+
+

रेड कार्पेटमा कुकुरहरुको ‘क्याटवाक’

गोल्ड रिटाइभर ‘प्रिन्स’ बन्यो सर्वोत्कृष्ट

विकास रोकामगर विकास रोकामगर
२०७९ फागुन ९ गते १९:४७

९ फागुन, पोखरा । खचाखच मान्छेले भरिएको हल । बीचबीचमा चर्को हुटिङ र ताली । रेड कार्पेटमा न कुनै सेलिब्रेटी थिए न त कुनै मोडल ।

बरु त्यहाँ कुकुरहरु क्रमबद्ध रुपमा लयमा लय मिलाउँदै आफ्ना ‘मालिक’सँग हिँडिरहेका थिए । कुनै भव्य ‘ब्युटी प्याजेन्ट’को भान दिने गरी मंगलबार पोखरा प्रदर्शनी केन्द्रमा भएको ‘पोखरा डग सो’मा देखिएको रोचक दृश्य थियो, यो ।

विभिन्न प्रजातिका १७२ कुकुर सहभागी भएको प्रतियोगितामा कुकुरहरुले आफ्नो कौशल देखाए, र्‍याम्पमा क्याटवाक गरे । सोमा सहभागी कुकुरहरुकै प्रजातिअनुसार विभिन्न विधामा प्रतियोगिता गराइएको थियो । आफ्नो विधामा उत्कृष्ट भएसँगै अन्तिम २०, १० हुँदै उत्कृष्ट कुकुर छनोट गरिएको थियो ।

प्रतियोगितामा सहभागी १७१ वटा कुकरलाई गोल्ड रिटाइबर प्रजातिको प्रिन्स नामक कुकरले शीर्ष उपाधि जित्यो । दीपेन्द्र बाणीको प्रिन्सले २५ हजार रुपैयाँसहित प्रतियोगिता जितेपछि आफूलाई खुसी लागेको बताए ।

प्रिन्सले यसअघि काठमाडौंमा सन् २०१८ मा भएको प्रतियोगिता पनि जितेको थियो । ‘२०१८ पछि फेरि पनि प्रिन्सले दोस्रो पटक खुसी दिएको छ । यसलाई हामीले अब्बल तरिकाले पाल्न सफल रहेछौं भन्ने प्रमाणित गरेको छ’, उनले भने ।

विभिन्न प्रजातिमा उत्कृष्ट हुँदै उत्कृष्ट १० भित्र परेका कुकुरलाई समेत पुरस्कृत गरिएको थियो । जसमध्ये उत्कृष्ट ३ मा सन्तोष गुरुङको पिनट प्रजातिको सिनु तेस्रो, रिक श्रेष्ठको पासा नामक बुल मार्सिस प्रजाति दोस्रो भएको थियो भने विकास गुरुङको जर्मन सेफर्ड ‘अली’ उत्कृष्ट ४ भएको थियो ।

प्रतियोगितामा सहभागी हुन पोखरा महानगरपालिका–१५, रामबजारदेखि २ वटा कुकुर लिएर आएकी सरिता गुरुङले डग सोबारे थाहा पाउनेबित्तिकै सहभागी भएको बताइन् । गुरुङले एस नामको जापानिज पिज र एली नामको गोल्डेन रिटिभरलाई प्रतियोगितामा सहभागी गराइन् ।

‘पहिले काठमाडौंमा हुन्छ भन्ने थाहा थियो । पोखरामा पनि आएपछि त त्यसै खुसी लागिहाल्यो,’ उत्साहित हुँदै गुरुङले सुनाइन्, ‘जित्न होइन । यिनीहरु (कुकुरतिर देखाउँदै)लाई रिफ्रेस हुन्छ भनेर ल्याएका हौं ।’

८ महिनाको जापानिज रिटिभर प्रजातिकै कुकुर ‘सिम्बा’लाई लिएर आएका नयाँ बजारका एड्रिन क्षेत्रीले पनि कुकुरलाई रिफ्रेस गराउन र अरु कुकुरबारे जानकारी पाएको सुनाए । ‘मेरो त सानो भयो, अरु हेरेर डराउँछ । तर, अरु कुुकुर हिँडेको देखेर रमाइलो मान्यो,’ उनले भने ।

घरमा ३ वटा कुकुर पालेकी जुना गुरुङले मान्छे र कुकुरबीचको सम्बन्ध बयान गर्न नसक्ने बताइन् । परिवार नै कुकुरप्रेमी भएकाले आफू जन्मिँदाबाटै कुकुरहरुसँग हुर्किने मौका पाएको सुनाइन् । ‘कुकुर यस्तो लोयल हुन्छ कि मान्छेभन्दा बढी कुरा उसले बुझ्छ । बरु बिरामी हुँदा मान्छेले छोड्लान् तर, कुकुरले बुझ्छ’, उनले भनिन् ।

आयोजक संस्था पोखरा पेट एसोसिएसन अध्यक्ष गणेश भण्डारीले कुकुरहरुको स्याहारसुसार र पोखरामा भएका कुुकुरबारे जानकारी दिने उद्देश्यले डग सो आयोजना गरिएको सुनाए । ‘कुकुरहरुलाई कसरी व्यवस्थित बनाउने, कसरी गर्ने, कुकुरप्रेमीहरुको एकअर्काको अनुभव आदानप्रदान गर्नका लागि पनि यो सो गरिएको हो,’ उनले भने ।

हरेक प्रजातिको कुकुरको फरकफरक स्वभाव हुने भएकाले उनीहरुको स्वभाव कुकुर पाल्नेले बुझिदिनुपर्ने शनी श्रेष्ठ बताउँछन् । ‘अहिले थरिथरि कुकुर आएका छन् । तर, प्राय लोकल कुकुर सडकमा पुगेका छन् । मान्छेहरुले कुकुरको स्वभाव नबुझ्दा यो समस्या आएको हो,’ उनले भने ।

‘ह्याप्पी’ले दिएको खुसी

२ वर्षअघि सडकमा भेटिएको मोनाग्रेल्स प्रजातिको ह्याप्पी नामको कुकुरले जुना गुरुङलाई खुसी दियो । मोनाग्रेल्स प्रजातिमा भएको प्रतिस्पर्धा बाँकीलाई पछि पार्दै ह्याप्पी उत्कृष्ट ठहरिएको थियो ।

शिक्षण पेशामा रहेकी गुरुङले आफूले ह्याप्पीलाई केवल प्रतियोगितामा सहभागी गराउन ल्याए पनि उत्कृष्ट हुँदा एकदमै खुसी लागेको बताइन् ।

‘सुरुमा भेटिँदा कसैले पनि एडप्ट गर्न मानेका थिएनन् । कसैले नमानेपछि मैले राखें, पालें, माया दिएँ,’ गुरुङले खुसी बाँड्दै भनिन्, ‘आज त्यही सडकमा भेटिएको ह्याप्पीले मलाई ह्याप्पी बनायो । जित्छ भन्ने मेन्टालिटी थिएन, अनएक्सपेक्टेड भयो ।’

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?