+
+

कसरी बनाइन्छ स्वादिलो सम्यबजी ?

रेणु त्वानाबासु रेणु त्वानाबासु
२०७९ फागुन १७ गते १४:२९

काठमाडौं । सर्वप्रिय नेवारी परिकार हो, सम्यबजी । सम्यबजी सेटमा करिब १० थरी परिकार हुन्छन् । यो नेपाल भाषा अर्थात् नेवारी शब्द हो । जहाँ बजीको अर्थ चिउरा हो । यसलाई सितन वा स्न्याक्स जस्तै पनि मान्ने गरिएको छ, जुन कुनै मुख्य भोजन अगाडि गरिन्छ ।

संस्कृतिविद्हरुका अनुसार हाम्रो शरीर जसरी पञ्चतत्वले बनेको छ, त्यस्तै सम्यबजीमा पनि पञ्च तत्वको जसरी समिश्रण गरिएको हुन्छ ।

के-के हुन्छन् परिकार ?

सम्यबजीमा बजी (चिउरा) त्यसमा पनि टाइचिन बजी अर्थात् विशेष स्वादिलो चिउरा, कालो भटमास, अदुवा, लसुन, छुयाला (मासुको परिकार), अण्डा, आलु, बोडी र अचार हुन्छ । यो मौलिक नेवारी सम्यबजीमा हुने परिकारहरु हुन् । तर आजभोलि अरु थप परिकारहरुमा पनि राखेर सम्यबजी बनाइन्छ ।

कसरी बनाएको हुन्छ ?

सम्यबजीमा राख्ने परिकार चार किसिमले बनाइएको हुन्छ । काँचो, उसिनेको, फ्राइ गरेको र भुटेको । चिउरा, हरियो लसुन, अदुवा र दाना लसुन काचो तोरीको तेलमा हालेर साधेको हुन्छ । कालो भटमास भुटेको हुन्छ । अण्डा उसिनेको वा भुजियाजस्तै बनाएको हुन्छ ।

छोयाला (छुयाला) पोलेर तोरीको तेल हालेर साधेको हुन्छ । त्यस्तै आलु, बोडी उसिनेर तेलमा फ्राइ गरेको हुन्छ भने अचार (नेवारी अचार) हुन्छ । गोलभेंडाको अचार हुँदैन ।

नेवारी अचारमा गाँजर, मुला, काँक्रो, सानो केराउ, लप्सी, खुर्सानी, प्याज सानो सानो टुक्रा गरेर मरमसला हालेर साधेर बनाएको हुन्छ । सम्यबजीको सबै परिकारमा भक्तपुरको लोकल शुद्ध तोरीको तेल प्रयोग गर्ने गरिन्छ ।

सम्यबजीको स्वाद मिश्रित हुन्छ । यसमा धेरै परिकार एकैसाथ हुने भएकाले यसको स्वाद पिरो, अमिलो, मीठो सबै हुन्छ । यसमा पिरो छुयालाको परिकार हुन्छ भने अमिलो अचार हुन्छ ।

कसरी राखेर खाने चलन छ ?

सम्यबजीका सबै परिकार एकैचोटि राख्ने गरिन्छ । जे जति खानाका परिकारहरु छन् ती सबै एकैचोटि टपरी वा प्लेटमा राखेर ‘सर्भ’ गर्ने चलन छ । जबकि भोजमा सबै परिकार एकैचोटि राखिंदैन । अलिअलि समयको फरकमा थपिंदै थपिंदै राख्न लगिन्छ । जस्तै पहिला चिउरा, काँंचो लसुन आदि राखेर खान दिन लगाइन्छ र पछि मात्रै खानाका अरु परिकारहरु राख्न लगिन्छ ।

कस्तो बेला खाइन्छ ?

नेवारी समुदायमा हरेक भोजमा सम्यबजी खाने चलन छ । चार्डपर्व, भोजमा सम्यबजी छुट्दैन । सरल भाषामा भन्ने हो सम्यबजी नेवार समुदायको ब्रेकफास्ट हो । भोज भनेको डिनर हो । सम्यबजी दिउँसो १२ देखि १ बजेसम्म खाने चलन छ भने भोज बेलुका ७ देखि ८ बजेसम्म खाने गरिन्छ । साथै सम्यबजीलाई जुठो मानिंदैन । किनकि सम्यबजी खाँदा एकैचोटि सबै राखेर खाइन्छ र थप्न पाइँंदैन ।

केमा राखेर खाने गरिन्छ ?

सम्यबजीलाई प्रसादको रुपमा हातमा राखेर थोरै पनि खाने चलन छ । त्यस्तै अर्को लप्टे (पातको टपरी) मा राखेर खाने गरिन्छ । अहिले भने प्लेटमा राखेर खाने चलन पनि बढ्दैछ ।

कति मूल्य पर्छ यसको ?

नेवारी भोजनालयहरुमा सम्यबजीको मूल्य सामान्यतया १०० देखि १५० रुपैयाँ पर्छ । परिकारको मात्रा अनुसार पनि यसको मूल्य फरक हुनसक्छ ।

पोषणको हिसाबले कस्तो हो ?

चिउरामा कार्बोहाइडे«ट हुन्छ भने छोयाला र अण्डामा प्रोटिन हुन्छ । अदुवाले पाचनशक्तिलाई बढाउँछ । लसुनमा भिटामिन ए, बी र सी तथा आयोडिन हुन्छ । बोडीमा पनि प्रोटिन र आइरन हुन्छ । यी सबै शरीरको लागि एकदम आवश्यक तत्व हुन् ।

(कुम्पाख खाजा घरका सञ्चालक तुलसीनारायण कुम्पाखसँगको कुराकानीमा आधारित)

लेखकको बारेमा
रेणु त्वानाबासु

अनलाइनखबरकी संवाददाता त्वानाबासु समाज र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?