+
+

उपरथी शाहीलाई सघाएको आरोपमा थप दुई सैनिक अधिकारीमाथि छानबिन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १५:५३

१७ फागुन, काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीमाथि छानबिन गर्ने क्रममा थप दुई सैनिक अधिकारीमाथि जंगीअड्डाले छानबिन थालेको छ ।

शाहीमाथि छानबिन गर्न उपरथी बाबुराम श्रेष्ठको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वाइरीले दिएको सिफारिस अनुसार प्रधानसेनापति प्रभुराम शर्माले सैनिक अदालत गठन गरेका छन् ।

त्यसले उपस्थित गराउन भनेपछि प्राड विवाकका महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदिप तिम्सिनालाई हाजिर गराइएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले अनलाइनखबरलाई बताए ।

‘आर्थिक अनुशासनसम्बन्धी छानबिनका क्रममा उहाँहरुमाथि पनि छानबिन गर्नुपर्ने देखिएपछि बोलाएका हौं’, भण्डारीले भने, ‘उहाँहरुको गतिविधि सैनिक अनुशासन विपरीत भएन भन्ने हो ।’ सैनिक स्रोतका अनुसार शाह र तिम्सिनालाई उपरथी शाहीलाई सघाएको आरोप छ । केही दिनअघि अनुसन्धान टोलीले उनीहरुको मोबाइल समेत नियन्त्रणमा लिएको थियो ।

उपरथी शाहीलाई सेनाले ४ पुस २०७९ मा ५८ वर्षे उमेर हदका कारण २० पुसदेखि अवकाश हुने भन्दै पत्र थमाएको थियो । तर, उनले आफ्नो जन्ममिति गलत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दिए ।

उनले सेनामा प्रवेश गर्नुअघि जारी भएको प्रमाण पत्रमा आफ्नो जन्ममिति २०२३ रहेको उल्लेख गर्दै अदालतमा निवेदन दिएका थिए । सेनाले शैक्षिक प्रमाण पत्रमा भएको मिति अनुसार अवकाशको पत्र थमाएको थियो ।

आफूले एसएलसी परीक्षा दिएको बूढानिलकण्ठ स्कुलले समेत उमेर सच्चाउँदै पत्र पठाइसकेको भन्दै उनले अदालतमा निवेदन दिएका थिए । सेनाको आन्तरिक समितिले पनि उनको जन्ममितिमा त्रुटि भएको भन्दै नागरिकता अनुसारको जन्ममिति कायम गर्न सिफारिस गरेको थियो । तर तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समितिले त्यसलाई सदर गरेको थिएन ।

न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले १३ पुसमा उनलाई अवकाश दिने निर्णय तत्काल कार्यान्वयन नगर्न भन्दै अन्तरिम आदेश दिएको थियो । आदेशपछि हाजिर हुन जाने क्रममा सैनिक प्रहरीको टोलीले शाहीलाई नियन्त्रणमा लिएको थियो । आर्थिक अनुशासनको आरोप लगाउँदै शाहीको घरमा समेत छापा हानिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?