+
+
Shares

स्वाद, कला र परम्पराको मिश्रण : जापानको चाखलाग्दो खाने संस्कृति

लीलानाथ घिमिरे लीलानाथ घिमिरे
२०८२ साउन ११ गते १२:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लेखकले जापानको खाने संस्कृतिमा रमाइलो अनुभव गर्दै रामेन, सुशी, टेम्पुरा, बेन्टो डब्बा र ओकोनोमियाकी जस्ता परिकारहरूको स्वाद लिएका छन्।
  • जापानी खानामा ताजा सामग्री, मौसमी उत्पादन र न्यूनतम मसला प्रयोग हुन्छ, र खानापूर्व \'इतादाकिमासु\' र पश्चात \'गोचिसोसामा\' भन्ने परम्परा छ।
  • जापानमा प्रविधिको प्रयोगले खाना सर्भ गर्ने प्रक्रिया छिटो र रमाइलो बनाएको छ, जसमा टचस्क्रिन अर्डर र रोबोट सेवा समावेश छन्।

जापानको मेरो यात्रा एउटा रङ्गीन सपना जस्तो छ, जहाँ हरेक पल नयाँ अनुभवको क्यानभासमा रङ्गिन्छ । आज म तपाईंहरूलाई जापानको खाने संस्कृतिको यात्रामा लैजान्छु– एक यस्तो संसार, जहाँ स्वाद र परम्परा एकसाथ नाच्छन् ।

जापानमा भेटिएका आत्मीय मनहरूले यो यात्रालाई विशेष बनायो । तीमध्ये मेरा पथप्रदर्शक बनेका वीर बहादुर घले दम्पतीको आतिथ्यताले मैले अधिकांश जापानी परिकारहरूको स्वाद लिने अवसर पाएँ।

जापानी खानाको स्वाद लिन मलाई घलेले प्रेरित गर्नुभयो। जापानी रेस्टुरेन्टमा लगेर रामेनको सेट खुवाउनुभयो– नुडल्स, मम, र राइसको सेट। यो सेटको स्वाद फरक थियो, तर घले जीले हाँस्दै भन्नुभयो, ‘सर, यो खाएर जापानको स्वाद लिनुहोस्, पेट भर्न नेपाली खाना पछि खाउँला ।’

त्यो रामेन १२०० येनको थियो। यो खाँदा मलाई लाग्यो, यो त नेपालको चाउमिनभन्दा ‘हाइ-टेक’ छ । अर्को साँझ घले जीले सुशी खानैपर्छ भन्नुभयो। मेरो पेट अघाइसकेको थियो, तर उहाँको करले सुशी रेस्टुरेन्ट पसेँ। काँचो माछा र चामलको सुशी खाँदा मलाई लाग्यो, ‘जापानीहरू जति खानाका पारखी को होला र ? ’

जापानी खाने संस्कृति

जापानको खाने संस्कृति केवल खानाको कुरा होइन, यो त यहाँको इतिहास, संस्कृति र जीवनशैलीको प्रतिबिम्ब हो । जापानीहरू खानालाई कला मान्छन् । हरेक परिकारको प्रस्तुति, स्वाद र बनाउने तरिका एउटा कथावाचन जस्तो हुन्छ । यहाँका मानिसहरू खानाप्रति अति सौखिन छन् । उनीहरू स्वादको मजा लिन्छन्, तर त्यति नै ध्यान सन्तुलित र स्वस्थ खानामा दिन्छन् । जापानी खानामा ताजा सामग्री, मौसमी उत्पादन र न्यूनतम मसला प्रयोग हुन्छ, जसले प्राकृतिक स्वादलाई जोगाउँछ।

खानाप्रतिको सौखिनता उनीहरूको हरेक व्यवहारमा झल्किन्छ । उनीहरू खानालाई सम्मान गर्छन् । खानुअघि ‘इतादाकिमासु’ (म खान्छु) र खाइसकेपछि ‘गोचिसोसामा’ (धन्यवाद) भन्ने परम्पराले यो कुरा पुष्टि गर्छ । यो केवल औपचारिकता होइन, खानाको मूल्य र त्यसलाई तयार गर्नेहरूप्रतिको कृतज्ञता हो । टोकियोको व्यस्त सडकमा होस् वा क्योतोको शान्त गल्लीमा, हरेक रेस्टुराँ र सडक छेउका खाजा पसलहरूमा यो सौखिनता देखिन्छ । टोकियोको एक रामेन रेस्टुराँमा लाइन बसेर खानेहरू भेटिए ।

