+
+

क्यूआर कोडमा बन्दीपुर : १० भाषामा १० गन्तव्य

‘पहाडकी रानी’ उपमा पाएको बन्दीपुर प्राकृतिक मनोरम दृष्य, पुराना सांस्कृतिक वस्ती र रहनसहनका कारण पर्यटकहरुमाझ चर्चित छ । यहाँका पर्यटकीय गन्तव्यबारे प्रचार गर्ने र अझै बढी पर्यटक भित्राउने उपायअनुसार क्यूआर कोडको योजना अघि सारिएको छ ।

सुवास पण्डित सुवास पण्डित
२०७९ फागुन १० गते १०:५८

१० फागुन, तनहुँ । ‘जाँदाजाँदै बन्दीपुर पुग्यो..’ भन्ने गीत अहिले युट्युब र टिकटकमा चर्चित छ । ६८ वर्षीया नन्दा पन्तले गाएको यो गीतमा तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरबारे जानकारी दिने धेरै विवरण त छैन तर बन्दीपुरलाई फेरि एकपटक चर्चामा भने ल्याइदिएको छ ।

बन्दीपुरलाई प्रवर्द्धन गर्न सक्रिय भइरहेको बेला सार्वजनिक भएको गीतले बन्दीपुरलाई थप चर्चामा ल्याइदिएको भन्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र थापा दंग छन् । ‘यसले बन्दीपुर नसुनेका मान्छेहरूले पनि सुने, नचिन्ने मान्छेहरुले पनि बन्दीपुर भनेको कहाँ रहेछ, के रहेछ भनेर चासो राखे,’ गाउँपालिका अध्यक्ष थापा भन्छन्, ‘एकै शब्द भए पनि बन्दीपुरका लागि काफी भयो ।’ पर्यटकीय गन्तव्य बन्दीपुरको प्रचारमा थप टेवा पुगेको महसुस गरेका उनले यो गीत तयार पार्ने दंगाली कलाकार भूपू पाण्डे लगायतलाई धन्यवादसमेत दिए ।

बन्दीपुरबारे गीत बनेको यो पहिलो भने होइन । थुप्रै गीतले बन्दीपुरको चर्चा गरेका छन् । तर टिकटकलगायत सामाजिक सन्जालमा झुम्मिएको पछिल्लो पुस्तालाई भने ‘लेलै बरै’ गीतको बन्दीपुरको टुक्काले तानेको छ । यसबाट हौसिएका बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापा अब सूचना प्रविधिको उपयोग गर्दै बन्दीपुरका १० प्रमुख गन्तव्य १० भाषामा क्यूआर कोडमार्फत् जानकारी पाउन सकिने व्यवस्था गर्न लागिएको बताउँछन् ।

पृथ्वी राजमार्गको डुम्रे बजारबाट ८ किलोमिटरको उकालो हिँडेपछि सजिलै पुगिन्छ, बन्दीपुर । ‘पहाडकी रानी’ उपमा पाएको बन्दीपुर प्राकृतिक मनोरम दृष्य, पुराना सांस्कृतिक वस्ती र रहनसहनका कारण पर्यटकहरुमाझ चर्चित छ । यहाँका पर्यटकीय गन्तव्यबारे प्रचार गर्ने र अझै बढी पर्यटक भित्राउने उपायअनुसार क्यूआर कोडको योजना अघि सारिएको छ ।

बन्दीपुर बजारसँगै खड्गदेवी, थानीमाई, विन्ध्यवासिनी मन्दिर, शहीदपार्क, टुँडिखेल, तीन धारा, सिद्ध गुफा, ‘मिनी ग्रेटवाल’, चन्द्रकोटगढीका बारेमा जानकारीसहितका क्यूआर कोड विभिन्न ठाउँहरुमा राख्ने योजना बनाइएको गाउँपालिका अध्यक्ष थापाले बताए । ‘पर्यटकहरू जहाँ पुग्नुहुन्छ त्यहीँ नै क्यूआर कोड राखिन्छ, त्यसलाई स्क्यान गरेपछि पर्यटकहरूले सबै जानकारीसहितको विवरण मोबाइलमा पाउनुहुन्छ’ गाउँपालिका अध्यक्ष थापा भन्छन्, ‘अब पर्यटकहरुले सहजै ती ठाउँहरुको इतिहास, महत्व, गरिमा लगायतका विषयमा जानकारी पाउनुहुन्छ ।’ ती १० वटा ठाउँको माष्टर बोर्ड भने मुख्य बजार क्षेत्रमा राख्ने योजना छ ।

