+
+

सगरमाथामा कसरी जडान गरियो विश्वकै अग्लो स्थानको मौसम स्टेसन ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ६ गते १३:००

विश्वको सबैभन्दा अग्लो भागमा रहेको मौसम स्टेसन क्षतिग्रस्त भएको करीब २ वर्षपछि शेर्पा तथा वैज्ञानिकहरुको एक समूहले आफ्नो ज्यान नै जोखिममा राखेर सगरमाथाको शिखरमा नयाँ तथा सुधारिएको संस्करणको मौसम स्टेसन पुनर्स्थापित गर्न सफल भए ।

इलेक्ट्रिसियन तथा पर्वतरोहण पथप्रदर्शक ३१ वर्षीय तेन्जिङ शेर्पाको नेतृत्वमा रहेको टोलीले सगरमाथाको ८ हजार ८१० मिटर (२८९०४ फिट) उचाईमा नयाँ कीर्तिमानी मौसम स्टेसन जडान गरेको छ । अर्थात् पृथ्वीमा सबैभन्दा अग्लो भागमा रहेको उक्त मौसम स्टेसन सगरमाथाको चुचुरो भन्दा केवल ३९ मिटर मात्र तल रहेको छ ।

नेशनल जियोग्राफिक र रोलेक्सको Return to Everest परियोजना अन्तर्गत सन् २०२२ को मे महिनामा सगरमाथामा उक्त मौसम स्टेसन जडान गरिएको थियो । अमेरिकाको अपालाचियन स्टेट विश्वविद्यालय, बेलायतको किंग्स कलेजका साथै नेपाल सरकारको जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र त्रिभुवन विश्वविद्यालयसँगाको सहकार्यमा यो परियोजना सञ्चालन भएको थियो ।

सगरमाथामा यसअघिको मौसम स्टेसन चुचुरो भन्दा ४ सय मिटर तल थियो । सगरमाथाको बाल्कोनी भनिने उक्त ठाउँमा सन् २०१९ मा जडान गरिएको उक्त मौसम स्टेसन ८ हजार मिटर भन्दा माथि जडान गरिएको विश्वको पहिलो स्थलीय मौसमी स्टेसन थियो । तर सगरमाथामा आएको हिमआँधीका कारण जडान गरेको ७ महिनामै उक्त स्टेसन क्षतिग्रस्त भएको थियो ।

सन् २०२१ मा उक्त क्षतिग्रस्त स्टेसनका डेटा संकलन गर्नका लागि सगरमाथा आरोहण गरेका तेन्जिङलाई नयाँ स्टेसन राख्ने ठाउँको बारेमा समेत अध्ययन गर्ने जिम्मा दिइएको थियो ।

तेन्जिङले त्यतिबेला सगरमाथाको चुचुरो नजिकै बिसोप रक नामक ठाउँ तय गरे । सन् १९६३ मा पहिलो अमेरिकी आरोहण दलका सदस्य ब्यारी बिसोपको नाममा उक्त ठाउँको नामाकरण गरिएको हो ।

सन् २०१९ मा सगरमाथामा जडान गरिएको मौसम स्टेसन (Balcony Station) त्यसबेला जडान गरिएका विभिन्न ५ वटा मौसम स्टेसनहरुको सञ्जालको एक हिस्साको रुपमा थियो र यसले संकलन गर्ने जानकारी ताजा पानीका लागि हिमालय क्षेत्रमा निर्भर रहेका १ अर्ब ६० करोड मानिसहरुका लागि निकै महत्वपूर्ण थियो । त्यसैले उक्त क्षतिग्रस्त स्टेसनको प्रतिस्थापनको आवश्यकता महसुस गरिएको थियो ।

नयाँ परियोजनाका सहनेतृत्वकर्ता तथा जलवायु वैज्ञानिक टम म्याथ्युज र बेकर पेरीले नयाँ डिजाइनयुक्त सो मौसम स्टेसन निर्माणमा नेतृत्व गरे । सो स्टेसनले सगरमाथाको विषम जलवायु तथा मौसमी प्रतिकूलता खप्न सक्दछ ।

गतवर्ष सन् २०१२ को मे महिनामा तेन्जिङ, म्याथ्युज र पेरी पुनः सगरमाथा आरोहणका लागि सगरमाथाको आधार सिविरमा पुगे । उनीहरुसँग १२ जना अरु शेर्पाहरु पनि थिए । ती शेर्पाहरु मध्ये अधिकांश सन् २०१९ को कीर्तिमानी आरोहणमा समेत संलग्न भएका थिए ।

क्षतिग्रस्त बाल्कोनी स्टेसनलाई सफा गरी स्तरोन्नती गरिएको नयाँ संस्करणको स्टेसन सगरमाथाको नयाँ ठाउँमा जडान गर्नु उनीहरुको योजना थियो ।

उनीहरु सबै जनाले मौसम स्टेसनका लागि आवश्यक पर्ने विभिन्न उपकरण तथा पाटपूर्जाहरु बोकेका थिए ।

उक्त टोली मे ९ तारेखमा स्टेसन स्थापना गरिने Bishop Rock भन्ने ठाउँमा पुग्यो । त्यसबेला त्यहाँ ६४ किलोमिटर प्रतिघण्टाको वेगमा तीव्र हावा चलिरहेको थियो भने तापक्रम माइनस ४० डिग्री सेल्सियस थियो ।

अत्यधिक चिसोका बाबजुद शेर्पाहरुले आफ्नो डाउन सूटभित्र ब्याट्रीको सहायताले आफ्ना हात तताए र स्टेसन जडानका लागि महत्वपूर्ण एंकर बोल्टहरु ड्रिल गर्न सफल भए ।

उक्त स्टेसन जडान गर्न पूरै ४ घण्टा लाग्यो, जुन अपेक्षा भन्दा १ घण्टा धेरै हो । त्यसपछि तेञ्जिङले त्यसमा विजुली जडान गरेसँगै स्टेसनले काम गर्न सुरु गर्‍यो ।

त्यसपछि टोली विश्वको दोस्रो अग्लो स्थानमा रहेको स्टेसन साउथ कोलतर्फ झर्दै गर्दा उक्त नयाँ स्टेसनले डेटा प्रसार गर्न सुरु गरिसकेको थियो ।

म्याथ्यूजका अनुसार यो नयाँ स्टेसनले सगरमाथाको सबै हिउँदे वायुको मापन गर्न सक्दछ ।

यो मौसम स्टेसन स्थापनाको एउटा प्रमुख उद्देश्य भनेको sub-tropical jet stream भनिने पर्वतीय आँधीको अध्ययन गर्नु पनि हो । यो आँधीका बारेमा कममात्रै अध्ययन भएको छ ।

साथै यसले उच्च भूभागका जलवायुजन्य गतिविधिहरुका डेटा संकलन गर्नेछ जसले हिमनदीजन्य क्रियाकलाप, हिमगलन लगायतलाई प्रभावित गर्दछ । यो मौसम स्टेसनका डेटाले सटिक रुपमा मौसम पूर्वानुमान गर्न पनि सहयोग गर्नेछ र सगरमाथा आरोहीको सुरक्षा तथा तयारीमा समेत सघाउ पुग्नेछ ।

गिनिज वर्ल्ड रेकर्डस् डटकमबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?