+
+

मुख्य कृषि उपजको आयात ३० प्रतिशतले घट्यो

उत्पादन वृद्धि नभई आयात घट्दा खाद्य शृङ्खला भत्कने चिन्ता

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ फागुन ४ गते १७:२२

४ फागुन, काठमाडौं । मानिसको दैनिक जीवनका अति उपभोग्य कृषि उपजहरुको आयातमा आश्चार्यजनक गिरावट आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार चालु आर्थिक वर्ष (आव) को ६ महिनामा पेट पाल्नकै लागि नभई नहुने खाद्यवस्तुको आयातमा ३० प्रतिशत बढीले गिरावट आएको छ ।

खाद्यान्नको खपत गर्ने जनशक्तिमा कुनै ठूलो परिवर्तन नआउनु, उत्पादन पनि नबढ्नु तर कृषि वस्तुको आयातमा गिरावट आउनुले मन्त्रालय नै झस्किएको अधिकारीहरुले बताएका छन् । उत्पादन वृद्धि नभई घटेको आयात र खपत जस्ताको त्यस्तै रहनुबारे मन्त्रालयले आन्तरिक र अन्तर मन्त्रालय छलफल थालेको पनि कृषि मन्त्रालयले जनाएको छ ।

आन्तरिक उत्पादनमा कुनै ठूलो वृद्धि नहुनु, उपभोगयोग्य जनशक्तिमा स्थानान्तरण नै नभई चामल, धान, आलुदेखि कनिका र धानको बिउ आयातमा समेत संकुचन देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलकाअनुसार धानको बिउको आयात ९७ प्रतिशतले घटेको छ । धान चामलको आयात ३१ प्रतिशत, मकै २४ प्रतिशत, गहुँ ९८ प्रतिशत र कनिकाको आयात ६९ प्रतिशतसम्मले घटेको छ । यस्तै आलुको आयात ९ प्रतिशतले घटेको छ । मुख्य फलफूलहरुमा स्याउ र केराको आयातमा पनि शंचुकन आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले पहिचान गरेको प्रमुख ११ प्रकारका खाद्य बाली तथा फलफूल मध्ये सुन्तला र प्याजबाहेक सबै प्रकारका वस्तुको आयातमा कमि आएको छ । आन्तरिक उत्पादन वृद्धि नभई आयातमा आएको एक्कासी गिरावटले बजारको ओद्योगिक तथा खाद्यान्न उपभोगको चक्रमा गम्भीर असर देखिन सक्ने पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार चालु आवको पुससम्म धान चामलको आयात ३१.३० प्रतिशतले कमि आएको छ । पुसम्म नेपालले १८ अर्ब ६३ करोड रुपैयाँको ४ लाख २३ हजार ५४३ मेट्रिकटन धान चामल आयात गरेको छ । जबकि गत वर्ष २७ अर्ब १३ करोड ३५ लाख रुपैयाँ बराबरको ६ लाख ७५ हजार ९४३ मेट्रिकटन धान चामल आयात भएको थियो ।

मन्त्रालयकाअनुसार यो ६ महिनामा मात्रै धान चामलको आयात परिमाणमै २ लाख ५२ हजार ४ सय मेट्रिकटनले घटेको छ । यस अवधिमा कनिकाको आयात मात्रै २० हजार ४७१ मेट्रिकटनले घटेको छ ।

गत वर्ष पुससम्म नेपालमा ११ अर्ब ९० करोड रुपैयाँको ३ लाख ३५ हजार २३८ मेट्रीकटन मकै आयात भएकोमा चालु आवमा ८ अर्ब ८१ करोड ६० लाख रुपैयाँ बराबरको २ लाख ८ हजार २५१ मेट्रिकटन मात्रै मकै आयात भएको छ । यस्तै भारतको प्रतिबन्धका कारण गहुँको आयात शतप्रतिशतले घटेको छ ।

गत वर्ष पुससम्म नेपालले ३ अर्ब ४६ लाख ६३ हजार रुपैयाँ बराबरको एक लाख ७ हजार ५१८ मेट्रिकटन गहुँ आयात भएकामा यस वर्ष यस्तो आयात शून्य छ । यस्तै, ताजा आलुको आयात २४ हजार ७१४ मेट्रिकटनले घटेको छ ।

गत आवमा ५ अर्ब ९६ करोड ३५ लाख रुपैयाँ बराबरको २ लाख ३५ हजार ६४९ मेट्रिकटन आलु आयात भएकामा यस वर्ष पुससम्म ५ अर्ब ३९ करोड ३० लाख रुपैयाँको २ लाख १० मेट्रिकटन मात्रै आलु नेपाल भित्रिएको छ ।

