+
+

‘डोरी बोकेर मर्न हिंडेका थुप्रै जीवनमा फर्किएका छन्’

कस्तोसम्म हुन्छ भने कतिपयले फोन गरेर मैले डोरी झुण्ड्याइसकें सम्म भन्नुहुन्छ । त्यो बेला तत्कालै प्रहरीलाई खबर गर्‍यौं भने सहयोग हुनसक्छ । तत्काल उद्धार गर्न सकेको अवस्थामा ठूलो दुर्घटना हुनबाट टर्छ । अहिले प्रहरीले यो काम गरेको पनि छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते १८:४२

५ फागुन, काठमाडौं । कस्तोसम्म हुन्छ भने कतिपयले फोन गरेर मैले डोरी झुण्ड्याइसकें सम्म भन्नुहुन्छ । त्यो बेला तत्कालै प्रहरीलाई खबर गर्‍यौं भने सहयोग हुनसक्छ । तत्काल उद्धार गर्न सकेको अवस्थामा ठूलो दुर्घटना हुनबाट टर्छ । अहिले प्रहरीले यो काम गरेको पनि छ ।

कोही किन आफैंलाई सिध्याउने अवस्थामा पुग्छ ? कसैको मनमा आत्महत्या गर्ने सोच आइरहेको छ भने उसले त्यसबारे कसैलाई बताएको हुनसक्छ ?

कोही डोरी लिएर मर्न हिंडे भनिरहेको छ भने के गर्ने ? उपचार पाए त्यस्ता मानिसहरू पनि सामान्य जीवनमा फर्किन सक्लान् ? जीवनलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनसक्ला ? अनलाइनखबरका गौरव पोखरेलले यस्तै प्रश्नको जवाफ खोज्ने कोशिश गरेका छन्, मनोविद् संगीता खड्कासँग ।

आत्महत्या रोकथाम सम्बन्धी विषयमा काम गरिरहेको संस्था कोशिशसँग आबद्ध खड्का भन्छिन्, ‘हरेक प्रयास असफल भएपछि मात्रै मानिसले अन्तिम विकल्पका रूपमा आत्महत्या देख्ने हो । यद्यपि, त्यो विकल्प नै भने होइन ।’

समयमै सही सल्लाह दिएर उपचार गराउन सके त्यस्ता व्यक्तिहरू सामान्य जीवनमा फर्किन सक्ने खड्का बताउँछिन् । प्रस्तुत छ, खड्कासँग गरिएको कुराकानी:

कुनै पनि मान्छे के–कस्तो स्थितिमा आफैंलाई सिध्याउने अवस्थामा पुग्छ ?

आत्महत्याको प्रयास गरेका जतिलाई पनि मैले काउन्सिलिङ गरेकी छु, उहाँहरूले चाहिं आत्महत्या भनेको ‘इजी एस्केप’ हो भनेर सोच्नुभएको पाएकी छु । समाजका कतिपय मान्छेले केही गर्न सकेन त्यसैले आत्महत्याको बाटो रोज्यो भन्ने हिसाबले पनि सोच्छन् ।

तर, जति पनि व्यक्तिसँग काउन्सिलिङ गरिरहेका हुन्छौं, उहाँहरूले जति धेरै मेरो मनमा दुखिरहेको हुन्छ, त्यो दुखाइको अगाडि अरू कुनै पनि दुखाइ ठूलो हुँदैन भन्नुहुन्छ । सबैभन्दा ठूलो मनमा दुखिरहेको हुन्छ भने मनमा दुखेको दुखाइलाई मैले कसरी हटाउने अथवा समाधान गर्ने भन्दा सबै प्रयास भयो, तर केही गर्न नसकेपछि बाँच्नुभन्दा मर्नु निको भन्ने हिसाबले आत्महत्याको प्रयास गरेको भन्नुहुन्छ । धेरैले एकदमै साझा कुरा भन्नुहुन्छ ।

फिलिङ अफ होमलेसनेस, हेल्पलेसनेस र बर्थलेसनेस भन्छ, यस्तो अवस्थामा पुगेको मान्छे आफैंलाई सिध्याउने अवस्थामा पुग्ने हो । मेरो केही अर्थ छैन, आशा पनि छैन । कसैले सहयोग पनि गर्दैन भन्ने भएपछि समाधान केही छैन । गाह्रो मात्र भइरहेको छ भन्ने सोचेपछि उसले के गर्ने केही समाधान देख्दैन । बाँचेर पनि के अर्थ रहेछ र भनेर सोच्ने गर्छ ।

कतिपय कडा खालको मानसिक समस्यामा हुनुहुन्छ भने झट्टै आत्महत्या गर्नुहुन्छ । कोही चाहिं योजनाबद्ध तरिकाले धेरै प्रयास गरेर धेरै जनासँग समाधानका लागि सहयोग मागेर कहींबाट केही पनि हुँदैन भन्ने भएपछि मात्रै यो निर्णयमा पुग्नुभएको हुन्छ । उहाँहरू समस्याबाट उम्किने कुनै बाटो छैन भन्ने सोच्नुहुन्छ । तर, यो समाधान होइन ।

कोही त्यस्तो लेभलमा पुगेको कसरी थाहा पाउने ?

