+
+

‘नेतृत्व चेतना भएको होइन, कठपुतली नेविसंघ चाहन्छ’

आज नेविसंघ पार्टीका नेताको रुचि अनुसार चलेको छ । नेतृत्व चेतना भएको हैन, कठपुतली नेविसंघ चाहन्छ । हरेक स-सानो विषयमा पार्टीको हस्तक्षेपले नेविसंघको प्राकृतिक स्वभावमा ह्रास आएको छ, स्वायत्तता खोसिएको छ ।

एलिजा ढकाल, नेता, नेविसंघ एलिजा ढकाल, नेता, नेविसंघ
२०७९ फागुन १५ गते ९:२९

नेपाल विद्यार्थी संघलाई नेपाली कांग्रेसको भ्रातृ संगठनको रूपमा मात्रै हेर्नु अपूर्ण हुन्छ । नेविसंघ नेपाली कांग्रेसको नर्सरी मात्रै हैन, नेतृत्वको विकासको अभ्यास गर्ने थलो पनि हो । नेविसंघ पार्टी नेतृत्व निर्माणको जग हो ।

कांग्रेसको नेता उत्पादनको जगका रूपमा रहेको नेविसंघको कलम मसाल अङ्कति झण्डा मुनि रहेर संगठन गर्दा गौरवानुभूति हुन्छ । तर, आज नेपाली कांग्रेसको नर्सरी बिरुवाविहीन भएको छ । आज विद्यार्थी राजनीति गरिरहेको एउटा विद्यार्थीलाई किन राजनीतिमा छु भन्ने लाग्छ ।

आजको नेविसंघ समस्याग्रस्त छ । समयमा महाधिवेशन नहँुदा नेतृत्व विकास ठप्पप्रायः छ । नेतृत्व परिवर्तन नहुनु र पार्टीका नेताहरूको अनावश्यक हस्तक्षेपले ‘नेता उत्पादन गर्ने कारखाना’ भनिने यो संस्था गतिहीन बन्न पुगेको छ । ओज खस्किंदो छ र संरचना कमजोर हुँदै गइरहेकोे छ ।

विद्यार्थी संगठन र विद्यार्थी राजनीति भन्ने बित्तिकै आम मानिसमा ढुंगामुढा, तोडफोड गरिरहेको तस्वीर आउँछ । त्यसैले हामीले आम मानिसको आँखामा बसेको यो तस्वीर बदल्नुपर्छ । बदलिंदो समय अनुसार नागरिकको बुझाइमा परिवर्तन गराउने जिम्मेवारी अहिलेको पुस्ताले लिनुपर्छ ।

स्थापनाकालदेखि आजसम्म नेविसंघको तस्वीर हेर्ने हो भने त्यसमा तुलनात्मक रूपमा निकै भिन्नता देख्न सकिन्छ । नेविसंघले आफ्नो क्रान्तिकारिता नै गुमाएको छ भन्दा पनि अन्यथा हुँदैन । संस्थामा गतिशीलता पटक्कै देखिन्न ।

२०२७ सालमा नेविसंघ स्थापना हुँदा देशले पञ्चायत भोगिरहेको थियो । दलका नेताहरू निर्वासित भएको कठिन अवस्थामा गठन भएको नेविसंघले व्यवस्था परिवर्तनमा उल्लेखनीय भूमिका खेल्यो । माउ पार्टी प्रतिबन्धित हुँदा दल सरह आफ्नो भूमिका निर्वाह गरेको इतिहास छ । त्यससमय संघको हैसियत पार्टीकै बराबर थियो ।

२०२७ सालपछिका हरेक राजनीतिक परिवर्तनमा, संघर्षमा नेविसंघ अग्रमोर्चामा रहृयो । परिवर्तनको लागि लड्यो । २०३५/३६ सालको जनमत संग्रह, २०४६ सालको लोकतन्त्र पुनस्र्थापना, २०६३ सालको गणतन्त्र प्राप्तिको संघर्षमा सडकमा नेविसंघले कतिपय बेला पार्टीकै नेतृत्व गरेको थियो भन्नु अनुपयुक्त हुन्न ।

