+
+

चितवनमा सूर्यमुखीको व्यावसायिक खेती

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते ७:४३

१८ फागुन, चितवन । चितवनको भरतपुरमा पछिल्लो समय व्यावसायिकरुपमा सूर्यमुखी खेतीतर्फ आकर्षण बढ्दै गएको छ । तेलहन बालीअन्तर्गत भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामूहिकरुपमा प्राङ्गारिक सूर्यमुखी खेती गरिएको छ ।

चार किसानको अगुवाइमा पौने तीन बिघामा सूर्यमुखी खेती गरिएको चन्द्रप्रसाद अधिकारीले बताए । कृषि ज्ञान केन्द्र चितवनसँग साढे चार बिघा जमिनमा तेलहन बालीका लागि सहकार्य भएको छ । बाँकी जग्गामा तोरी खेती गरिएको छ । ज्ञान केन्द्रले बीउ, मल र सिँचाइमा सहयोग गरेको उनले बताए ।

दश वर्ष पहिले पनि आफूले जिल्लामा सूर्यमुखी खेती गरेको र बीचका केही वर्ष खेती गर्न छाडे पनि यस वर्षदेखि पुनः प्राङ्गारिक सूर्यमुखी खेती गरेको अधिकारीको भनाइ छ । ‘मैले २०३२ सालमा गाँजर खेतीबाट कृषि कर्म सुरु गरेको हुँ । गाँजर उत्पादन धेरै भए पनि बजार मूल्य नपाउने र लगानी धेरै लाग्ने भएकाले मैले तेलहन बाली लगाएको हुँ,’ उनले भने ।

सूर्यमुखी खेती गर्दा धेरै लगानी गर्न नपर्ने भएकाले अन्य खेती गर्ने किसान यसतर्फ आकर्षित हुन थालेका छन् । यसरी प्राङ्गारिक सूर्यमुखी खेती गर्नाले किसानले राम्रो मूल्यमा उपभोक्तालाई स्वस्थकर तेल उपलब्ध गराउन सक्ने र मिसावट तेलको बजारलाई यसले नियन्त्रण गर्ने अधिकारीको भनाइ छ । ‘पछिल्लो समय फूल फुल्न थालेसँगै यहाँ टिकट शुल्क रु एक सय तिरेर दैनिक टिकटक बनाउने, फोटो खिच्ने र घुम्न तथा खेतीबाली हेर्न पर्यटक आउन थालेका छन् । उनीहरु यहाँ आउँदा आनन्द महसुस गर्छन्’, अधिकारीले भने ।

अहिले यहाँ मह उत्पादनका लागि मौरीको ६०/६५ घार पनि राखिएका छन् । कृषि ज्ञान केन्द्र चितवनकी कृषि अधिकृत सुरुची त्रिपाठीले चितवन र मकवानपुर गरेर दुई क्षेत्रमा सय हेक्टर जमिनमा तेलहन बालीका लागि केन्द्रले सहयोग गरेको जानकारी दिइन् ।

उनले अरु क्षेत्रमा तेलन बालीअन्तर्गत तोरी खेती गरे पनि यहाँका किसान सूर्यमुखी खोतीमा इच्छुक भएकाले उनीहरुलाई केन्द्रले सहयोग गरेको बताइन् । यहाँका किसानले सूर्यमुखी खेती गर्दै जाँदा अन्य किसानलाई पनि प्रत्साहन मिल्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?