+
+
ब्लग :

मिल्काइदेऊ ती अहंकारका खोस्टा !

जीवनोपयोगी शिक्षा त्यो हो, जसले पलपलको जिन्दगी आनन्दसँग बाँच्न सिकाओस् र अरूलाई पनि गरिमाको जीवन जिउन मद्दत गरोस्, प्रेरणा दिन सकोस् । अहिले पढ्दा सास्ती भए पनि भविष्य सुखी हुन्छ भन्ने उधारो शिक्षा केवल व्यापारी शिक्षा हो, झुटको खेती हो । यस्तो शिक्षा कहिल्यै असली हुन सक्दैन ।

कृष्णप्रसाद सुवेदी कृष्णप्रसाद सुवेदी
२०७९ फागुन ८ गते १२:०७

शिक्षित कसलाई भन्ने ? एक दिन एउटा कार्यक्रममा सहभागी हुनजाने क्रममा गाडीमा चढें । चालकले ‘एकजना पाहुनालाई कीर्तिपुर विश्वविद्यालयको प्रोफेसर क्वाटरबाट उठाउनु छ सर’ भन्दै हुइँक्याए ।

गाडी विश्वविद्यालय पुग्यो । एक अधबैंसे महिला गाडीमा चढिन् । शिष्टाचार आदानप्रदान भयो । चिना–परिचय गरियो । मेडम, यहाँ नेपालको सबैभन्दा शिक्षितहरू बस्ने ठाउँमा बस्नुहुँदोरहेछ भन्दै गफगाफ गर्न के सुरू मात्र गरेको थिएँ; मेडमले मुख बिगार्दै भनिन्, ‘प्रोफेसर भनेर के गर्नु ! पढाउन जाँदा करेसामा लगाएको सागपातमा खकार्दै हिंड्छन् ।’
विश्व प्रसिद्ध विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा उत्तीर्ण भएर वर्षौं–वर्ष अरूलाई शिक्षित बनाउने कार्यमा लागेका प्रोफेसरलाई शिक्षित भन्ने कि नभन्ने ? म दोधारमा परें ।

शिक्षाविद् कसलाई भन्ने ? एउटा कार्यक्रममा उद्घोषकले एक व्यक्तिलाई डाक्टर, प्राध्यापक, विज्ञ, विश्वविद्यालय विजेता, सुनको तक्माले सम्मानित (गोल्ड–मेडलिस्ट) साथै विभिन्न विभूषणधारी लगायत थरीथरीका उपमा सहित वरिष्ठ शिक्षाविद् भन्दै मञ्चमा भाषण गर्न बोलाए । विज्ञले भाषण सुरु गरे, ‘आजको भूमण्डलीकरणको युगमा पृथ्वी एउटा सानो गाउँ भएको छ । अहिलेको आर्टिफिसियल इन्टेलिजेन्सको जमानामा हाम्रो शिक्षा प्रणालीलाई समसामयिक र अझै प्रतिस्पर्धी बनाउनुपर्दछ ।’

उनले थपे, ‘आजभन्दा ४०–५० वर्षअघि एसएलसी पास गर्नेलाई हात्तीमा चढाएर बजार परिक्रमा गराउने चलन थियो । विना प्रतिस्पर्धा जागिर पाउँथ्यो । तर, अहिले जमाना बदलिएको छ । अब पढेर, पास गरेर मात्र पुग्दैन । प्रतिस्पर्धा बढेको छ । जसले सबैलाई पछार्छ, सबैलाई जित्छ, उही अब्बल हुन्छ, विज्ञ कहलिन्छ ।

आज मास्टर्स गरेको एक नेपालीले बेलायत तथा अमेरिकाका विश्व प्रसिद्ध युनिभर्सिटीबाट मास्टर्स गरेकासँग प्रतिस्पर्धा गर्नुपर्दछ । अबको प्रतिस्पर्धा केवल मानिससँग मात्र हैन, कृत्रिम बुद्धिमत्ता भएका च्याट–जीपीटी जस्ता मानिसको व्यवहार अध्ययन गर्ने र त्यो एल्गोरिदमको आधारमा मानिसले के गर्दैछ भनेर अनुमान गर्न सक्ने अनि सोही बमोजिम काम गर्ने कृत्रिम मानव यन्त्रसँग आजका विद्यार्थीले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । त्यसैले अहिलेको प्रतिस्पर्धामा सबैभन्दा खरो उत्रन सक्ने शिक्षा आजको आवश्यकता हो ।’

