
१७ फागुन, सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री प्रचण्डसँग निरन्तर संवादमा रहेर १० पुसको गठबन्धन भत्काउन सफल भएको दाबी गरेका छन् ।
सुर्खेत विमानस्थलमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री नियुक्त भएदेखि नै आफू निरन्तर प्रचण्डसँग संवादमा रहेको बताए ।
‘उहाँ (प्रचण्ड) प्रधानमन्त्रीमा नियुक्त भएकै बेलुका बधाई दिन प्रधानमन्त्रीज्यूलाई फोन गरेको थिएँ । हामीबीच १० मिनेट कुरा भयो । त्यसपछि प्रधानमन्त्रीज्यूसँग दिनहुँजसो संवाद रहेँ’ खड्काले भने, ‘त्यसैबेलादेखि नै चुनावी गठबन्धन प्राकृतिक हुने विषयमा छलफल चलिनै रहयो । त्यसको परिणाम राष्ट्रपतिमा ८ दलबीच सहमति गर्दै रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाउने परिस्थिति विकसित हुन पुग्यो ।’
खड्काले प्रचण्डलाई नै प्रधानमन्त्री छाडेर भए पनि चुनावका बेलाको पाँचदलीय गठबन्धनलाई नै निरन्तरता दिनुपर्नेमा आफूहरु चुकेको बताए । संसदको सबैभन्दा ठूलो दल भएकोले कांग्रेसले पहिलो कार्यकाल प्रधानमन्त्री नछाड्ने अडान राखेपछि गत पुस १० मा गठबन्धन भत्किएको थियो । नेकपा एमालेसहित ७ दल र ५ स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।
गत शुक्रबार ८ दलका शीर्ष नेताबीच बालुवाटारमा भएको बैठकमा प्रचण्डले आफूले विश्वासको मत लिँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदमा दिएको अभिव्यक्तिले झस्काएको र मनमा चिसो पसेको सुनाएका खड्काले बताए ।
खड्का अनुसार त्यस दिन ओलीले आफ्नो हातमा राष्ट्रपति र प्रधानमन्त्री पद भए फेरि संसद विघटन गर्ने सन्देश दिएका थिए ।
खड्काले राष्ट्रपति उम्मेदवार तय गर्दा ८ दलबीच सहमति बनेको र त्यो गठबन्धनलाई औपचारिकता दिन भने बाँकी रहेको बताए । ‘८ दलको सहयोगमा रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी हुनुहुनेछ । त्यसपछि उपराष्ट्रपति निर्वाचन हुन्छ । प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ । अनि मात्रै सरकार निर्माणको चरण आरम्भ हुन्छ,’ उनले भने ।
प्रधानमन्त्रीले विश्वासको मत लिएको दुई/तीन दिनभित्र सरकारले पूर्णता पाउने पनि उनले दाबी गरे । अहिलेनै सरकारको नेतृत्व आलोपालोको विषयमा कुनै सहमति नभएको पनि खड्काले बताए ।
प्रतिक्रिया 4