+
+

चक्रपथको दोस्रो खण्डको डिजाइन हुँदै, बालाजुमा ओभरपासको प्रस्ताव

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ फागुन १२ गते ८:१०

११ फागुन, काठमाडौं । कलंकी–सातदोबाटो–कोटेश्वर खण्डको विस्तारपछि अब कलंकी–बालाजु–महाराजगञ्ज चक्रपथ खण्ड विस्तारको डिजाइन कार्य अघि बढ्ने भएको छ । यो खण्डको विस्तार चीन सरकारले आफ्नै लगानीमा गर्ने योजना छ भने नेपाल सरकारले सर्भिस ट्रयाक बनाउने र अन्य सहजीकरणको काम गर्नेछ ।

स्वयम्भू क्षेत्रमा उत्पन्न स्तुप सार्ने वा नसार्ने भन्ने विवादलाई वैकल्पिक डिजाइनका क्रममा उपायद्वारा सल्टाउने गरी चिनियाँ पक्षसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समझदारी गरेको छ । स्वयम्भूमा सडकको चौडाइ सानो बनाउन ‘ग्रिन बेल्ट’को आकार घटाएर डिजाइन गर्ने समझदारी भएको छ ।

यसअनुसार अब यो खण्डको विस्तारका लागि चिनियाँ पक्षले डिजाइनलाई अन्तिम रुप दिने गरी काम थाल्ने छ । चीनले नेपाल सरकारले साइट उपलब्ध गराउन पूर्वतयारी नसकेको भन्दै काम थाल्न नमानेपछि करिब साढे ४ वर्षदेखि चक्रपथ विस्तारको परियोजना अलमलमा छ ।

उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत छन सोङले बिहीबार चक्रपथको प्रस्तावित विस्तार क्षेत्रको अनुगमन गरेका छन् । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह पनि मन्त्री र राजदूतसँगै थिए । यस क्रममा केही ठाउँमा १५–२० वटा पोल सार्न बाँकी भेटियो । कार्यकारी निर्देशक घिसिङले पोल सार्न भविष्यमा बन्ने सडकको तहबारे जानकारी नहुँदा समस्या भएको बताए ।

अनुगमनपछि मन्त्री श्रेष्ठले बीचमा धेरै समय काम रोकिएको भन्दै चिनियाँ राजदूत सँग छलफल भएको र छिटो काम अघि बढाउने समझदारी भएको जानकारी दिए । समस्या पहिचान गरेर गम्भीरतापूर्वक अध्ययन गर्ने उनको भनाइ थियो । केही साना मन्दिर सार्ने गरी हटाउने सहमति भएको भन्दै मन्त्री श्रेष्ठले अधिकांश पूर्वतयारीका काम काम सकिएकाले छिट्टै काम सुरु हुने दाबी गरे ।

उनका अनुसार चक्रपथ विस्तारको कलंकीदेखि धोबिखोला (गोपीकृष्ण)सम्मै गरिदिन चीनलाई आग्रह गरिएको छ । महाराजगञ्जको नारायणगोपाल चोक क्षेत्रमा घरमा मुआब्जा विवाद भएकाले समस्या छ । त्यसैकारण चिनियाँ पक्ष यसमा तयार भएको छैन ।

अहिले पनि चिनियाँ प्राविधिक टोलीले काठमाडौं चक्रपथको कलंकी–महाराजगञ्ज–धोबीखोला खण्डको स्थलगत अध्ययनमा छ ।

मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालका अनुसार चिनियाँ पक्षले निर्माण अघि बढाउन कुन–कुन ठाउँमा समस्या छ भनेर केही दिनमै प्रतिवेदन दिनेछ । त्यसका आधारमा समस्या सल्टाएर डिजाइन बनाउजे र स्वीकति गर्ने प्रक्रिया अघि बढ्ने गरी समझदारी भएको छ ।

‘उपप्रधानमन्त्रीज्युले स्थललगत रुपमै गएर अध्ययन गरेपछि यसमा सरकारको उच्च चासो छ भन्ने सन्देश गएको छ,’ नेपालले भने,‘अब छिट्टै विस्तारको काम थाल्न सकिन्छ भन्नेमा विश्वस्त छौं ।’

लामो समयदेखि अल्झिएको यो खण्ड ८ लेनमा विस्तार गर्न चीन सरकारले नै ठेकेदार छनोट गरेर पठाउनुपर्छ । चक्रपथ विस्तार आयोजनाले १४ जेठ २०७५ मा सूचना जारी गर्दै यो खण्डमा सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन भनेको थियो ।

सरकारले २०७६ पुस १८ गते यो खण्डको सडक सीमा ३१–३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि स्वीकृति दिएको थियो । तर, साइट क्लियरेन्समा ढिलाइ भएपछि काम अघि बढाउन चीनले आनाकानी गर्दै आएको छ ।

सडक सुरक्षा विज्ञ, साइकल प्रवर्द्धनका अभियन्ता, नागरिक समाज र सर्वसाधारणले चक्रपथ थप विस्तारको तयारी अघि बढ्दा पनि सडकको डिजाइन सार्वजनिक हुनुपर्ने र त्यसमाथि खुला छलफल हुुनुपर्ने माग गर्दै आएका छन् ।

चक्रपथको कलंकी–सातदोबाटो–कोटेश्वर खण्डजस्तै चीनको डिजाइनलाई जस्ताको तस्तै स्वीकारेर त्रुटिपूर्ण र अव्यवहारिक रुपमा दोस्रो खण्ड विस्तार गरिने आशंका उनीहरूलाई छ ।

तर, सडक विभागले अध्ययनका क्रममा नै चीनलाई चक्रपथलाई व्यवहारिक, वैज्ञानिक र सवारी तथा पैदलयात्रुमैत्री बनाउन विभिन्न सुझाव भने दिएको छ । चीनका तर्फबाट विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) आएपछि त्यसबारे सुझाव लिएर परिमार्जनसहित निर्माणको काम अघि बढाउने योजना छ ।

मुख्य रुपमा क्रसिङ र चोकहरुमा सहजै सवारी वारपार गर्न सक्ने गरी व्यवस्थित गर्न डिजाइनमै ध्यान दिइने विभागले बताउँदै आएको छ । मुख्य गरी बालाजु–बसपार्क क्षेत्रमा सवारीको ‘ओभरपास’ बनाउनुपर्ने र ठाउँ–ठाउँमा आकाशेपुलसहितका अन्य पूर्वाधार बनाउनुपर्ने पक्षमा सरकार छ । चीनले गर्ने डिजाइनमा नै त्यसलाई राख्न सरकारले चीनलाई प्रस्ताव गरेको छ ।

विस्तारित कलकी–सातदोबाटो कोटेश्वर खण्डमा चीन सरकारले दिएको डिजाइन नै स्वीकृत गर्दा अनेकन प्राविधिक र सुरक्षात्मक त्रुटि देखिएका थिए । जसका कारण बनाएर सक्नासाथ विभिन्न सुधारका काम गर्नुपरेको थियो । अहिले त्यो त्रुटि नदोहोर्याउन आवाज उठेको छ ।

तस्वीर : नितेश शर्मा

 

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?