हामी नेविसंघको राजनैतिक संघर्षको गाथा मात्रै सुन्छौं/भन्छौं । नेविसंघले चेतनाको बिगुल पनि फुकेको थियो । आज जस्तो हातहातमा मोबाइल नभएको विकास र प्रविधि नै नपुगेका देशका कुना-कन्दरामा नेपाली कांग्रेसले प्रजातन्त्रको चेतना विद्यार्थीमार्फत नै पुर्‍यायो ।

समय परिवर्तन भएसँगै विद्यार्थी राजनीति आवश्यक छैन, यसको काम सकियो भन्ने तर्कहरू पनि यदाकदा सुन्न पाइन्छ । विद्यार्थी संगठनको भूमिका कमजोर भएका कारण यी र यस्ता प्रश्न उठेका हुन् । भ्रातृ संगठन नेतृत्व विकासको निम्ति अपरिहार्य छ । विद्यार्थी राजनीतिको औचित्य सकिएको छैन । तर, औचित्य पुष्टि गर्न बोलेर मात्रै पुग्दैन ।

लामो समयदेखि नेविसंघमा आवद्ध छौं । संगठनलाई मजबुत बनाउन हरसम्भव प्रयास गरिरहेका छौं । देशको सबैभन्दा ठूलो लोकतान्त्रिक दलको भ्रातृ संगठनमा चुनावी प्रतिस्पर्धा गर्ने अधिकार समेत छैन । लोकतान्त्रिक दलको अलोकतान्त्रिक प्रक्रिया भोग्नुपर्दा आत्मग्लानि हुन्छ

नेविसंघलाई नेतृत्वमा अगाडि लैजाने बाटोमा पार्टीले सहजीकरण गर्नु भन्दा पनि हस्तक्षेपकारी भूमिका हुँदै आएको छ । सानो तहबाट माथि उठ्दै नेविसंघबाट पार्टीको राजनीतिमा उल्लेखनीय भूमिका निर्वाह गरेका नेताहरू मेरो पुस्ताले देख्न पायो । हामीले पनि केही हदसम्म नेतृत्व अभ्यास गर्न पाएकोले नेविसंघको महत्व कति छ भन्ने महसुस गर्न सकेका हौं । हामीले नयाँ पुस्तालाई इतिहास मात्रै घोकाएका छौं, नेविसंघ के हो देखाएर बुझाउन सकेका छैनौं ।

विद्यार्थी राजनीति चरमोत्कर्षमा रहेको समय मेरो पुस्तासम्मले देख्न पायो । विद्यार्थी राजनीतिको साख निरन्तर घटिरहेको छ । नेविसंघको काँधमा विद्यार्थी संगठनको साख जोगाउने जिम्मेवारी पनि छ । नेविसंघले कलम र मसाल झण्डामा मात्र बोक्दैन चरित्र र स्वभावमा पनि बोक्छ । चेतना र क्रान्तिकारिता नेविसंघको स्वभाव हो । नेविसंघ त यस्तो संगठन हो, जसले गलत काम गरेको खण्डमा पार्टीको विरुद्ध पनि मसाल उठाएको इतिहास सुनेर हामी हुर्कियौं ।

तर, विडम्बनै भन्नुपर्छ आज नेविसंघ पार्टीका नेताको रुचि अनुसार सञ्चालित छ । पार्टी नेतृत्व चेतना भएको नेविसंघ हैन, कठपुतली संघ चाहन्छ । पार्टीका नेताहरूको नेविसंघभित्रका हरेक सानो विषयमा हस्तक्षेपले नेविसंघको प्राकृतिक स्वभावमा ह्रास आएको छ । मेरो पुस्ताले देख्दा नै नेविसंघको स्वायत्तता खोसिएको छ ।

नेविसंघ आफ्नो मनोभावमा, निर्णयका आधारमा हैन पार्टीका नेताहरूको निर्देशनमा चल्छ । महाधिवेशन समयमा नहुनु र भागबण्डामा संगठन चल्नुको दुष्परिणामले नेविसंघको चरित्र बदलिएको छ । भागबण्डामा संगठन चल्ने बित्तिकै नेताको नजिक हुनुपर्ने बाध्यता हुन्छ । नेताको विरुद्ध बोल्ने बित्तिकै केही बन्न नसकिने भय संघमा आवद्ध नेता-कार्यकर्तामा छ ।