पिंढीमा बस्नेहरूले वाह् ! दामी बोल्यो भन्दै ताली बजाए ! के हामीलाई प्रतिस्पर्धा सिकाउने शिक्षा चाहिएको हो ? प्रतिस्पर्धा गर्न सिकाउने कि प्रेम, स्नेह र सहिष्णुता सिकाउने ! जहाँ प्रतिस्पर्धा हुन्छ त्यहाँ ईष्र्या हुन्छ । जहाँ ईष्र्या हुन्छ, त्यहाँ द्वेष हुन्छ । कलह हुन्छ । जालझेल हुन्छ । लडार्ईं हुन्छ । युद्ध हुन्छ । इतिहास साक्षी छ– गएको ३ हजार ४०० वर्षको इतिहासमा ३ हजार १३२ वर्ष युद्धमा बितेको रहेछ । (द न्यूयोर्क टाइम्स ६ जुलाई २००३– ह्वाट एभ्री पर्सन शुड नो एबाउट वार)’

कम्तीमा २६८ वर्ष मान्छे युद्ध नगरी शान्तिसँग बसे भन्ने लाग्ला तर त्यो समयलाई शान्तिको समय भन्नु भन्दा पनि युद्धको तयारीमा लागेको समय भन्नुपर्ला । विद्वान् र अनपढ बीचमा भिन्नता के ? एक साँझ एक विद्वान् मित्रलाई (अदालतको भाषामा) भेट्न उनको ल–फर्ममा गएँ । कोभिडको महामारी पछाडि ल–फर्म खासै चलाउन नसकिएको र घरपरिवार अफिस चलाउन हम्मे–हम्मे परेको बताउँदै तिनले सहयोग गर्न अनुरोध गरे । एक मित्रको नाताले साथीको ल–फर्म राम्रोसँग चलिदेओस् भन्ने लाग्यो ।

साँझतिर फर्कने क्रममा एक होटलमा पसें र चिया मगाएँ । एक ग्राहक कुनामा चुपचाप फटाफट रक्सी–मासु खाएर उठे । काउन्टरमा पैसा तिरे । निक्लन अघि बढे । साहुनीले साहुतिर फर्केर ‘यस्तो ग्राहक भगवानले दिनै पिच्छे पठाइदिए हुने नि’ भन्दै गर्दा ती मनुवाले सुने । पछाडि फर्के र भने, ‘मेरो व्यवसाय राम्रोसँग चल्यो भने म दिनैपिच्छे आउँला । बरू मेरो व्यवसाय राम्रोसँग चलोस् भनेर भगवानसँग प्रार्थना गरिदिनुस् ।’

साहुले सोधे, ‘के व्यवसाय गर्नुहुन्छ ।’ उनले भने, ‘त्यही, अघि यहाँ दिएको कोइला बेच्छु ।’ ‘कोइला कहाँबाट ल्याउनुहुन्छ’, साहुले पुनः सोधे । ती मनुवाले आर्यघाटबाट ल्याउँछु भने ।

मैले मेरा पढेलेखेका विद्वान् मित्रको ल–फर्म राम्रोसँग चल्न झै–झगडा, मुद्दा–मामिला बढोस् भनेर कामना गर्दा, ती अनपढ (अरूको नजरमा) साहुनीले त्यस्तो ग्राहकको व्यवसाय फस्टाउनुमा आर्यघाटमा धेरै लास पोलिऊन् भनेर सोच्नुपर्दा, म कथित शिक्षित भनाउँदो र ती अनपढ साहुनीले जीवन बाँच्ने सन्दर्भको सोचाइमा फरक के भयो होला !

