+
+

कास्कीमा ६ महिनामै बलात्कारका ३५ उजुरी

विकास रोकामगर विकास रोकामगर
२०७९ फागुन १५ गते १९:५८

१५ फागुन, पोखरा । पोखराको लेकसाइड, शान्तिनगरबाट बहिनीसँग छुट्टिएपछि ‘पोखरा १७’ (परिवर्तित नाम) बगरस्थित डेरासम्म पुग्न ट्याक्सीको पर्खाइमा हुन्छिन् । त्यतिबेला एउटा निजी कार उनको अगाडि आइपुग्छ र चालकले डेरासम्म पुर्‍याइदिने आश्वासन दिन्छन् ।

उनी त्यसमा बस्छिन् । तर, कार उनको डेरातर्फ जँँदैन, माछापुच्छ्रे गाउँपालिकातिर सोझिन्छ । डेरा हिँडेको गाडी अन्तै मोडिएपछि उनले विरोध जनाइन् तर केही सीप लागेन ।

१४ फागुनको बिहान करिब ५ बजे अपहरणमा परेकी ‘पोखरा १७’ माछापुच्छ्रे गाउँपालिका ३, घाचोकस्थित एक बंगुरफार्ममा करिब ३३ घण्टा बन्धक बनिन् । त्यहाँ डर, धम्की देखाएर ७ जनाले जबर्जस्ती करणी गरे ।

१५ गते साँझ जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणीको जाहेरी दिएपछि अहिले उक्त घटनामा संलग्न ७ जना पक्राउ परेका छन् । असोज ६ गते जिल्ला अदालत कास्कीको आदेशअनुसार पुर्पक्षका लागि थुनामा गएका उनीहरुको मुद्दा विचाराधीन छ ।

०००

गएको असोज १९ गते कास्कीको छोरेपाटनमा ७ वर्षीया एक नाबालिग बलात्कृत भइन् । साँझ करिब ६ बजेको आसपासमा ६६ वर्षीय जर्मन नागरिक इवाल्ड पंक्रज मिठाइ, चकलेटजस्ता खानेकुरा दिएर ललाइफकाइ जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई पनि जिल्ला अदालत कास्कीको कात्तिक ३ गतेको फैसलाले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

उल्लिखित घटना चालु आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएका जबर्जस्ती करणीका प्रतिनिधि उदाहरण हुन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्म कास्कीमा ३१ वटा जबरजस्ती करणीका घटना दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म करणीसम्बन्धी ४५ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये जबरजस्ती करणीका ३१, जबरजस्ती करणी उद्योगका ४, अप्राकृतिक मैथुन एक र बालयौन दुरुपयोगका ९ वटा घटना दर्ता भएका छन् ।

जबरजस्ती करणी घटनाको पछिल्लो तीन वर्षको तथ्यांक नियाल्ने हो भने पछिल्ला वर्षहरुमा जबर्जस्ती करणीको घटना बढ्दै गइरहेको देखिन्छ । अघिल्लो आर्थिक वर्षभरीमा ६४ वटा उजुरी दर्ता भएकोमा चालु आर्थिक वर्षको ६ महिनामै ३१ वटा घटना दर्ता भइसकेका छन् । पछिल्लो ४ वर्षमा सबैभन्दा बढी जबर्जस्ती करणीको उजुरी दर्ता भएको पनि त्यही हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक श्रीराम तिमिल्सिनाका अनुसार आर्थिक वर्ष ०७६/७७ मा ६३ वटा उजुरी दर्ता, ०७७/७८ मा ५८ जबर्जस्ती करणीका उजुरी दर्ता भएका थिए । पछिल्लो ४ वर्षमा सोही आर्थिक वर्षमा नै सबैभन्दा बढी अप्राकृतिक मैथुनका घटना पनि दर्ता भएको थियो ।

जबरजस्ती करणी उद्योगतर्फ भने सबैभन्दा बढी आर्थिक वर्ष ०७६/७७ मा दर्ता भएका छन् । उक्त आर्थिक वर्षमा २६ वटा जबर्जस्ती करणी उद्योग दर्ता हुँदा सबैभन्दा कम चालु आर्थिक वर्षमा दर्ता भएको छ । ‘यो वर्षमा ४ वटा केस जबर्जस्ती करणी उद्योग घटना दर्ता भएको छ’ प्रहरी निरीक्षक तिमिल्सिनाले भने ।

‘प्रविधिको दुरुपयोगले बलात्कार बढ्यो’

प्रहरी अधिकारीहरु सूचना प्रविधिको दुरुपयोगका कारण बलात्कार घटना बढेको बताउँछन् । ‘पछिल्लो समय आफूमाथि भएको घटनाको रिपोर्टिङ गर्ने क्रम बढेको छ । ‘पहिलेजस्तो अहिले गुपचुप बस्नुहुँदैन भन्ने चेतना बढ्दै गएको छ’, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विक भन्छन्, ‘यसले पनि पछिल्लो केही वर्षहरुमा मुद्दाको संख्या बढेको आँकलन गर्न सकिन्छ ।’

डीएसपी विकका अनुसार बलात्कारजन्य घटना घट्नुको अर्को कारण भने सामाजिक सञ्जाललगायत प्रविधिमा सहज पहुँच हो । समाज खुला हुँदै जाँदा पनि सोहीअनुसार मनोविज्ञानमा परिवर्तन हुन नसक्दा घटना वृद्धि हुन जाने डीएसपी विकको भनाइ छ । ‘अहिले प्रविधिले सबैलाई नजिक बनाइदिएको छ । छोटो समयमै परिचय, छिट्टै विश्वास गर्ने परिपाटीले पनि घटनाहरु घटेको देखिन्छ’, उनी भन्छन् ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?