+
+

सकेसम्म मुस्कुराउनुहोस्, जीवन सहज बन्नेछ

मनिषा थापा मनिषा थापा
२०७९ फागुन ८ गते १३:०१

काठमाडौं । अंग्रेजीमा एक प्रसिद्व भनाइ छ- ‘स्माइल इज एन इन्टरनेसनल ल्याङ्वेज’ अर्थात् मुस्कान एउटा अन्तर्राष्ट्रिय भाषा हो । वास्तवमै मुस्कान बालकदेखि वृद्वसम्म जोकोहीले बुझ्ने एक सरल र विश्वव्यापी भाषा हो । सकारात्मक प्रतिक्रियाको रुपमा प्रख्यात मुस्कान एक व्यक्तिको मुहारमा आउँदा त्यसले स्वतः राजीखुसी सँगैको अर्को व्यक्तिलाई पनि मुस्कुराउन बाध्य बनाइदिन्छ ।

हुनपनि जब कोही मुस्कुराउँछ तब ऊ मात्र होइन, उसलाई देखेर वरपरका पनि अन्य व्यक्ति पनि मुस्कुराउँछन् । मुस्कान यस्तो आभूषण हो जसलाई न कसैले खोस्न सक्छ न चोर्न नै । यो आभूषणले मानिसलाई थप आकर्षक र सुन्दर बनाउँछ । भनिन्छ, मुस्कुराइरहने व्यक्ति प्रायः सबैको प्यारो हुन्छ । जो कोहीलाई मोहित बनाउने मुस्कानमा खास त्यस्तो के छ त ?

मनोविद् पदम जोशी भन्छन्, ‘मुस्कानमा यस्तो भावनात्मक जादू हुन्छ जसले निराश जिन्दगीमा पनि एक आशाको किरण जगाउँछ ।’ उनका अनुसार मुस्कानको मनोविज्ञानको जैविक कुरालाई  केन्द्रित गर्छ । कुनै सूचना अरुलाई दिन खोज्यौं भने उसको आकृति दिमागमा बन्छ जसले गर्दा दिमागबाट निस्कने सकारात्मक रसलाई मुस्कानले प्रस्तुत गर्छ ।

जैविक मनोविज्ञान अनुसार दिमागबाट विभिन्न न्युरोट्रान्समिटरहरु निस्किरहेका हुन्छन्, जसकारण दुई व्यक्तिबीच सुमधुर सञ्चार हुन्छ । जुन मुस्कान देखेर अर्को व्यक्तिको दिमागले पनि सो आकृति ग्रहण गरेर मुस्कुराउने गर्छ ।

मुस्कानले दुई व्यक्ति वा वरपरको माहोललाई सुमधुर त बनाउँछ नै स्वास्थ्यका लागि उत्तिकै फाइदाजनक हुने मुटुरोग विशेषज्ञ डा. माधव विष्ट बताउँछन् । उनका अनुसार मुस्कानले न्युरोपेप्टाइड हार्मोन रिलिज गर्छ, जसकारण व्यक्तिको तनाव कम गर्छ र मुटुको धड्कनको दर घटाउने काम गर्छ ।

‘मुस्कानले तपाईंको मस्तिष्कमा न्युरोपेप्टाइड, डोपामाइन, सेरोटोनिन र एन्डोर्फिनजस्ता राहत अनुभव गराउने रसायनहरू निस्कन्छ । यी राम्रो मुड बढाउने हार्मोनले रक्तचापलाई कम गर्छ, मुस्कुराउँदा प्रयोग हुने मांसपेशीले मस्तिष्कमा एन्डोफ्रिन हार्मोन उत्पन्न हुन्छ, जसले दुखाइ र तनावलाई समेत राहत दिन्छ । जुन मुटु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ,’ उनी भन्छन् । दिनको सुरुवात नै मुस्कानबाट गरियो भने मस्तिष्कमा न्युरोन्स सक्रिय हुन्छ, जसले दिन सहज तरिकाले बित्ने विष्ट बताउँछन् ।

