+
+
गफ स्टेसनमा दीपक बज्राचार्य :

‘सजग नबने आफ्नै गीतलाई आफ्नो भन्न नपाउने अवस्था सिर्जना हुन्छ’

‘अब परिवारसँग रमाउने र संसार हेर्ने इच्छा छ’

दीपकलाई पछिल्लो पुस्तामाझ ‘मन मगन’ गीतले चिनायो भन्दा फरक पर्दैन । यो गीतको निर्माणबारे पनि उनले घतलाग्दो कुरा सुनाए । आफ्नै मौलिक संस्कृति र बाजागाजालाई गीत-संगीतमा प्रस्तुत गर्ने उद्देश्यले यो गीत बनेको उनी बताउँछन् ।

खेम रिसाल खेम रिसाल
२०७९ फागुन ५ गते २१:०५

काठमाडौं । ‘काली काली’, ‘ओ अमिरा’, ‘मायाको डोरीले’ देखि ‘मन मगन’सम्म । यी चर्चित गीतहरुले गायक दीपक बज्राचार्यको जीवनका तीन कालखण्डको प्रतिनिधित्व गर्छन् । काली कालीले तीन दशकअघिको, जुन उनको सुरुवाती चरण थियो । मायाको डोरीले दुई दशकअघिको र मन मगनले पछिल्लो समयको ।

तीन दशकदेखि अविछिन्न रुपमा सांगीतिक क्षेत्रमा चर्चा र सफलता पाइरहनु लर्तरो कुरा हुँदै होइन । गफ स्टेसनमा गायक दीपक बज्राचार्यले आफ्नो सांगीतिक कालखण्डका विभिन्न कुरा बाँडे । हिजोआज गीत-संगीतमा अलि सुस्ताउनुभएको हो कि भन्ने प्रश्नमा उनले भने, ‘त्यस्तो होइन । स्टुडियोभन्दा लाइभमा बढी रुचि छ मलाई । स्टेजतिर नै व्यस्त छु ।’

दीपक जब स्टेजमा चढ्छन्, त्यसपछिको रौनक नै अर्कै हुन्छ । उनका हरेक गीतले दर्शक-श्रोतामा जोश भर्छन् । त्यसैले त उनलाई ‘स्टेज किङ’ समेत भनिन्छ ।

दीपकले स्टेज प्रस्तुतिदेखि माया दर्शाउने फ्यानहरुका आ-आफ्ना शैलीबारे पनि कुरा गरे । ‘तर मसँग डेट जान्छु, बिहे नै गर्छु भन्ने खालका फ्यान भने मेरो जीवनमा आएनन्,’ उनी प्रष्टीकरण दिन्छन् । स्टेजमा ताली मात्रै होइन, गाली पाएको पनि उनलाई अनुभव छ । होच्याएको पनि महसुस गरेका छन् । ‘तर यसले आफूलाई कतै बेसुरा पो गाएँ कि, कतै बिगारें कि भन्नेजस्तो लाग्छ । सतर्क बनाउँछ, थप ऊर्जा दिन्छ,’ उनी भन्छन् ।

गफ स्टेसनमा भलाकुसारी गर्दा उनले पर्दा पछाडि काम गर्ने संगीतकर्मीहरुका लागि केही गर्ने योजना रहेको सुनाए । ‘स्टेज वा स्टुडियो जहाँ पनि गायक-गायिकालाई मात्रै चिनिन्छ । तर एउटा गीत सफल हुनलाई पर्दा पछाडि थुप्रै हातहरुको साथ हुन्छ,’ दीपक सुनाउँछन्, ‘उहाँहरुले आफ्नो कुरा सुनाउने प्लेटफर्म पाइरहनुभएको हुँदैन । आफूलाई चिनाउन पाइरहनुभएको हुँदैन । उहाँहरुका कुरा सुनाउने एउटा प्लेटफर्म सिर्जना गर्ने कोसिस गरिरहेको छु ।’

दीपकलाई पछिल्लो पुस्तामाझ ‘मन मगन’ गीतले चिनायो भन्दा फरक पर्दैन । यो गीतको निर्माणबारे पनि उनले घतलाग्दो कुरा सुनाए । आफ्नै मौलिक संस्कृति र बाजागाजालाई गीत-संगीतमा प्रस्तुत गर्ने उद्देश्यले यो गीत बनेको उनी बताउँछन् ।

‘मन मगन दुई दिनको मात्रै मेहनतबाट निस्किएको गीत होइन । आफ्नै संस्कृति र बाजालाई सदुपयोग गरेर यो सिर्जना गरिएको हो,’ दीपक भन्छन्, ‘मनोरञ्जन त गराइरहेकै थियौं । तर संसारभर छरिएका नेपालीमाझ पुग्दा धेरैको गुनासो हुन्थ्यो- नेपाली कार्यक्रम भनेर हेर्न आयो, भाषा मात्रै नेपाली हुनेरहेछ भनेको सुनिन्थ्यो । त्यसैले उनीहरुका लागि मौलिक सिर्जना दिने उद्देश्यले काम गरिरहेका छौं । मन मगन त्यसको पहिलो प्रयास भनौं ।’

‘मन मगन’ले नेपालमा मात्रै होइन, भारतमा समेत चर्चा पायो । गीतलाई नेपालीका साथै, नेवारी, हिन्दी र अंग्रेजी भर्सनमा समेत सार्वजनिक गरिएको थियो ।

दीपकलाई हामीले सोध्यौं- गायक-गायिकाका आफ्ना पुराना हिट गीतहरु छन् भने त ब्याज खान पाइरहने रहेछन् होइन ?

