+
+
Shares

ललितपुरमा पाइने वनस्पतिबारे लेखिएको पुस्तक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १८:१७

८ फागुन, काठमाडौं । ललितपुर महानगरले महानगरभित्र रहेका आर्थिक, धार्मिक र पौराणिक दृष्टिले महत्वपूर्ण वनस्पतिहरुको व्याख्या गरिएको पुस्तक प्रकाशित गरेको छ ।

नेपालका प्रथम बोटानिष्ट प्रयागराज पाण्डे फाउन्डेसनको संयोजनमा तयार पारिएको उक्त पुस्तक महानगरले प्रकाशित गरेको हो ।

पुस्तक वनस्पति विज्ञद्वय डा. पुष्पमान अमात्य र हरिकृष्ण सैंजुले लेखेका हुन् ।

अमात्य महानगरका वनस्पतिविज्ञ सल्लाहकार हुन् । पुस्तकमा महानगरको २९ वटै वडामा अनुसन्धानका क्रममा भेटिएका ३० प्रजातिका वनस्पतिका बारेमा वर्णन गरिएको छ । पुस्तकमा समेटिएका वनस्पतिमध्ये भालुकाठ र गुँसी लोपोन्मुख वनस्पति हुन् ।

भालुकाठ वडा नं. ३ मा छ भने गुँसी महानगरको वडा नं ४ मा अवस्थित सदर चिडियाखानाभित्र रहेको छ । पुस्तकका लेखक हरिकृष्ण सैंजुले भने, ‘भालुगाठ संसारको दोस्रो सुन्दर फूल फुल्ने वनस्पति हो ।’

ललितपुर महानगरभित्रका प्रत्येक वडा पुगेर यो पुस्तक तयार पार्न १ वर्ष लागेको थियो । महानगरको वडा नं १९मा रहेको अग्निशालसँगैको वरुण वृक्षको इतिहास ललितपुर महानगरको लागि मात्रै नभएर नेपालकै लागि महत्वपूर्ण भएको प्रा.डा. पुष्पमान अमात्यले बताए । इतिहासमा उल्लेख भए अनुसार यो वृक्ष ३ हजार वर्ष पुरानो वृक्ष हो ।

अमात्यले यो पुस्तक ललितपुर महानगरको सम्पत्ति भएको बताए । उनले भने, ‘ यो पुस्तकले ललितपुरका वनस्पतिको डकुमेन्टेसन भएको छ, यसको श्रेय ललितपुरका मेयरलाई जान्छ ।’

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरले प्रकाशित गरेको यो पुस्तक वनस्पति क्षेत्रका विद्यार्थी र विज्ञहरुका लागि पनि उपयोगी हुने बताए । वातावरण संरक्षणका लागि महानगरले वृक्षरोपणलाई प्राथमिकता दिएको बताए । उनले महानगरका वडा अध्यक्षहरुलाई सुझाव दिंदै भने, ‘खाली ठाउँ कहिंकतै नराख्नुस्, वृक्षरोपण गर्नुस् ।’

महानगरले बिरुवा रोप्ने मात्रै नभई त्यसको संरक्षणलाई पनि त्यति नै प्राथमिकतामा राखेको बताए । उनले भने, ‘हामी बिरुवा मात्रै रोप्दैनौं, पानी हाल्छौं, हुर्कन मल हाल्छौं, विरुवा सफा देखियोस् भनेर बिरुवालाई नुहाइदिन विशेष खालको ट्याङकर किनेका छौं ।’

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले यो पुस्तक महानगरको सम्पत्ति भएको बताइन् । महानगरलाई योजना तर्जुमा गर्न समेत यो पुस्तकले सहयोग गर्ने तर्क गरिन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?