एक अन्तर्राष्ट्रिय म्यागेजिन साइकोलोजी टुडेमा प्रकाशित एक अध्ययनले मुस्कानले आयु बढाउने, क्यान्सर, मुटुसम्बन्धी र संक्रामक रोगलाई घटाउन मद्दत गर्ने उल्लेख गरेको छ ।  अध्ययनअनुसार व्यक्ति जो खुसी हुन्छन्, उनीहरु आफ्नो उमेरभन्दा कम उमेरको देखिने गर्छन्  । जबकि सधैं तनावपूर्ण माहोलमा रहने र उदास देखिने व्यक्तिमा स्वास्थ्य समस्या बढी हुने सम्भावना रहन्छ ।

दिमागको विभिन्न भागमा न्युरो ट्रान्समिटर निस्किरहेको हुन्छ, त्यसको प्रभावकारी बनाउन मुस्कानको ठूलो भूमिका हुने मनोविद् जोशी बताउँछन् । ‘त्यसैले कसैको मुस्कान देख्दा वा आफैं मुस्कुराउँदा दिमागमा उत्पन्न हुने सकारात्मक रस प्रवाह हुने बित्तिकै दिमागमा भइरहेको तनाव कम हुँदै जान्छ,’ उनी भन्छन् ।

हरेक व्यक्तिको जीवनमा केही न केही समस्या आइरहेकै हुन्छ । तिनको तत्काल समाधान भनेको मुस्कुराउनु नै हो । कार्यालय, सभा–समारोह, सांस्कृतिक कार्यक्रम जहाँ रहँदा पनि मुस्कानका साथ गरिएको सञ्चारले सकारात्मक ऊर्जा प्रवाह हुने जोशी बताउँछन् । ‘मुस्कानलाई शोक मान्नुपर्ने ठाउँमा बाहेक प्रायः सबै ठाउँमा स्वागतयोग्य मानिन्छ,’ उनी बताउँछन् ।

मुस्कानले व्यक्तिबीच विश्वासको सम्बन्ध विकास गर्न समेत भूमिका खेल्छ । कोही निराश छ भने उसलाई मुस्कुराउँदै हौसला दिने र खुसी हुन सिकाउने काम मुस्कानले गर्छ । ‘मुस्कान सानो भावना हुन सक्छ, तर पनि यसमा संसारको सबै खुसी समावेश छन् । यदि मानिस खुसी छैन भने उसलाई दुःख, डिप्रेसन, चिन्ताले घेर्दै शारीरिक तथा मानसिक समस्या बढाउँदै लैजान्छ,’ जोशी भन्छन् ।

मुस्कानले शरीरको प्रतिरक्षा प्रणालीलाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने मधुमेह थाइराइड हार्मोनरोग विशेषज्ञ डा. विनय भट्टराई बताउँछन् । ‘बिरामीलाई सधैं सल्लाहमा हामीले तनाव कम लिनुहोस्, खुसी रहनुहोस् भन्ने गर्छौं । किनभने मुस्कान नै एउटा प्राकृतिक औषधि हो, जसले व्यक्तिलाई शारीरिक तथा मानसिक समस्या हल गर्दै निरोगी हुन प्रेरित गर्छ,’ उनी भन्छन् ।

सबैभन्दा धेरै मुस्कुराउँछन् बालबालिका

विभिन्न समयमा विभिन्न कुराले मानिस मुस्कुराउँछ । कतिपय अवस्थामा त मुस्कुराएको अनुभव पनि नहुन सक्छ । एक व्यक्ति दैनिक कति पटक मुस्कुराउछ त ? एक अध्ययनअनुसार  जति उमेर बढ्दै गयो मुस्कुराउने क्रम कम हुँदै जान्छ । बालबालिका सबैभन्दा धेरै मुस्कुराउँछन् । बालबालिका दिनमा ४०० पटकसम्म मुस्कुराउँछन् ।

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?