बन्दीपुरको ४ सय वर्ष पुरानो इतिहास, कला संस्कृति, यहाँका प्राकृतिक सुन्दरता र स्वछन्दता पर्यटकहरुले हेर्न र बुझ्न पाउने गाउँपालिका अध्यक्ष थापाले बताए । समुद्र सतहबाट १०२० मिटर अग्लो ठाउँमा रहेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, लमजुङ्ग, धौलागिरी, डा.हर्क पिक, गणेशलगायतका हिमालहरू देख्न पाइने गाउँपालिका अध्यक्ष थापाले बताए ।

‘मिनी ग्रेटवाल’को चर्चा

पछिल्लो समयमा बन्दीपुरमा बनाइएको ढुंगाको पर्खालप्रति पनि पर्यटकहरु आकर्षित भइरहेका छन् । यो ‘मिनी ग्रेटवाल’ भनेर चर्चित छ । चीनको ग्रेटवालको झल्को दिलाउने भनिएको यो ढुंगे पर्खाल बन्दीपुर–२ को थानीमाई मन्दिरबाट सुरु भई मुकुन्देश्वरी डाँडामा पुगेर टुंगिन्छ । झण्डै १० करोड लागत अनुमान गरिएको यो पर्खाल हालसम्म डेढ किलोमिटर लामो बनिसकेको छ ।

बन्दीपुर गाउँपालिका समग्रमा मगरहरुको बाहुल्यता भएको ठाउँ भए पनि बन्दीपुरको मुख्य पुरानो बजारमा भने नेवार समुदायको संख्या बाक्लो छ । खास बन्दीपुरको पहिचान बनाएको बजार क्षेत्रमा आकर्षक ढुंगा छापिएको छ भने यातायातका सवारी साधन जान निषेध गरिएको छ । पुराना कलात्मक घरहरु हेर्न पर्यटकहरू लोभिने गरेका छन् । गाउँपालिकाले यसलाई संरक्षित क्षेत्र घोषणा गरेको छ ।

बजार र यसको वरपर बन्ने सबै संरचनाहरू प्राचिन र ऐतिहासिक देखिउन् भनेर घरको नक्सा पास गर्दा नै अगाडिको अघिल्लो भागमा कलात्मक इँटा र काठ प्रयोग गर्न गाउँपालिकाले अनिवार्य गरेको छ । ‘यहाँको मौलिक संस्कृति र संरचना नमासियोस् बरु बढोस् भन्ने चाहनाले हामीले भित्र आरसीसी ढलान गरे पनि बाहिरी आउटलुक्स भने इँटा र काठको अनिवार्य प्रयोग गर्न भनेका छौं, त्यो नभई निर्माण सम्पन्न दिँदैनौं, कलर कोड पनि तोकेका छौं,’ गाउँपालिका अध्यक्ष थापाले भने, ‘बजार क्षेत्र वरपर सटर हाल्न प्रतिबन्ध लगाएका छौं, सटर हालेकालाई भत्काएर काठ राख्न भनेका छौं ।’

बजार क्षेत्रमा गाउँपालिकाले हरेक पसलका अगाडि एक–एक वटा टेबुल र दुई वटा कुर्सी एकै साइज (२.५x३ मिटर) र रङ्गका राखिदिएको छ । त्यहाँ पर्यटकहरू आएर बस्ने, फोटो खिच्ने गर्छन् ।

गाउँपालिकाले स्थानीय पर्यटन विकास समिति, रेवान तथा होटल व्यवसायीहरूसँग मिलेर पर्यटकलाई आकर्षित गर्न विभिन्न कार्यक्रम गरिरहेको छ । बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले बन्दीपुर आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सांस्कृतिक पहिचानसहित मनोरञ्जनात्मक कार्यक्रम गरेर पर्यटकलाई आकर्षित गर्न सांस्कृतिक घरसहितको समूह तयार गर्ने काम अगाडि बढेको बताए ।

पर्यटक आगमनको अवस्था

कोरोना महामारी र भूकम्प अगाडिको जस्तो पर्यटक भने बन्दीपुरमा नआएको होटल व्यवसायीहरु बताउँछन् । बन्दीपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष वयस गुरूङ्ग भूकम्प र कोरोना पछि अपेक्षाकृत पर्यटक नआएको बताउँछन् । गाउँपालिकाका अनुसार भूकम्प र कोरोना भन्दा अगाडि दैनिक ५ सय पर्यटक बन्दीपुर आउने गरेको अहिले दैनिक ३ सयदेखि ३५० जनासम्म आउने गरेका छन् । भूकम्प अगाडिसम्म ६० प्रतिशत विदेशी ४० प्रतिशत नेपाली पर्यटक आउने गरेकोमा अहिले ७० प्रतिशत नेपाली र ३० प्रतिशत विदेशी पर्यटक आउने गरेका छन् ।