त्यस्तै मेरा पढेलेखेका विद्वान र ती अशिक्षित कोइला बेच्नेबीच जीवन बाँच्ने तौरतरिकामा रूपमा फरक देखिएला तर सारमा के फरक भयो र ! म घोत्लिंदै हिंडें । विज्ञ कसलाई भन्ने ? एकपल्ट कर्मचारी छान्ने सन्दर्भमा एक जेन्डर स्टडिजका विज्ञ (उनको भनाइमा) लाई अन्तर्वार्ता लिने संयोग मिल्यो । यसै क्रममा जेन्डर स्टडिज् पढ्नुको कारण सोधें ।

जेन्डर स्टडिज् नयाँ विषय भएको र यसको स्कोप राम्रो रहेको उनले बताए । जेन्डर सम्बन्धी संवेदनशीलता, मर्म तथा संचेतनासँग कुनै साइनो नभएको एक जेन्डरको विज्ञ, जसलाई पढेर समाजमा रूपान्तरणका लागि पहल गर्ने कुनै चाहना र सोच छैन । भनें, ‘त्यस्तो कथित विज्ञ जनाउने खोस्टोको के काम ! त्यस्तो खोस्टो देखाएर विज्ञ हुँ भन्ने अहंकारको पोकोको के काम !’ जेन्डर विषय यहाँ प्रसङ्गवश उल्लेख भएको मात्र हो ।

अहिले कलेज तथा विश्वविद्यालयमा पढाउने सबै विषयको यथार्थ भनेको जागिर खाने औजार र विज्ञ हुँ भन्ने अहंकार उत्पन्न गराउने एउटा खोस्टो बनेको छ । महाज्ञानी कसलाई भन्ने ? यस धर्तीका सर्वकालीन महानतम् वैज्ञानिक अल्बर्ट आइन्सटाइनले मृत्यु सन्निकटको अवस्थामा यस ब्रह्माण्डमा आफूले जानेको अत्यन्त सीमित रहेको र जान्न बाँकी अनन्त रहेको स्वीकारेका थिए । उनले आफैंलाई परम अज्ञानी भनेका थिए ।

मान्छेले गोरु पालेको हो कि, गोरुले मान्छे पालेको ? गोरुले मान्छेलाई पालेको छ भन्न लाज हुने भएर मान्छेले गोरु पालेको भनेको होला भन्ने लाग्यो । धर्तीमा अरू कुन प्राणी छ जो आफू पालिन मानिससँग आश्रित छ ?

प्राचीनकालका (४७०–३९९) एथेन्सका एक युनानी दार्शनिक सुकरातको विद्वत्ता चारैतिर फैलिएको थियो । केही युवा सुकरातलाई भेट्न गए । ‘हाम्रा गाउँघरमा तपाईंलाई महाज्ञानी भन्छन् । त्यही भएर तपाईंको दर्शन गर्न आएका’ ती युवकहरूले सुकरातलाई भने ।

‘जब म सानो थिएँ, जीवनको त्यति अनुभव थिएन । जीवन र जगतका बारेमा जानकारी थिएन । हो, त्यतिखेर म महाज्ञानी छु भन्ने लाग्थ्यो । जब युवा भएँ, जिन्दगी बिताउन भौंतारिन थालें । धेरै हण्डर, ठक्कर खाएँ । समाजलाई चिन्न थालें । जीवन के हो भन्ने विस्तारै बुझ्न थालें ।

तथापि म केही त जान्दछु भन्ने अझै लाग्दैथियो । जब–जब ममा जति धेरै अनुभवको वर्षा हुनलाग्यो, जति म लामो अनुभवको जिन्दगी बाँच्दै गएँ, ममा रहेको ज्ञानको भ्रम, अहंकारको घर विस्तारै भत्किंदै गयो । अहिले म जिन्दगीको उत्तरार्धको जीवन बाँच्दैछु । मृत्युसमिपको जीवन बाँच्दैछु । यसैक्रममा मैले केही जानेको रहेनछ भन्ने सत् ज्ञानको आभास भयो । म महाज्ञानी हैन महाअज्ञानी रहेछु भन्नेमा अहिले ममा कुनै भ्रम रहेन’ सुकरातले भने ।

