+
+

हामीसँग निहुँ खोजियो, पूर्वमाओवादीहरु एक ठाउँमा आऊँ : बाबुराम

‘मैले त आफ्नो मन बनाइसकेको छु, नजिकको साथीलाई भनिसकेको छु’

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १४:२३

२१ फागुन, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व माओवादीहरु एक ठाउँमा आउनुपर्ने बताएका छन् । विचार मिल्नेहरुको एउटै पार्टी बनाउनुपर्ने भन्दै उनले त्यो नभए मोर्चाबन्दी वा कार्यगत एकता गरेर अघि बढ्नुपर्ने बताए ।

शहीद तथा वेपत्ता योद्धा सन्तती फाउण्डेसनले आइतबार राजधानीमा गरेको कार्यक्रममा भट्टराईले शान्ति प्रक्रियामा आउनु सही भए पनि संविधान बनाउन नसक्दा पहलकदमी हातबाट फुस्किएको बताए । नयाँ आधारमा नयाँ एकता सम्भव भएको भन्दै उनले भने, ‘माओवादी पृष्ठभूमिमा गर्व छ, माओवादी भन्न आपत्ति छैन । तर अबको युगमा माओवादी भन्ने पुच्छर राखेर पार्टी बनाइराख्नु आवश्यक छैन ।’

भौतिकवादी द्वन्द्ववादी चिन्तनपद्धती मुख्य कुरा भएको भन्दै उनले पूर्वाको मोह नराख्न आग्रह गरे । ‘मैले त आफ्नो मन बनाइसकेको छु । नजिकको साथीलाई भनिसकेको छु’, उनले भने, ‘हामी एकै चोटी पार्टी एकता भनेर गला मिलाउनुभन्दा बहस गरौं । कहाँ चुक्यौं, कसको के कमजोरी भयो समीक्षा गरौं ।’

‘मिल्नसक्नेहरु एकै ठाउँमा आउँ, उटै पार्टी बनाउँ । समय लाग्छ भने पहिला एउटा गठबन्धन/मोर्चा बनाउँ । त्यो पनि सकिन्न भने कार्यगत एकता गरौं ।’

अहिले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास भइरहेकाले पनि एकठाउँमा आउन जरुरी रहेको उनले बताए । ‘एउटा बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ?’, उनले भने, ‘तीन वर्षअघिको एउटा सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाउन मिल्छ भन्ने निर्णय गर्नु भनेको निहुँ खोजको होइन ? जिस्क्याएको होइन ?’

यस्ता मुद्दाहरुमा सहकार्य गर्नुपर्ने उनले बताए । ‘हामी सबै मिलेर किन सडकमा निस्कन सक्दैनौं ? सक्छौं’, भट्टराईले अघि भने, ‘सक्नेहरु  विचार मिल्नेहरुको एउटै पाटी बनाउन, विचारमा अलि फरक हुनेहरु मोर्चा बनाउँ, त्यो नबनाउने हो भने कार्यगत एकता गरौं र यस्ता मुद्दाहरुमा सहकार्य गरौं ।’ यसले एउटा शक्ति बन्ने र शहीद वेपत्ताहरुको सपना पूरा गर्न सकिने भट्टराईको निष्कर्ष छ ।

कार्यक्रममा माओवादी आन्दोलनका शीर्ष नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, धर्मेन्द्र बास्तोला, कर्णजित बुढाथोकी लगायत सहभागी थिए । कार्यक्रममा मोहन वैद्य किरण भने उपस्थित थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?