प्रविधिको प्रयोग

जापानी खाना सर्भ गर्ने तरिका आफैँमा एक कला हो । हरेक परिकार सावधानीपूर्वक सजाइन्छ, जसले आँखालाई पहिले तृप्त बनाउँछ । सुशी साना टुक्राहरूमा, रङ्गीन तरिकाले सजाइएको प्लेटमा आउँछ, मानौँ कुनै चित्रकारले क्यानभासमा रङ भरेको हो ।

रामेनको कचौरा तातो हुन्छ, सूपको सतहमा तैरिएको हरियो प्याज र मसलाले मन लोभ्याउँछ । टेम्पुरा र ओकोनोमियाकी सजिलै खान सकिने तरिकाले सर्भ गरिन्छ, सस र सलादको साइडमा । बेन्टो डब्बा त झनै कथाको किताब जस्तो हुन्छ-हरेक खण्डमा फरक स्वाद, रङ र बनावट । यो सजावटले मलाई लाग्यो, जापानीहरूले खानालाई मुखले भन्दापहिले आँखाले खान्छन् । सिन्जुकुको एक रेस्टुरेन्टमा सुशीको प्लेट देख्दा मलाई लाग्यो, यो त खाने कि फ्रेममा राखेर सजाउने ?

प्रविधिको प्रयोगले जापानी खाने संस्कृतिलाई अझ आधुनिक बनाएको छ । धेरै रेस्टुरेन्टमा टचस्क्रिन ट्याबबाट अर्डर गरिन्छ । सिन्जुकुको एक सुशी रेस्टुरेन्टमा मैले ट्याबबाट अर्डर गरेँ । खाना रिभोल्भिङ बेल्टमा टेबुलसम्म आइपुग्यो । यो देख्दा मलाई लाग्यो, यो त ‘सेइ-फि’ फिल्मको दृश्य हो, खाना त हावामा उडेर आउन बाँकी छ ।

ताकासाकीको एक गास्तो रेस्टुरेन्टमा त रोबोटले खाना सर्भ गर्‍यो ।

रोबोटले थाल ल्याएर राखिदियो, तर मैले ‘धन्यवाद’ भन्न खोज्दा उसले जवाफ दिएन । मलाई लाग्यो, यो रोबोटलाई ‘टिप्स’ दिने चलन छैन । सडक छेउका भेन्डिङ मेसिनहरू पनि जापानको खाने संस्कृतिको अनौठो पक्ष हुन् । टोकियोका सडकमा यी मेसिनहरूबाट तातो कफी, चिसो पेय, स्न्याक्स र तातो बेन्टो डब्बासम्म पाइन्छ ।

मैले योयोगीमा भेन्डिङ मेसिनबाट तातो सूप किनेँ, ३०० येनमा । यो देख्दा मलाई लाग्यो, यो त नेपालको चिया पसललाई ‘रोबोटिक टच’ दिएको जस्तो हो । यी प्रविधिहरूले खाना सर्भ गर्ने प्रक्रियालाई छिटो र रमाइलो बनाउँछ ।

स्वादको विविधता

जापानको खाने संस्कृतिमा परिकारहरूको विविधता चकित पार्ने खालको छ। मैले जापानी परिकारहरूको स्वाद लिएँ, र यी केहीले मेरो मन जिते ।

-सुशी : काँचो माछा, चामल, र समुद्री घाँसको संयोजन। टोकियोको सिबुयामा मैले खाएको सुशीको स्वाद अझै जिब्रोमा ताजा छ। यो साधारण देखिन्छ, तर हरेक टुक्रामा शेफको कला झल्किन्छ। मूल्य १५०० येनदेखि, तर स्वादले यो महँगी बिर्साइदिन्छ।

-रामेन : गहुँको चाउचाउ, सूप र विभिन्न मसला मिसिएको यो परिकार जापानको आत्मा हो। सिन्जुकुमा मैले खाएको टोन्कोत्सु रामेनको स्वादले मन तातो बनायो। एक कचौरा १००० येन।

-टेम्पुरा : झिँगे माछा वा तरकारीलाई हल्का ब्याटरमा डुबाएर तारेको यो परिकार कुरकुरे र स्वादिलो हुन्छ । सिनोकुबोको एक रेस्टुराँमा मैले यो खाएँ, १२०० येनमा ।

-बेन्टो डब्बा : मेरो रेल यात्रामा चिकेन टेरियाकी बेन्टो खाएको थिएँ । यो डब्बामा राइस, मासु, तरकारी र अचारको सन्तुलित मिश्रण हुन्छ । मूल्य १०००-१५०० येन ।

-ओकोनोमियाकी : कोभी, मासु र सस मिसिएको यो प्यानकेक सिन्जुकुमा खाएँ । यो मलाई ‘जापानी पिज्जा’ जस्तो लाग्यो । मूल्य १००० येन ।