आन्तरिक पर्यटकमा सबैभन्दा बढी काठमाडौंबाट ४० प्रतिशत, पोखराबाट २० प्रतिशत, बुटवल र चितवनबाट आउने गरेका छन् । बन्दीपुर गाउँपालिकाका विभिन्न वडामा १२ वटा समूहले होमस्टे चलाएका छन् । तीमध्ये ५ वटा बजार क्षेत्र वरपर नै छन् । बजार क्षेत्रको वडा नं. २ र ४ मा मोहरीया, बन्दीपुर, विन्दवासिनी, तीनधारा र बन्दीपुर पाहुना घर होमस्टे चलेका छन् । एउटा समूहमा १० वटासम्म घर छन् । बजार क्षेत्र बाहेक वडा नं. ३ को रामकोट, वडा नं. ६ को धरमपानी, कमलवारी र डाँडाछाप लगायतका ठाउँमा होमस्टे छन् ।

बन्दीपुर घुम्न आउने पर्यटकलाई स्थानीय उत्पादन खुवाउने र संस्कृति देखाउने उद्देश्यले होमस्टे प्रवर्द्धनमा जोड दिएको गाउँपालिका अध्यक्ष थापाले बताए । उनका अनुसार एउटा होमस्टे समूहमा ४० देखि १ सय जनासम्म बस्न मिल्छ ।

होमस्टेमा बसेको र खाएको एक रातको जम्मा ८ सय रुपैयाँ तिरे पुग्ने अध्यक्ष थापाले जानकारी दिए  । ‘राति लोकल कुखुराको मासुसहितको खाना खाएर, एट्याच ट्वाइलेट बाथरुमसहितको कोठामा बसेर, बिहान कोदोको रोटीसहितको नास्ता खाएर जम्मा ८ सय दिए पुग्छ,’ अध्यक्ष थापाले भने, ‘जाने बेलामा स्थानीय महिला दिदी–बहिनीहरुले फूलमाला र टीका लगाएर विदाइ गर्नुहुन्छ ।’ बन्दीपुरमा ३० वटा होटल, ४० वटा रेष्टुरेन्टहरू पनि छन् । एक रातमा होटल र होमस्टे गरेर बजार क्षेत्रमा १५०० जनासम्मलाई राख्न सक्ने क्षमता छ ।

सुत्न मिल्ने केबलकार सन्चालनको तयारी

गाउँपालिकाले पछिल्लो समयमा उज्यालो बन्दीपुर अभियान अन्तर्गत बजार क्षेत्रका विभिन्न ठाउँमा आकर्षक सडक वत्तीहरू राख्ने अभियान चलाएको छ । बजारका विभिन्न ठाउँमा बन्दीपुरे ढुंगा छाप्ने कामलाई पनि गाउँपालिकाले प्राथमिकतामा राखेको छ ।

निर्माणधीन केबलकार पनि बन्दीपुरको अर्को आकर्षणको केन्द्र बन्ने देखिएको छ । गाउँपालिकाको ५० लाख लगानी रहेको केबलकार आगामी वैशाखबाट सञ्चालनमा आउने लक्ष्य लिइएको छ ।

बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले तीन अर्ब रूपैयाँ लगानीमा केबलकार, रेष्ट्रो–कार र तारे होटल बनाइरहेको छ । केबलकारभित्रै सुत्न र खान पाइने व्यवस्थासहित साँझ ६ बजेबाट राति ९ बजेसम्म केबलकार चल्ने छ भने साधारण रुपमा बिहान ६ बजेबाट साँझ ६ बजेसम्म चल्ने छ । बन्दीपुर जाने सडकलाई विस्तार गरेर कालोपत्रे गर्ने तयारी पनि भैरहेको छ ।

विभिन्न निकायसँग बजेट माग

गाउँपालिकाले विभिन्न सरकारी निकायसँग बजेट माग गरेको छ । गाउँपालिकाले नेपाल पर्यटन बोर्डसँग उज्यालो बन्दीपुर कार्यक्रमका लागि ३० लाख, ढुंगा छाप्ने लगायतका कामका लागि ५० लाख, घुम्न जाउँ है बन्दीपुर भन्ने कार्यक्रम प्रवर्द्धन गर्न २० लाख, शहरी विकास मन्त्रालयसँग बन्दीपुर रिङ्ग रोडका लागि ८ करोड, मुकुन्देश्वरी पदमार्गका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग १९ करोड बजेट माग गरेको छ ।

बन्दीपुरको टुँडिखेलमा पार्क बनाउन ५० लाख, थानीमाई डाँडामा रक गार्डेनका लागि १ करोड, तीनधारा क्षेत्रमा बोटानिकल गार्डेन बनाउन १ करोड रकम संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयसँग लागत इष्टिमेटसहित बजेट माग गरिएको गाउँपालिका अध्यक्ष थापाले बताए । ‘सम्वन्धित मन्त्रीलाई नै भेटेर बन्दीपुरको विकासमा टेवा पुग्ने गरेर बजेट माग गरिएको छ,’ थापाले भने ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?