सबै मान्छेको आफ्नो भावना व्यक्त गर्ने तरिका बेग्लाबेग्लै हुन्छ । कोही मान्छे रिसायो भने एक्कासी बाङ्बुङ् गर्छ, रिसायो भन्ने थाहा हुन्छ । तर, कोही मान्छे रिसायो भने कोठामा गएर बस्छ । त्यो मान्छे रिसायो कि रिसाएन कसले थाहा पाउँछ ! त्यसकारण सबै जना मान्छे आ–आफ्नो पर्सनालिटी नेचर अनुसार रियाक्ट गरिरहेका हुन्छन् ।

जस्तो कि कुनै न कुनै तरिकाले एकदमै गाह्रो भएको छ भन्छ । कसैले ऊसँग नजिकबाट कुरा गर्न सक्छ भने उसले त्यतिबेला आफ्नो दुःख पोख्न सक्छन् । मलाई मरौं, मरौं लाग्छ भनेर भन्न सक्छ । केही न केही स्वभाव देखाउँछन् । गफ गर्दा पनि बाँचेर पनि के रहेछ र भन्ने खालको कुरा गर्न सक्छ ।

यसको अर्थ कसैले निरन्तर निराशाजनक कुरा गरिरहेको छ वा अस्वाभाविक हर्कत देखाइरहेको छ भने पनि ऊ समस्यामा परेको हुन्छ । पहिले अरूसँग घुलमिल भइरहने मान्छे, हँसमुख मान्छे; एक्कासी स्वभावमा परिवर्तन आएको देखिएको छ भने पनि ऊ समस्यामा हुनसक्छ ।

कहिलेकाहीं यसरी सोचमा परेको मान्छेले केही अनौठो कुरा लेखिरहेको हुनसक्छ । कसैलाई तिर्न बाँकी केही छ भने तिरेर सकिहालौं भनेको हुनसक्छ । अथवा, परिवारलाई थाहा नभएको कुराहरू भनिरहेको हुनसक्छ । बोली–वचनमा छटपटी भयो भनेर भनिरहेको हुनसक्छ । हाँसो–ठट्टामा पनि त्यसरी आफ्नो कुरा व्यक्त गरिरहेको हुन्छ ।

यस्तो अवस्थामा किन त्यस्तो भन्यो भनेर सोध्नुपर्छ । उसले संकेत दिएको हुनसक्छ । भनिरहेको हुन्छ तर, कसरी बुझ्नुहुन्छ भन्ने हो । राति निद्रा लाग्दैन, धेरै कुरा सोचिरहेको हुन्छु भन्न सक्छ । अथवा, एकान्तमा बस्ने, कोहीसँग नबोल्ने जस्तो गतिविधि पनि देखाएको हुनसक्छ । यस्ता कुरालाई कम्तीमा एकपटक गहिरिएर सोचिदिनुहुन्छ ।

उसले यस्तो कुरा शेयर गरिरहेको छ भने त्यो सुन्ने मान्छेले चाहिं के गर्ने नि ?

बिहानसम्म हाँसिरहेको थियो । अघिसम्म सँगै बसिरहेको थियो । सँगै खाना खाएको थियो । काम गरिरहेको थियो । सँगै कतै पुगेर आएको थियो । अहिले यस्तो भन्छ, यस्तो मान्छे कसरी डिप्रेसनमा हुनसक्छ ? कसरी यस्तो मान्छे मर्न सक्छ भन्ने सोच स्वाभाविक रूपमा आउन सक्छ ।

तर, ठट्टामै पनि कसैले यस्तो कुरा भन्छ भने गम्भीरताका साथ लिनुपर्छ । ठट्टामै भनेको छ भने पनि एकवचन उसलाई सोध्नुपर्छ । उसको मन बुझ्ने कोशिश गर्नुपर्छ । गम्भीर भएर भनेको छ भनेदेखि त हो कि होइन भनेर केलाएर बस्ने नै होइन । पहिले बुझ्ने अनि, के गाह्रो भएको छ भन्ने सोध्ने ।