उनले अगाडि भने, ‘तिमेरु जाओ ! आफ्नो गाउँ फर्क र त्यहाँका मानिसलाई भनिदेऊ सुकरात महाज्ञानी हैन महाअज्ञानी रहेछन् भनेर ।’ युवाले सुकरात महाज्ञानी हैन महाअज्ञानी रहेछन्, उनले भनेको भनेर गाउँका वृद्धलाई सुनाए । वृद्धले मुस्कुराउँदै भने, ‘जसले आफूलाई परमअज्ञानी सम्झन्छ उसैको लागि परमज्ञानको द्वार खुल्दछ ।’

मान्छेले कति जानेको छ ? यस गोलो पृथ्वीमा शून्य दशमलव शून्य, शून्य, शून्य, आदि अनन्त लेख्दै ती शून्यै–शून्यले पृथ्वीलाई परिक्रमा गरेर पहिलो शून्य लेखेको ठीक अगाडि एक लेखेमा (०.०००००००…१) पनि अति बढी हुन्छ भनेर ती कथित विद्वानलाई कसले सम्झाइदिने !

विद्वत्ताको पगरी गुतेर, घाँटीमा गलपासो बाँधेर, आकाश हेर्दै हिंड्नेलाई लटरम्म फल लागेको वृक्ष झुकेको हुन्छ भनेर कसले बुझाइ दिनेहोला । शिक्षा केको लागि ? एक दिन एक ‘नामुद’ (चलनचल्तीको भाषामा तर व्यवहारमा धेरै पैसा असुल्ने) प्राइभेट स्कुलको गाडीमा ‘एडुकेसन फर बेटर फ्यूचर’ (सुन्दर भविष्यको लागि शिक्षा) लेखेको देखें । स्कूलका नानीबाबुलाई अहिले मिहिनेत गरेर पढे भविष्य राम्रो हुन्छ । सुखमय हुन्छ । त्यसैले मिहिनेत गरेर पढ भन्न खोजेको होला भन्ने लाग्यो ।

गाडीमा यसरी लेख्न लगाउने व्यक्ति पक्कै पनि त्यो स्कुलमा ठूलै मान्छे भनेर चिनिने प्रिन्सिपल तथा त्यसको फाउन्डर नै हुनुपर्छ होला भन्ने पनि लाग्यो । ती स–साना नानीबाबुहरूको बेटर फ्यूचर कुन समयलाई र कस्तो अवस्थालाई भनेको होला भन्ने पनि लाग्यो ! एसईई दिंदा तथा पास हुँदाको समयलाई भनेको हो कि ?

कलेज पढ्दाको समय या पढाइ सकेर जागिर खाँदाको समय हो कि ? या त दाम्पत्य जीवनको सुरुवातको समय या छोराछोरी हुर्काउँदा या पढाउँदाको समय हो कि ? या त आफ्ना छोराछोरी हुर्काई–बढाई या बिहेबारी गर्दा या सबै छोराछोरी नातिनातिना सात समुद्रपारि ग्रीनकार्ड लिई बसेको अवस्था र आफू जीवनको उत्तराद्र्धमा सकस तथा निराशाको जीवन बाँच्दै मृत्यु कुरिरहेको अवस्था, कुनलाई भन्न खोजेको हो ?

जुन शिक्षाले पल–पलमा आनन्द जीवन बाँच्न सिकाउँदैन तर भविष्यमा सुख प्राप्ति हुन्छ भन्दै झुटको खेती गर्ने शिक्षाको के काम ! शिक्षा यस्तो होस् जब बालबालिकाले ग्रहण गर्दा जिन्दगीको सबैभन्दा उत्कृष्ट आनन्दको महसुस गराओस् ! जीवनोपयोगी शिक्षा त्यो हो, जसले पलपलको जिन्दगी आनन्दसँग बाँच्न सिकाओस् र अरूलाई पनि गरिमाको जीवन जिउन मद्दत गरोस् । प्रेरणा दिन सकोस् । अहिले पढ्दा सास्ती भए पनि भविष्य सुखी हुन्छ भन्ने उधारो शिक्षा केवल व्यापारी शिक्षा हो, झुटको खेती हो । यस्तो शिक्षा कहिल्यै असली हुन सक्दैन ।