-मोची : चामलको पिठोबाट बनेको यो मिठाइ टोकियोको गल्लीमा खाँदा नेपालको सेलरोटीको याद आयो । यो ३००-५०० येनमा पाइन्छ ।

यी परिकारहरू बनाउँदा जापानीहरूले ताजा सामग्री र सौन्दर्यमा ध्यान दिन्छन् । हरेक थाल एउटा चित्र जस्तो देखिन्छ, जसले आँखा र जिब्रो दुवैलाई सन्तुष्ट बनाउँछ ।

सडक छेउका खाजा पसल 

जापानको खाने संस्कृतिको अर्को रमाइलो पक्ष हो सडक छेउका खाजा पसलहरू हुन् । टोकियोको असाकुसा वा योयोगीका पसलहरूले जापानको खाने सौखिनतालाई जीवन्त बनाउँछन् । यहाँ ताकायाकी (अक्टोपस बल), याकितोरी (मासुको सिक्का) र ताइयाकी (माछा आकारको मिठाइ) पाइन्छ । मैले योयोगीमा ताकायाकी खाएँ, बाहिर कुरकुरे, भित्र नरम ।

यो खाँदा मलाई लाग्यो, यो त नेपालको आलु चप जस्तो छ, तर ‘जापानी ट्विस्ट’ सहित । यी पसलमा मानिसहरू लाइन लागेर खान्छन्, तर भीडमा पनि अनुशासित हुन्छ । दोतोनबोरीमा ताइयाकी खाँदा सडकको रौनक, मानिसहरूको हाँसो र स्वादको मिश्रणले मन रमायो । यी सडक पसलहरू सस्ता (३००-७०० येन) छन् र स्वादिलो खाना पस्किन्छन्।

विदेशमा नेपालको स्वाद

जापानमा नेपाली रेस्टुराँहरूले मेरो यात्रालाई थप विशेष बनाए । मैले सिनोकुबोमा नेपाली रेस्टुराँमा सुकुटी र हाँसको छोइला खाएको थिएँ । टोकियोको सिन्जुकु र उएरोमा यस्ता रेस्टुराँहरू धेरै छन्, जहाँ दाल-भात-तरकारी, मम, सेकुवा जस्ता नेपाली खानाको स्वाद लिन पाइन्छ ।

एक रेस्टुराँमा सिनोकुबोमा साथी रुक्मणी श्रेष्ठले मम, हाँसको छोइला, सुकुटी र भुटन खुवाउनुभयो । ममको बनावट, छोइलाको मसालेदार स्वाद, सुकुटीको चाम्रोपना र भुटनको तिखो स्वादले मलाई लाग्यो, यो त ठमेलको रेस्टुराँ हो कि जापानको ? रुक्मणीले हाँस्दै भन्नुभयो, ‘लीलाजी, यो खाएर नेपाल सम्झनुहोस्, तर बिल तिर्ने बेला जापानको महँगी बिर्सनुहोला ।’ त्यो हरेक परिकार प्रतिप्लेट कम्तीमा ८०० येन थियो । यी रेस्टुराँहरू जापानमा नेपाली समुदायको सांस्कृतिक पहिचानको प्रतीक हुन्।

खानाप्रतिको सौखिनता

जापानीहरू खानाप्रति यति सौखिन छन् । उनीहरूले हरेक परिकारलाई विशेष अवसरसँग जोड्छन् । साकुरा सिजनमा हानामी (फूल हेर्ने) बेला बेन्टो डब्बा लिएर पार्कमा खाने चलन छ । नयाँ वर्षमा ओसेसी रियोकान (विशेष खाना) खाइन्छ । रेस्टुराँहरूमा लाइन लागेर खाने दृश्य सामान्य हो । जापानीहरू स्वस्थ खानामा विश्वास गर्छन् । माछा, तरकारी र समुद्री लेउको प्रयोगले उनीहरूको खाना पौष्टिक हुन्छ । तर, उनीहरू सडक खाजा र मिठाइको पनि उत्तिकै मजा लिन्छन् ।

के सिक्ने ?

जापानको खाने संस्कृतिले मलाई स्वाद, परम्परा र अनुशासनको सन्तुलन सिकायो, सडक छेउका ताकायाकी पसलबाट रेस्टुराँको सुशीसम्म । सडक छेउका पसलहरूमा खाजा खानुहोस्, यो सस्तो र स्वादिलो हुन्छ । बेन्टो डब्बा यात्रामा उपयुक्त रहेछ । जापानी खानाको प्रस्तुतिको मजा लिनुहोस्, यो आँखा र जिब्रो दुवैको तृप्ति हो । जापानको खाने संस्कृति मेरा लागि स्वादको यात्रा मात्र होइन, सांस्कृतिक र भावनात्मक गहिराइको अनुभव हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?