उसको कुरा सुनिदिन सक्दा मात्रै पनि उसलाई उकुसमुकुस भएको सुन्ने मान्छे छ है भन्ने पर्छ । अझै जटिल म सक्दिनँ जस्तो लाग्यो भने परिवारका अरू मान्छेलाई भन्न सकिन्छ । अनि, मनोपरामर्शदातासँग सहयोग लिनुपर्ने अवस्था हुनसक्छ । आत्महत्या गर्छु भनेर हिंडिसकेको अवस्थामा छ भने तत्काल प्रहरीसँग सहयोग लिनुपर्छ । आत्महत्या रोकथामका लागि हेल्पलाइन नम्बर ११६६ छ । त्यसमा पनि सम्पर्क गरेर मद्दत लिन सकिन्छ ।

घरपरिवारले के गर्नुपर्छ ?

कसैको व्यवहारमा परिवर्तन आएको सबैभन्दा पहिले घरपरिवारलाई थाहा हुन्छ । खाने बेला, बोल्ने कुरा, बिहान उठ्ने कुरा, खानाका रुचिका कुराहरू, हाँसोठट्टा गर्ने कुरा, सामाजिक फङ्सनमा इंगेज हुने कुराहरू जस्ता विषयमा व्यवहारमा परिवर्तन भएको थाहा पाउन सकिन्छ ।

त्यो परिवर्तन हुने वित्तिकै आत्महत्याको सोच आएको छ भन्ने होइन । तर, निराश देख्ने वित्तिकै के भइरहेको छ भनेर कुराकानी गरिरहन सकिन्छ । व्यवहारमा कुनै अलिकति नकारात्मक परिवर्तन छ भने कुराकानी गरिरहन सकिन्छ ।

अझ धेरै शंका लाग्यो भने मान्छेले कहिलेकाहीं सामान जुटाइरहेको हुनसक्छ । डोरी ल्याउने, तराईतिर हेर्ने हो भने औषधिहरू किन्ने हुनसक्छ । घरमा ढिलो–चाँडो आउने, झर्किने हुनसक्छ । त्यसलाई पनि याद गर्न सकिन्छ । साथीभाइसँग के छ भनेर कुरा गर्न सकिन्छ । मुख्य कुरा व्यवहारमा परिवर्तन भएको छ भने घरबाट थाहा पाउन सकिन्छ ।

काउन्सिलर वा प्रहरीसमक्ष कस्तो बेला पुग्ने ?

परामर्शदाताकहाँ जतिसुकै बेला पुग्दा पनि हुन्छ । यो मबाट मात्रै समाधान हुँदैन भन्ने लागिसक्दा मनोपरामर्शदाताको सहयोग लिनु उपयुक्त हुन्छ । सुरुवाती अवस्था छ, घरका मानिसहरूसँगै मनका कुरा गरेर हलुका हुन्छ भने काउन्सिलरसम्म पुग्नु परेन । तर, मैले भनौंला तर अगाडिको मान्छेले बुझ्छ कि बुझ्दैन । बुझेपछि पनि खिल्ली उडाइदिन्छ कि भने जस्तो हुनसक्छ ।

कोही मान्छेले मनको कुरा बुझ्ने खालको मान्छे नभेट्न सक्छ भने सुरुवाती अवस्थामा पनि मनका कुरा सुनाउन काउन्सिलरसँग भेट गर्न सक्छ । प्रहरीको सहयोग चाहिं ११६६ मा फोन गरेर पनि लिन सकिन्छ ।

कस्तोसम्म हुन्छ भने कतिपयले फोन गरेर मैले डोरी झुण्ड्याइसकें सम्म भन्नुहुन्छ । त्यो बेला तत्कालै प्रहरीलाई खबर गर्‍यौं भने सहयोग हुनसक्छ । तत्काल उद्धार गर्न सकेको अवस्थामा ठूलो दुर्घटना हुनबाट टर्छ ।

अहिले प्रहरीले यो काम गरेको पनि छ । आत्महत्या भनेको अन्तिममा आउने विचार हो, सुरुमै मनोपरामर्शदाताकहाँ पुग्यो भने त्यो आत्महत्या प्रयास गर्ने कुराहरू नै मनमा आउन पाउँदैन । प्रारम्भिक रूपमै ऊ समस्यामा छ भनेर थाहा पाउँदा बचाउन सकिन्छ । सुसाइड गर्न भनेरै हिंडेको छ भने पनि जोगाउन सकिन्छ । यी सबै कुराबाट आफ्नो जीवनलाई हेर्ने दृष्टिकोण परिवर्तन गराउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?