यस धर्तीमा पाइने सबै जीवभन्दा मानिस (आफूले–आफूलाई) सबैभन्दा विवेकशील प्राणी हो भन्न विद्यालयमा सिकाएको, घोकाएको सम्झन्छु । मानिस सामाजिक प्रााणी हो । सबैभन्दा चलाख, चेतनशील आदि विशेषण पहिर्‍याउँदै रटाको सम्झन्छु । अहिले महसुस हुन्छ । के यो साँच्चै हो त ? के धर्तीका अन्य प्राणी तथा जीवजन्तुले मानिस सबैभन्दा चेतनशील प्राणी हो भनेर स्वीकारेका छन् !

आफूले–आफूलाई संसारको सबै भन्दा चेतनशील, चलाख हुँ भनेर स्वघोषणा गर्ने मान्छेलाई १५–२० वर्ष एक सूत्रीय घोटिएर, करले, मन नलागी–नलागी घोक्नु, पढ्नुको प्रमुख कारण त्यही जाबो एक माना अट्ने पेट पाल्नै हो भने यस्तो सर्वशक्तिमान मनुष्यलाई निरीह बनाउने आत्मघाती शिक्षा किन पढाउने ! असंख्यक जीवजन्तु लगायत सबै प्राणीले आफ्नो आयु बाँचेका छन् ।

मान्छेको हेराइमा एउटा तुच्छ कछुवाले मानिसको भन्दा तीन गुणा लामो आयु बाँच्दछ भने धर्तीको सबैभन्दा सर्वोत्कृष्ट भनिने मान्छेले जाबो एक मानो अन्न अट्ने पेट पाल्न यत्रो उधुम मच्चाउनुपर्दछ ? यस धर्तीमा असंख्यक अन्य जीव–प्राणी कसैले पेट पाल्न मान्छेले जस्तै कोलाहल मच्चाएका छन् ? मान्छेले जस्तो ढाँट, जालझेलको पेशा अपनाएका छन् ?

एक हल गोरु धपाउँदै लैजाने एक किसानसँग बाटामा भेट भयो । गफगाफमा ‘गोरु मेरा हुन्, मैले पालेको’ उनले भने । ती गोरु छाडा छोड्दा के खान नपाएर मर्छन् भन्दै मैले सोधें । ‘के को मर्नु ! साँढे हुन्छन्, साँढे’ किसानले भने ।

मनमनै सोचें– मान्छेले गोरु पालेको हो कि, गोरुले मान्छे पालेको ? गोरुले मान्छेलाई पालेको छ भन्न लाज हुने भएर मान्छेले गोरु पालेको भनेको होला भन्ने लाग्यो । धर्तीमा अरू कुन प्राणी छ जो आफू पालिन मानिससँग आश्रित छ ?

चेतनशील प्राणी कसलाई भन्ने ? हाम्रो अस्तित्व पृथ्वीसँग गाँसिएको छ । यो सत्य हो । अर्को तितो सत्य– यस धर्तीलाई सबैभन्दा बढी माया कुन प्राणीले गर्दछ ? यस धर्तीमा राज गर्ने तथा सबैभन्दा चेतनशील प्राणी मानिसले ? कि यसमा आश्रित अन्य जीवजन्तुले ?

