
१६ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकाले महानगरभित्रका तीन स्थानमा विपद् व्यवस्थापन उपकेन्द्र खोल्ने तयारी गरेको छ । महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले ती उपकेन्द्र खोल्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
शहरीकरणसँगै बढ्दै गएको जनघनत्वका कारण शहरको व्यस्तता छिचोलेर प्रकोप भएको ठाउँमा एम्बुलेन्स, दमकल पुग्न गाह्रो हुने भएकाले महानगरभित्रका अन्य तीन स्थानमा उपकेन्द्र खोल्ने तयारी गरेको महानगर प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।
‘पुल्चोक स्थित दमकल चोकमा रहेको मुख्य केन्द्रमा उपकरणहरु थप्दै जान्छौं’ मेयर महर्जनले भने । वडा नं.२२ स्थित बुङ्मती, वडा नं. ८ स्थित गुइत दोमार र धापाखेलमा यस्तो उपकेन्द्र खोल्ने तयारी रहेको उनले बताए ।
‘बुङ्मती र गुइत दोमारमा थाई सरकारले डीआरआर सेन्टर बनाइदिएको छ, अब त्यहाँ अन्य आवश्यक सामग्रीहरु थप्दै जानेछौं’ महर्जनले भने । धापाखेलमा भने पूर्वाधार नै तयार गर्नुपर्ने उनको भनाइ थियो ।
पुल्चोक स्थित दमकल चोकमा अहिले नगरप्रहरी, एम्बुलेन्स, दमकल र विपद्को बेला आवश्यक पर्ने सामग्रीहरु राखिएको महानगरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4