+
+

मायादेवी मन्दिरमा राखियो सुनको जलप लगाएको गजुर

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ९ गते १९:२८

९ फागुन, बुटवल । लुम्बिनी विकास कोषले मायादेवी मन्दिरमा नयां गजुर राखेको छ ।

पुरानो गजुर जीर्ण भएपछि कोषले स्वयम्भू स्तुपा आकारको नयाँ गजुर राखेको हो । गजुर स्थापनाका लागि थाइल्याण्डका बुद्धमार्गी रतना मालिनोङ्ग र लर्टट्रथ आक्रापास पोङले आर्थिक सहयोग गरेको लुम्बिनी विकास कोषले जनाएको छ ।

मंगलबार दाता मालिनोङ बुद्धजन्मस्थल लुम्बिनी आएर बौद्ध भिक्षुबाट पूजा गरेपछि गजुर राखिएको हो । यसअघि राखिएको गजुर पुरानो र जीर्ण भएकाले मर्मत गर्ने योजना भइरहेको बेला थाइल्याण्डबाट सहयोग प्राप्त भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

आधुनिक प्रविधि अनुसार नेपाली मौलिक कलाको गजुर स्थापनाका लागि करिव ६० लाख लगानी लागेको शाक्यले बताए । नयाँ गजुर राखिएपछि मायादेवी मन्दिर आकर्षक देखिएको छ ।

स्वयम्भू स्तुपाको मोडेलमा रहेको गजुर करिव ३ महिना लगाएर तयार पारिएको शाक्यले बताए । गजुरको बाहिर पट्टीको भागमा सुनको जलप लगाइएको छ । यसअघिको मन्दिरको गजुर पुरानो र जीर्ण भइसकेको थियो ।

‘बाँदरले हल्लाउंदा ढल्कने र खिइएकाले गजुर मर्मत गर्नुपर्ने भएको थियो, त्यही क्रममा थाइल्याण्डका बुद्धमार्गीले नयां गजुर राखिदिनुभयो’, शाक्यले भने, ‘गजुरसँगै बुद्ध जन्म स्मारक (मार्क स्टोन) स्थापनाका लागि समेत सहयोग भएको छ ।’

मालिनोङ र लर्टट्रथले भारतको कुशिनगरस्थित विहारमा पनि गजुर स्थापना र बोधगयामा बोधी बृक्षको संरक्षणका लागि सहयोग गरेको बुद्धिष्ट अभियानकर्मी राजा शाक्यले बताए । उनका अनुसार दाताले बुद्धप्रति श्रद्धा राखेर गजुर स्थापना गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?