+
+

दशरथ रंगशालाको विकल्पमा तयार भयो च्यासल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १६ गते २०:१३

१६ फागुन, काठमाडौं । दशरथ रंगशालाको विकल्पका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)को लगानीमा सुरु भएको च्यासल रंगशाला स्तरोन्नत्तिको काम पाँच वर्षपछि सम्पन्न भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार च्यासल रंगशालाको उद्घाटन गरेका छन् ।

अखिल नेपाल फुटबल संघले भोगचलनको अधिकार लिएर च्यासलमा टेक्निकल सेन्टर स्थापना गरेको हो । त्यसलाई रंगशालाको स्वरुप दिएर बैकल्पिक मैदानका रुपमा तयार गर्ने गरी राखेपले २०७६ असारमा डाँफे प्रेरणा प्रतिष्ठा जेभीसँग सम्झौता गरेको थियो ।

डाँफे जेभीले दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरे पनि ६ महिनाका दरले ६ पल्ट म्याद थपेर २०७९ असोज अन्तिममा राखेपलाई हस्तान्तरण गरेको हो । ललितपुर महानगरपालिका ९ स्थित मनोहरा खोलाको किनारमा रहेको च्यासल मैदानलाई स्तरोन्नत्ति गरी ८ हजार दर्शक क्षमताको बनाइएको छ ।

डाँफे जेभीले सुरुमा १० हजार क्षमताको प्यारापिट रहने गरी ३३ करोड लागतमा सम्झौता गरेको थियो । तर, मनोहरा करिडोरको मापदण्डअनुसार खोलाबाट कम्तिमा २० मिटर दूरीमा संरचना बनाउन नपाइने भएपछि रंगशालाको दर्शक क्षमतासँगै लागत मूल्य पनि घटेको छ ।

यो रंगशाला पुनर्निर्माणका लागि २८ करोड रुपैयाँ (भ्याटबाहेक) खर्च भएको राखेपले जानकारी दिएको छ । ‘मनोहरा करिडोरका कारण पूर्वतर्फ चार कोठा र पूर्वतर्फ दुई कोठाको संरचना नक्साबाट हटाउनुपर्यो,’ पुनर्निर्माण सुरु भएदेखि च्यासलमा कार्यरत राखेपका साइट इन्जिनियर पूर्ण सुन्दासले अनलाइनखबरसँग भने, ‘त्यसैले लागत पनि घटेको हो ।’

प्रधानमन्त्रीले उद्घाटन गरेसँगै यो रंगशालामा १९ फागुनदेखि सुरु हुने शहीद स्मारक ए डिभिजन लिग फुटबलका खेलहरु सन्चालन गर्ने एन्फाको तयारी छ । एन्फाले ठूला अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका खेलहरु सन्चालन गर्ने तथा अभ्यासस्थलका रुपमा सन्चालन गर्ने विकल्पका रुपमा पनि च्यासललाई प्रयोग गर्न पाउनेछ । रंगशालाको भोगचलन र मर्मतसम्भारको अधिकार एन्फाले पाएको छ ।

रंगशालाको पूर्व र पश्चिमतर्फ तीनतल्ले नयाँ प्यारापिट निर्माण भएको छ । दक्षिणतर्फ रहेको प्यारापिट स्तरोन्नत्ति गरिएको छ । हरेक प्यारापिटमा एक–एक शौचालय निर्माण भएका छन् । दक्षिणतर्फका दुईतल्ले प्यारापिटमूनि दुवै तल्लामा शौचालय, चेन्जिङ रुम, रेफ्री रुम, मेडिकल रुम र मिडिया सेन्टर निर्माण भएका छन् ।

१२० मिटर लम्बाई र ७० मिटर चौडाईको मैदान ए डिभिजन लिगका लागि तयार पारिएको छ । यो मैदानमा दुई वर्षअघि नै अत्याधुनिक बर्मुडा ग्रास रोपिएको हो ।

भूकम्पका कारण दशरथ रंगशालामा क्षति पुगेपछि च्यासल मैदानलाई स्तरोन्नत्ति गरी कृत्तिम घाँसे मैदानसहितको रंगशाला निर्माण गर्न राखेप र युवा तथा खेलकुद मन्त्रालयले पहल गरेको थियो । तर, त्यस क्षेत्रमा कृतिम मैदान दीर्घकालीन रुपमा अनुपयुक्त रहेको भन्दै पूर्ववत योजना स्थगित गरी प्राकृतिक दुबोसहितको रंगशाला स्तरोन्नत्तिको लागि डाँफे जेभीसँग सम्झौता भएको हो । यो रंगशालामा १३औं दक्षिण एसियाली खेलकुदको हकी खेल सञ्चालन गर्ने राखेपको योजना थियो । तर, निर्धारित समयमा निर्माण सम्पन्न नहुँदा सागबाट हकी खेल नै हटाइयो ।

यो क्षेत्र अखिल नेपाल फुटबल संघ एन्फाले २०५९ सालदेखि नै प्रयोग गर्दै आएको छ । ललितपुर जिल्ला प्रशासन र स्थानीय च्यासल फुटबल क्लबसँगको सहमतिमा एन्फाले गोल प्रोजेक्टअनुसार टेक्निकल सेन्टर स्थापना गरेको थियो । २०६१ सालदेखि निर्माण सुरु भएको सेन्टरको उद्घाटन एसियाली फुटबल महासंघ एएफसीका तत्कालीन अध्यक्ष मोहम्मद विन हमामले गरेका थिए ।

मनोहराको बाढीबाट सधैंको जोखिम

मनोहरा खोला र बागमतीको संगमबाट करिव १०० मिटरको दूरीमा रहेको च्यासल मैदान मनोहरा खोलाकै किनारमा अवस्थित छ । रंगशालाको मुख्यद्वार पश्चिमतर्फ छ । २०७८ भदौ २२ र २०७९ साउन २५ गतेको बाढी रंगशालामा पसेको थियो ।

लगातार दुई वर्षसम्म एकै स्थानबाट पानी छिरेको थियो । जसले मैदानको ६० प्रतिशत दुवोमा क्षति पुगेपछि दोहोर्‍याएर काम गर्नुपरेको थियो । च्यासलको पूलनजिकैबाट रंगशालाको मुख्य द्वार हुँदै मैदानमा पानी छिर्ने समस्यालाई रोक्नका लागि मुख्य द्वारको दायाँबाया पर्खाल लगाइएको छ । यद्यपी यतिले मात्र बर्षाको समयमा हुनसक्ने क्षति रोकिने निश्चित छैन ।

राखेपका साइट इन्जिनियरले च्यासल पूलको पूर्व र पश्चिम दुवैतर्फ तीन तहको ग्याभिन भरेर सुरक्षित बनाउने प्रयास भएकाले आगामी दिनमा मनोहराको बाढी सिधै मैदानमै पुग्ने जोखिम कम हुने विश्वास गरेका छन् ।

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?