+
+

राजमार्गमा ढाट राखेर पैसा असुल्छ गैंडाकोट नगरपालिका

सुवास पण्डित सुवास पण्डित
२०७९ फागुन ८ गते १३:२८

८ फागुन, चितवन । कुनै समय थियो, जतिबेला सडक बोर्ड नेपालका नाममा राष्ट्रिय राजमार्गमा ढाट राखेर सवारी साधाहरुसँग रकम असुलिन्थ्यो ।

एउटै सवारी साधनले एउटै राजमार्गमा धेरै ठाउँमा कर तिर्दै जानुपर्ने बाध्यता थियो । धेरैतिरबाट गुनासो आएपछि सरकारले सबैतिरबाट सवारी साधनसँग कर उठाउने ढाट हटायो । तर, पछिल्लो समयमा राजमार्गमा पनि विभिन्न नाममा सवारी साधनसँग रकम उठाउने काम सुरु भएका छन् ।

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाले इलाका प्रहरी कार्यालय गैंडाकोट नजिकै पूर्वपश्चिम राजमार्गमा ठेकेदारलाई ढाट राख्न लगाएर मालबाहक गाडीसँग मनपरी शुल्क असुल्ने गरेको छ । कवाडी करका नाममा नगरपालिकाले राजमार्गमा गाडीसँग २ सय, ३ सय, ५ सयसम्म कर असुल्ने गरेको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि नगर क्षेत्रभित्र कवाडी कर संकलन गर्न गैंडाकोट बिल्डर्स एण्ड सप्लायर्स प्रालिसँग गत १४ मंसिरमा सम्झौता गरेको छ । नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ (घ) को ४ बमोजिम कवाडी कर संकलन गरी आन्तरिक आय बढाउन खोजेको तर्क गरेको छ ।

गैंडाकोटमा उत्पादन भई बाहिर निकासी हुने कवाडीजन्य २१ वटा वस्तुहरुमा कर उठाउन पाउने भनिए पनि पूर्वपश्चिम राजमार्गमा गुड्ने सवैजसो मालबाहक सवारीसँग कर उठाइएको छ ।

आइतवार दिउँसो भैरहवाबाट धानको भुस बोकेर पोखरा औद्योगिक क्षेत्र जान आएको लु २ ख ५१३७ नम्बरको ट्रक रोकेर ठेकेदारका प्रतिनिधिले ३०० रुपैयाँ लिए । सो ट्रक चालक इस्लाम मियाले भुस किनेको बिल, लैजान लागेको स्थानको कागजात सबै देखाए पनि ढाटमा बसेकाहरुले मानेनन् ।

चितवनबाट नवलपरासीको दुम्कीबास जाँदै गरेको ना ६ ख ४७४६ नम्बरको ट्रकसँग पनि गैंडाकोटको ढाटले ३०० रूपैयाँ उठायो । इलाका प्रहरी कार्यालय गैंडाकोटकै अगाडि ढाटका नाममा सवारी साधनसँग कर असुल्दा पनि प्रहरी मुकदर्शक बनेको छ ।

गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुक्ति रिजालले नगरपालिका क्षेत्र भित्र उत्पादित भएका वा संकलित कवाडी सामानहरु बाहिर निकासी हुँदा तोकिएको रकम मात्रै कर उठाउने भनिएको बताए । उनले राजमार्गमा गुड्ने अन्य सवारी साधनसँग कर उठाएको विषय आफूलाई जानकारी नभएको दाबी गरे ।

ढाट सञ्चालक कृष्ण सिग्देलले ढाट बस्ने कर्मचारीले गल्ती गरेर अरु सवारी साधनसँग पनि कर असुलेको हुनसक्ने बताए । उनले इमान्दार कर्मचारी नपाउँदा आफ्नै बदनाम भएकाले ढाट बन्द गर्न सोच आएको बताए ।

नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले राष्ट्रिय राजमार्गमा कुनै पनि पालिकाहरुले ढाट तेस्र्याएर रकम उठाउन नपाउने बताए । ‘हरेक पालिकाले राजमार्गमा रकम उठाउने हो भने के होला ?’ लम्सालले भने, ‘पूर्व पश्चिम राजमार्गमा गुड्ने सवारी साधनमा गैंडाकोटमा कर लिएको गुनासो म कहाँ पनि आएको छ । नगरपालिका प्रमुखलाई समेत मैले खबर गरेको छु, गैरकानुनी ढंगले रकम उठाउन मिल्दैन ।’

कसरी छानियो ठेकेदार ?

कवाडी कर संकलन गर्न भन्दै नगरपालिकाले गत २० भदौमा निकालेको बोलपत्रमा ५ वटा व्यापारिक फर्मले निवेदन दिएका थिए । प्रमुख प्रशासकीय अधिकृत मुक्ति रिजालका अनुसार पाँचौ नम्बरमा टेण्डर हाल्ने गैंडाकोट बिल्डर्स एण्ड सप्लायर्स प्रालिले ७ लाख ११ हजार रुपैयाँ नगरपालिकालाई दिने गरी ठेक्का सम्झौता गरेको हो ।

नवनिर्माण कन्स्ट्रक्सनले ३१ लाख ९८ हजार, त्यस्तै युडी एलिस कन्स्ट्रक्सनले २५ लाख ५५ हजार ५५५, थाकसिमीले १९ लाख ९८ हजार र अर्को एक कम्पनीले १५ लाख ५५ हजार रुपैयाँ नगरपालिकालाई दिने प्रस्ताव गरेका थिए । तर तीमध्ये कतिपय कम्पनी सम्झौता गर्न आएनन् भने कतिपयको कागजात पुगेन ।

ठूला परिमाणको ठेक्का रकम हालेर छाड्नेहरुको धरौटी जफत गरिएको प्रमुख प्रशासकीय अधिकृत रिजालले बताए । ठेक्का रकममा ठूलो अन्तर परेपछि टेण्डर खारेज नगरी किन पाँचौं नम्बरलाई दिएको भन्ने प्रश्नमा रिजालले पाँचौं नम्बरमा परेकाले पनि सम्झौता गर्न नआएको भए मात्रै नयाँ टेण्डर गर्ने सोचमा रहेको बताए ।

नगर कार्यपालिकाका एक सदस्यले कवाडी कर संकलनमा ठेक्का हाल्नेहरुमा बीचमा सेटिङ गरेको आशंका हुँदासमेत नगरपालिकाले पाँचौं नम्बरलाई सकार्नु गलत भएको बताए ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?