दीपकले हाँस्दै यसलाई स्वीकारे । ‘कलाकारिता क्षेत्रका अन्य साथीहरुलाई भन्दा हामीलाई सहज छ । ३० वर्षअघिको काली काली अझै पनि श्रोताले सुन्न चाहनुहुन्छ । उहाँहरुलाई दिक्क लाग्यो होला भनेर नयाँ गीत सुनौं है भन्दा पुरानो पहिले सुनौं अनि मात्रै नयाँ भन्नुुहुन्छ,’ उनी भन्छन्,’ यसलाई ब्याज खान पाउने सुविधा भन्न सकिएला ।’

एक समय थियो, गीतका क्यासेट र सीडीहरु खुब बिक्री हुन्थे । अहिले त्यो समय पार भइसकेको छ । युट्युबलगायतका डिजिटल प्लेटफर्ममा अहिले गीत सुनिन्छन्, हेरिन्छन् । सँगै प्रतिलिपि अधिकारलगायतका चुनौती पनि थपिएका छन् ।

दीपकले अग्रज कलाकारलाई डिजिटल व्यवस्थापन गर्न धेरै चुनौती देखिएको बताए । ‘हामीले त गरिरहेका छौं, तर कति अग्रज कलाकारको आफ्नो युट्युब च्यानलसमेत छैन । उहाँहरुले आफ्नो सिर्जना र गीतलाई आफ्नो भन्न नसक्ने अवस्था समेत बनाइएको छ,’ दीपक भन्छन्, ‘त्यसैले आफ्नो सिर्जना आफ्नै मातहत राख्नुपर्छ ।’

अहिलेका गीतहरु भिडियो केन्द्रित भएको दीपक के भन्छन् त ? ‘समयको माग हो । स्पटीफाइमा सुनिन्छ भने युट्युबमा हेरिन्छ । युट्युबका लागि पनि भिडियो त बनाउनै पर्ला ।’ तर म्युजिक भिडियोमा गरिने अस्वस्थ प्रतिस्पर्धा र अनावश्यक खर्च प्रवृत्ति भने उनलाई चित्त बुझेको छैन ।

अहिले युट्युबमा देखिने भ्युजलाई मापन गरेर गीत हिट र फ्लपको मूल्यांकन गर्ने परिपाटीप्रति पनि उनले टिप्पणी गरे । ‘अहिले पब्लिकलाई मूर्ख बनाउने कोसिस भइरहेको छ । हजार जनाले पनि नहेरेको गीतलाई लाखौं भ्युज देखाएर दर्शक-श्रोतालाई भ्रममा पार्ने जमात सक्रिय छ,’ उनी आक्रोशित सुनिए, ‘गीत कि राम्रो हुन्छ कि नराम्रो । सिङ न पुच्छरको गीत चलेको देखाएर कन्फ्युज बनाउनु गलत छ ।’

दीपकको पारिवारिक माहोल नै संगीतमय छ । छोरी चेरिसा पनि गीत-संगीतमा रुचि राख्छिन् । उनकी श्रीमतीलाई समर्पित गरेर त झण्डै तीन दशकअघि नै ‘ओ अमिरा’ गीत नै उनले सिर्जना गरे ।

‘पारिवारिक माहोल रमाइलो छ । मनोरञ्जनका लागि संगीत भयो भने बाबुछोरी, श्रीमती, छोरा सबै जना रमाउँछौं,’ दीपक सुनाउँछन्, ‘छोरी चेरिसामा पनि मेरो गुण केही सरेको होला । संगीतमा रमाउँछिन् । तर व्यवसाय नै बनाउने भन्ने चाहिं सोचेकी छैनन् । तपाईंसँग जस्तो धैर्यता मसँग छैन भनेर भन्छिन् । यो उनको आफ्नो रोजाइ हो ।’

दीपकलाई फुर्सदमा घुम्न औधी रुचि रहेछ । गफ स्टेसनको बिट मार्ने बेला उनले भने, ‘जिन्दगी कति लामो वा छोटो छ भन्ने कुराले पछ्याउन थालेको छ । त्यसैले परिवारसँग बढीभन्दा बढी रमाउने र संसार हेर्ने इच्छा अरु तीव्र भएको छ ।’

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

गायक दीपक बज्राचार्यसँग गरिएको विस्तृत कुराकानी भिडियोमा :

लेखकको बारेमा
खेम रिसाल

रिसाल अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् । उनी समाज, कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?