लामो समय संगठनमा लगानी गरेर केही नबनी बाहिरिन भन्दा नेताको नजिक रहेर पद पाउनुपर्ने बाध्यता नेविसंघका नेताहरूमा छ । पार्टीका नेताहरू यसमै रमाइरहेका छन् । दुःखको कुरा अझ यो छ कि आज पार्टी उहाँहरूले नै चलाइरहनुभएको छ, जो नेविसंघकै जगबाट यहाँसम्म आउनुभएको हो ।

नियमित समयमा महाधिवेशन नहुँदा ‘नेतृत्व विकास’ जाममा परेको छ । पाँच वर्षदेखि संघले महाधिवेशन गर्न सकेको छैन । मेरै सन्दर्भमा पनि पाँच वर्ष भूमिकाविहीन भएर बस्नुपर्‍यो । तर पनि, नेविसंघको गरिमा जोगाउन लागिरहें । मैले सदस्यता लिएको समयदेखि आजसम्म सँगसँगै संगठनमा प्रवेश गरेर भूमिकाविहीन बनेका साथीहरूमा निराशा छ ।

संगठन निर्माण तथा शैक्षिक मुद्दा उठाउन जिम्मेवारीले अर्थ राख्ने रहेछ । संगठन गतिहीन हुँदा वितृष्णा उत्पन्न भई बाटो परिवर्तन गर्ने साथीहरूको संख्या बढ्दो छ । तलब-भत्ता दिनुपर्ने होइन पदीय जिम्मेवारी देऊ भन्दा समेत पार्टी नेतृत्वले सुनेको नसुन्यै गरेको छ । कांग्रेसलाई बलियो बनाउन तथा शैक्षिक समस्यामाथि संगठित आवाज उठाउँछौं भनेर होमिएका साथीहरू, सबै जिम्मेवारीविहीन छन् ।

पार्टी नेतृत्वले लामो समयदेखि संगठन विस्तार गर्न पनि आफ्नै अंश काटेर दिनुपर्ने जस्तो गाह्रो मानिरहेको छ । धेरै कमि-कमजोरीहरूको भारी बोकेर हिंड्दा नेविसंघ कमजोर भएको छ । नेविसंघमा २०२७ सालदेखि २०७९ सालसम्म आइपुग्दा समेत आजसम्म नेविसंघले छात्रा सभापति पाउन सकेको छैन । राज्यले समावेशिताको मुद्दा सम्बोधन गरिरहँदा लोकतान्त्रिक दलले छात्राप्रतिको पुरानो नजरलाई परिवर्तन गर्न सकेको छैन । छात्राहरूले पनि नेतृत्व गर्न सक्छन् भन्ने कुरा हाम्रो नेतृत्वले पत्याएकै छैन ।

चेतनाले भरिएको यति ठूलो संगठनमा छात्राहरूको प्रतिनिधित्व सीमित संख्यामा हुँदै आएको छ । तदर्थ समिति गठन नहुँदा त्यही सीमित संख्याले समेत प्रतिनिधित्व गर्न नपाउने अवस्था छ । चुनावबाट निर्वाचित भई नेतृत्वमा स्थान बनाउन प्रयत्न गर्नलाई महाधिवेशन नै हुँदैन । तदर्थ समितिको नेतृत्व प्रदान गर्न पार्टी नेतृत्वले छात्रालाई पत्याउँदैन ।

लामो समयदेखि नेविसंघमा आवद्ध छौं । संगठनलाई मजबुत बनाउन हरसम्भव प्रयास गरिरहेका छौं । देशको सबैभन्दा ठूलो लोकतान्त्रिक दलको भ्रातृ संगठनमा चुनावी प्रतिस्पर्धा गर्ने अधिकार समेत छैन । लोकतान्त्रिक दलको अलोकतान्त्रिक प्रक्रिया भोग्नुपर्दा आत्मग्लानि हुन्छ ।

(ढकाल स्ववियु निर्वाचनका लागि नेविसंघद्वारा गठित केन्द्रीय प्रशिक्षण समितिकी संयोजक हुन् । अनलाइनखबरका लागि लिलु डुम्रेले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?