तपाईं स्वीकार्नुस् या नस्वीकार्नुस्– म के कुरामा विश्वस्त छु भने अहिलेको अवस्थामा यस धर्तीको सबैभन्दा ठूलो शत्रु भनेको मान्छे हो, केवल मान्छे । यो धर्तीका असल मित्र भनेको अन्य जीवजन्तु र प्राणी हुन् । ती जीवजन्तु तथा प्राणीको अस्तित्व विना यस धर्तीको कल्पना गर्न सकिंदैन (उल्टो–सुल्टो दुवै) ।

यदि यो धर्तीमा एउटै मानिस भएन भने के हुन्छ ? यस धर्तीमा एउटै मान्छे नहुने हो भने यो धर्ती झनै हराभरा हुन्छिन्, साँच्चिकै सुन्दर, शान्त, मनमोहक हुनेछिन् । धर्ती साँच्चीकै मुस्कुराएकी हुनेछिन् । अहिलेका यो विरुप, कोलाहल, प्रदूषण अशान्त, लडाईं, झगडा, हिंसा, युद्ध आदि सबैको जननी भनिने कथित मानिसको उपज हो । धर्तीलाई उजाड बनाउने, नीरस तथा नर्क बनाउने काम यदि कसैले गरेको छ भने त्यो सबैभन्दा बढी अहिलेका कथित शिक्षित भनाउँदा मान्छेले गरेको छ, अरूले हैन ।

त्यसैले, अबको शिक्षा कस्तो हुनुपर्दछ ? शिक्षा धर्तीलाई नष्ट हुन तथा उजाडिनबाट बचाउने हुनुपर्दछ । धर्तीलाई साँच्चीकै रमणीय बनाउन प्रोत्साहित गर्ने शिक्षा हुनुपर्दछ । अहिलेको प्रतिस्पर्धामा आधारित शिक्षा प्रणालीबाट यो सम्भव छैन । यस्तो शिक्षा प्रणालीलाई सुधार गरेर पुग्दैन, पूर्ण खारेज गर्नुपर्दछ । शिक्षा भनेको धर्तीको सबैभन्दा नजिकको मित्र बनाउने हुनुपर्दछ, न कि धर्तीको सबैभन्दा ठूलो शत्रु पैदा गर्ने ।

शिक्षा यस्तो हुनुपर्दछ जसले उत्पादन गर्ने शिक्षित व्यक्तिले यस धर्तीलाई मात्र हैन यो ब्रह्माण्ड सबै र यिनमा आश्रित सबै सजीव र निर्जीवको अस्तित्वलाई सम्मान गर्ने, उनीहरूप्रति प्रेम र करुणा जगाउने हुनुपर्दछ । त्यस्तो शिक्षा जहाँ सफलता र असफलता सिकाउने हैन बरू अरूको अस्तित्वको सम्मान गर्ने, सहिष्णुता सिकाउने हुनुपर्दछ । विद्वान हुनुको अहंकार हैन परमअज्ञानीको शाश्वत सत्यलाई अनुभूत गर्न सक्ने शिक्षा हुनुपर्दछ ।

जब शिक्षाले करुणामय बन्न सिकाउँछ, प्रेमिलको जिन्दगी बाँच्न प्रोत्साहित गर्दछ, त्यस्तो शिक्षाले जाबो पेट भर्ने, अन्वेषण गर्ने, ऐस–आरामको जीवन बाँच्न तड्पिरहनुपर्दैन । यी त बाई–प्रोडक्ट हुन्छन् । असली शिक्षाले मानिसको जीवनमा माया, प्रेम, स्नेह, सद्भाव, करुणा ल्याउने हुनुपर्दछ । शिक्षाले केवल मानिसको अहमतालाई मलजल गर्ने नभई यस धर्तीमा आश्रित सबै निर्जीव तथा जीवप्राणीको अस्तित्वलाई सम्मान गर्न सक्ने, प्रेम गर्न सक्ने हुनुपर्दछ ।

यस अनन्त ब्रह्माण्ड र अनन्त समयकालमा मान्छेको जीवन केवल एक क्षणभंगुर हो । यो क्षणभंगुरमा न जित्ने केही छ, न त हार्ने केही । यो धर्ती छोड्दा लैजाने नै केही छ । सहज, आनन्दको जीवन बाँच्ने र सबै जीवप्राणीलाई सहज, आनन्दको जीवन बाँच्न सहयोग पुर्‍याउने सीप, कला जान्न प्रोत्साहित गर्ने शिक्षा आजको आवश्यकता हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?