मन्त्रालयकाअनुसार ताजा हरियो तरकारीको आयात परिमाण १२.४ प्रतिशतले घटेको छ । गत आवको पुससम्म २१ हजार ९६९ मेट्रिकटन हरियो तरकारी नेपाल भित्रिएकोमा यस वर्ष १९ हजार २ सय मेट्रिकटन मात्रै हरियो तरकारी नेपाल आयात भएको छ ।

यो आर्थिक वर्षमा स्याउको आयातमा पनि गिरावट आएको छ । मन्त्रालयको विवरणअनुसार गत वर्षको तुलनामा स्याउको आयात १८ करोड रुपैयाँले घटेको छ । मुलुकको कुल खाद्य वस्तु आवश्यकतालाई स्वदेशी उत्पादनको तुलनामा आयातको हिस्सा उपजअनुसार कम्तीमा दुईदेखि ६२ प्रतिशतसम्म रहेको अवस्थामा आयातमा भएको संकुचनले खाद्य संकटलाई संकेत गर्ने मन्त्रालयको चिन्ता छ ।

मन्त्रालयका तथ्यांक विभाग प्रमुख रामकृष्ण रेग्मीकाअनुसार गत वर्षको तुलनामा कृषि उपजको आयात सारमा ३० प्रतिशतले घटेको छ । मुख्यतय कृषि उपजको धेरै आयात हुने पहिलो ६ महिनामै आयात घट्नुको पछाडि स्वेदेशी उत्पादनमा उल्लेख्य वृद्धि भने नरहेको उनले बताए ।

भारतको प्रतिबन्धात्मक नीतिका कारण गहुँको आयातमा असर परेपनि अन्य वस्तुको आयात घट्नृुमा अर्थतन्त्रको सूक्ष्म अध्ययन हुनु पर्ने रेग्मीले बताए । ‘आयात घटेको भन्न किन गत वर्ष उच्च आयात थियो भन्नु पर्छ,’ रेग्मी भन्छन्, ‘राष्ट्र बैंकको मौद्रिक नीति, ब्याजदर, आयातको कडाइका कारण पनि बजार प्रभवित भएको हुनसक्छ ।’

उनकाअनुसार अर्थ मन्त्रालयको वित्तीय नीति र भारतीय आर्थिक नीतिका कारण पनि नेपालको बजार प्रभावित भएको हो । स्वदेशी मौलिक उत्पादनाई दैनिक खाद्य शृङ्खलासँग नजोडे कम आय भएका परिवारलाई सन्तुलिन खाद्यान्नको उपलब्धतामा समस्या हुन सक्ने उनले औल्याए ।

उत्पादन र खपतको अवस्थाबारे एकीकृत तथ्याङ्क र अभिलेखको विवरण सरकारसँग नभएका कारण बजार चक्रम बिग्रिन सक्ने चिन्ता थपिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार नेपालमा चामलको वार्षिक खपत ४० लाख ४८ हजार मेट्रिकटन छ । जसमा स्वदेशी उत्पादनबाट ३१ लाख ८० हजार मेट्रिकटन उपलब्ध हुन्छ भने ८ लाख ६७ हजार मेट्रिकटन आयातमा निर्भर हुनुपर्छ । कुल आवश्यकताको २१ प्रतिशत हिस्सा आयातमा निर्भर रहेको चामलमा ठूलो गिरवट आउँदा यसले बजार प्रभावित हुन सक्ने देखिएको मन्त्रालयको चिन्ता छ ।

‘केही महिना देखि चामलको मूल्यमा उच्च वृद्धि हुुँदै जानु र आपूर्तिमा देखिएको शिथिलता बीच केही तालमेल छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘यसको जोखिमबाट बच्न पहल थाल्नु पर्छ ।’
यस्तै ताजा हरियो तरकारीको कुल नेपाली उत्पादन ४१ लाख ५३ हजार मेट्रिकटन मात्रै छ ।

जबकि नेपाललाई वार्षिक ४२ लाख ४९ हजार मेट्रिकटन यस्ता वस्तुको आवश्यकता छ । नेपाल वार्षिक २.२५ प्रतिशत हरियो तरकारीमा आयातमै निर्भर छ । नेपालमा आलुको वार्षिक खपत ३७ लाख ९४ हजार छ जसमा आन्तरिक उत्पादनले ३४ लाख र बाँकी आयातमा निर्भर छ ।

नेपाललाई वार्षिक ४ लाख ३६ हजार मेट्रिकटन प्याज चाहिनेमा स्वदेशी उत्पादन २ लाख ६२ हजार मेट्रिकटन मात्रै छ । यस्तै नेपालमा वार्षिक ६ लाख २४ हजार मेट्रिकटन दलहन (दाल, गेडा गुडी) चाहिनेमा आन्तरिक उत्पादन ४ लाख ८ हजार मेट्रिकटन मात्रै छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?