+
+

ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट ८०० मेवागाट बिजुली आयात–निर्यात गर्ने सहमति

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ७ गते १०:१४

७ फागुन, काठमाडौं । नेपाल र भारत ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट हाल भइरहेको विद्युत आयात–निर्यात २०० मेगावाटले बढाउन सहमत भएका छन् । फागुन ६ गते (शनिबार) भारतको राजस्थानमा बसेको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा हाल भइरहेको आयात–निर्यातको क्षमता बढाउने सहमति भएको हो ।

४०० किलोभोल्टको ढल्केबर–मुजफ्फरपुर पहिलो अन्तरदेशीय प्रसारण लाइनबाट हाल ६०० मेगावाट विद्युत आयात–निर्यात हुँदै आएको छ । अब त्यहाँबाट ८०० मेगावाट आयात–निर्यात गर्ने सहमति भएको ऊर्जा मन्त्रालयका सहसचिव एवम् प्रवक्ता मधुप्रसाद भेटुवालले जानकारी दिएका छन् ।

सहसचिव मरासिनीका अनुसार हाल निर्माणाधिन ढल्केबर (नेपाल)–सीतामढी (भारत) प्रसारण लाइनबाट समेत विद्युत आदान–प्रदान गर्न अध्ययनका लागि संयुक्त प्राविधिक टोलीलाई निर्देशन दिइएको छ ।

टनकपुर–महेन्द्रनगर १३२ केभी विद्युत प्रसारण लाइनबाट ७० देखि ८० मेगावाट विद्युत आयात–निर्यात गर्ने सहमति पनि भएको छ । साथै संयुक्त प्राविधिक टोलीबाट २०० मेगावाटसम्मको विद्युत निर्यात गर्नका लागि सम्भावित विकल्पहरुको अध्ययन गराउन नेपाल र भारतका अधिकारीहरु सहमत भएका छन् ।

१३२ केभी तथा सोभन्दा कम क्षमताको विद्यमान प्रसारण लाइनबाट वर्षायाममा नेपालबाट भारतको बिहार राज्यमा विद्युत निर्यात गर्न आवश्यक संयन्त्र बनाउने र नेपालका विभिन्न जलविद्युत आयोजनाहरुबाट उत्पादन हुने बिजुली भारतीय बजारमा निर्यात गर्न अन्तरसरकारी सम्झौता गर्ने पनि सहमति भएको छ ।

दोस्रो अन्तर्देशीय नयाँ बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइन अन्तर्गत भारतीय खण्डको निर्माण आगामी सन् २०२५ मार्चमा सम्पन्न गर्न सम्झौतामा चाँडै हस्ताक्षर गर्ने सहमति पनि भएको छ ।

भारतीय अधिकारीहरुले नेपालबाट ५० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने सम्बन्धमा निश्चित आयोजनासहित नेपालले प्रस्ताव पेश गरेमा स्वीकृति दिन सकारात्मक रहेको बताएका छन् । नेपालबाट बिजुली भारतीय बाटो हुँदै बंगलादेश लैजानुपर्ने हुन्छ तर भारतले स्वीकृति दिएको छैन ।

बैठकपछि जारी विज्ञप्तिमा लेखिएको छ, ‘नेपालबाट ५० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने सम्बन्धमा निश्चित आयोजनासहित नेपालको प्रस्ताव पेश भएमा भारतको विद्युत आयात–निर्यात निर्देशिका बमोजिम भारतीय पक्ष स्वीकृति दिन सकारात्मक रहेको ।’

हेर्नुहोस् विज्ञप्ति–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?