+
+

दुर्गा प्रसाईलाई पार्टीबाट निष्कासन गरिसक्यौं : एमाले सचिव

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ९ गते १६:५५

९ फागुन, बुटवल । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई पार्टीबाट निश्कासन गरिसकिएको बताएका छन् ।

पार्टीको नीति र सिद्धान्त विपरीत प्रसाईले संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विरुद्धमा आफूखुशी गतिविधि गरिरहेकाले पार्टीबाट निष्कासन गरेको बताए ।

पार्टीले सुरु गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत रुपन्देहीमा जिल्लास्तरीय प्रशिक्षणलाई सम्बोधनका क्रममा उनले प्रसाईलाई सोमबार पार्टीले निर्णय गरेर कारवाही गरेको जानकारी गराए ।

‘पार्टीको केन्द्रीय सदस्य रहेका एकजनाले पूर्वतिरबाट के के नामको अभियान चलाएका छन्, त्यो संविधानले व्यवस्था गरेका उपलब्धी र एमालेको नीति सिद्धान्त विपरीत छन्’, विश्वकर्माले भने, ‘त्यसैले हिजो (सोमबार) नै पार्टीले उनलाई निष्कासन गरेको छ ।’

उनले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताविरुद्ध उठाइएका आवाज र भ्रमको पछि नलाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । ‘भोलि के हुन्छ थाहा छैन तर अहिले पार्टीको नीति सिद्धान्त विपरीत संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विरुद्ध गतिविधि गर्ने छुट कसैलाई छैन यो कुरा सबै नेता कार्यकर्ताले हेक्का राख्नुहोला’, विश्वकर्माले भने ।

पार्टीभित्र विगतमा नेतृत्वको निर्णय र निर्देशन अवज्ञा गर्ने र विपक्षीलाई सहयोग पुग्ने गतिविधिहरु भएको उल्लेख गर्दै अब त्यस्तो छुट नहुने चेतावनी दिए ।

कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य बैजनाथ चौधरीले स्थानीय तहका जनप्रतिनिधिहरु र नेताहरुबीच समन्वयको अभाव र असमझदारी बढेकोले यसलाई तत्काल समाधान गर्नुपर्ने बताए ।

उनले पार्टी नेता कार्यकर्तालाई वैचारिक खुराकको कमी भएको, शिक्षित र सक्षम युवा पुस्तालाई पार्टीमा जोड्न र नेतृत्वमा स्थापित गर्न नसकिएकाले यसतर्फ पार्टी नेतृत्व गम्भीर बन्नुपर्ने पनि औंल्याए ।

२ महिने अभियानमा पोलिटब्यूरो र केन्द्रीय कमिटीका ७ जना नेता १६ वटा पालिकामा खटिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?