+
+

सूर्य नेपाल वेस्टर्न ओपन भोलिदेखि सुरु हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ९ गते १८:५६

९ फागुन, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपन भोलिदेखि हिमालयन गल्फ कोर्समा सुरू हुदैछ ।

सूर्य नेपाल वेस्टर्न ओपनको यो २३औं‌ संस्करण हो । प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालको आयोजना र सूर्य नेपाल प्रा. लि.को प्रायोजनमा सञ्चालन हुने ५४ होलको प्रतियोगितामा ३१ व्यावसायिक र १४ एमेच्योर खेलाडीले भाग लिनेछन् ।

दुई दिनको खेल पश्चात उत्कृष्ट २१ प्रोफेसनल र कम्तीमा ६ एमेच्योरले अन्तिम १८ होलका लागि कट बनाउनेछन् ।

शनिबार हुने प्रो-एमसँगै प्रतियोगिता सकिनेछ । जहाँ पोखरा र देशभरिका एमेच्योर खेलाडी शीर्ष प्रोफेसनल गल्फरसँग खेल्ने छन् ।

माछापुच्छ्रे हिमालको सुन्दर पृष्ठभूमि र विजयपुर नदीको किनारामा रहेको देशकै प्राकृतिक रूपमा सुन्दर यो गल्फ कोर्समा तीन दिन शीर्ष खेलाडीको परीक्षा हुनेछ । यो पटक प्रतियोगिताको कुल नगद पुरस्कार राशी वृद्धि गरेर आठ लाख बनाइएको छ ।

विजेताले १ लाख ४० हजार, उपविजेताले ९० हजार र तेस्रो हुने खेलाडीले ६७ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी शीर्ष २१ मा रहेने खेलाडीले पनि नगद हात पार्नेछन् ।

नेपाल नम्बर एक व्यावसायिक खेलाडी शुक्रबहादुर राई, भुवन नगरकोटी, दिनेश प्रजापति, सञ्जय लामा, धन थापा र रामे मगर तथा १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङसँगै राष्ट्रिय टोलीका अर्का खेलाडी सद्भाव आचार्य प्रतियोगिताको प्रमुख दावेदार हुन् ।

सूर्य नेपाल इस्टर्न ओपनको एमेच्योर उपाधि विजेता राजेन राईले यो प्रतियोगिताबाट प्रोफेसनल करियरको यात्रा सुरू गर्दैछन् ।

यो प्रतियोगिता वर्ल्ड एमेच्योर गल्फ र्‍याङ्किङ अन्तर्गत रहेको छ र एमेच्योर खेलाडीले आफ्नो वरीयता सुधार गर्न महत्वपूर्ण अंक प्राप्त गर्न सक्नेछन् ।

देशका शीर्ष प्रोफेसनल र एमेच्योर खेलाडीबीचको प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउनका लागि हिमालयन गल्फ कोर्सलाई परिमार्जित गर्दै कठिन बनाइएको छ ।‌

६९ पारको १६ होल रहेको कोर्समा पहिलो र दोस्रो होल दोर्याएर खेल्नु पनि चुनौतीपुर्ण रहनेछ। जसले प्रतियोगिता थप प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

विश्व प्रसिद्ध म्यागेजिन, गल्फ डाइजेस्टले यो कोर्सलाई विश्वको सबैभन्दा साहसिक मध्येको एक गल्फ कोर्सको रूपमा मूल्या‌ंकन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?