक भ्रमणको निम्तो आउन सक्ने संकेत गरे ।

भारतीय दूतावास स्रोतका अनुसार पनि अहिले नै औपचारिक भ्रमणको निम्तो दिने अवस्था बनिनसकेको बुझाइ भारतीय सत्ता पक्षको छ । नेपालमा २५ फागुनका लागि तय भएको राष्ट्रपति निर्वाचन र त्यसको परिणामले सत्ता समीकरणमा प्रभाव पर्नसक्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई निम्तो दिन हतार नगर्ने मनस्थितिमा भारत पुगेको हो ।

‘यहाँको सरकारकै सुनिश्चितता छैन, निम्तो मात्रै दिएर के गर्ने ?,’ दूतावास स्रोतले भन्यो, ‘राष्ट्रपतिको निर्वाचनसँगै यहाँको सत्ता राजनीति नै फेरियो भने निम्तो मात्रै दिएर हुँदैन । त्यसका लागि समय परिपक्व बनिसकेको छैन ।’

निम्तो दिए पनि नदिए पनि प्रधानमन्त्रीको राजनीतिक भ्रमण भारतबाटै सुरु हुनेमा भारतीय पक्ष ढुक्क छ । ‘अहिलेसम्मको परम्परा र प्रचण्डजी स्वयंले पनि घोषणा गरिसक्नु भएकाले प्रधानमन्त्रीको पहिलो भ्रमण त भारतबाट हुन्छ भन्नेमा कुनै शंका छैन । तर कहिले भन्ने मात्रै हो,’ स्रोतले भन्यो ।

प्रचण्डले प्रधानमन्त्री नियुक्त भएलगत्तै भारतीय सञ्चार माध्यमलाई अन्तर्वार्ता दिने क्रममा आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने बताएका थिए ।

क्वात्राको उच्चस्तरीय भेटघाट

नेपाली समकक्षी परराष्ट्रसचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा क्वात्रा दुई दिने भ्रमणका लागि सोमबार बिहान नेपाल आएका हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेलगत्तै होटल याक एण्ड यती पुगेका थिए । त्यहाँ दुईपक्षीय सचिवस्तरीय बैठक बसेको थियो ।

बैठकमा सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गरे । सो अवसरमा उनीहरूबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर भेट गरे । त्यसअघि परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग मन्त्रालयमा भेटवार्ता गरेका थिए । उनले आजै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग पनि भेट गरेका छन् ।

उनी अपरान्ह पशुपतिनाथ मन्दिर समेत पुगेका थिए । क्वात्राले मंगलबार पनि राजनीतिक भेटघाटलाई निरन्तरता दिएर अपरान्ह नयाँ दिल्ली फर्किने कार्यक्रम रहेको छ । उनले लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पनि भेट गर्ने जनाइएको छ ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?