+
+
कविता :

तिमीलाई एक पुस्तक दिनुछ

बाबुराम भुसाल बाबुराम भुसाल
२०७९ फागुन २३ गते १७:०६

हो, आजको समयमा

तिमीले जित्नको निम्ति

अरुलाई नहराई सम्भव छैन

तिमी अगाडि बढ्नको निम्ति

अरुलाई पछाडि नपारी सम्भव छैन

 

यस अर्थमा,

तिमीले जित्नु भनेको

अरु तिमीसँग हार्नु हो

तिमी अगाडि हुनु भनेको

अरु तिम्रो पछाडि पर्नु हो

 

हुन त हरेकको चाहना हुन्छ

आफूले नै जित्न सकियोस्

आफू नै अगाडि बढ्न सकियोस्

यही चाहनाले

आफूले जित्नका लागि

अरुलाई हराउनुपर्ने भो

आफू अगाडि उभिनको निम्ति

अरुलाई पछाडि पार्नुपर्ने भो

 

त्यसैले,

अरुलाई हराउनको निम्ति

अरुलाई पछाडि पार्नको निम्ति

संघर्ष एक निर्विकल्प सत्य ठान्यौ

संघर्ष विना जीवनको अस्तित्व असम्भव ठान्यौ

त्यसो त, संघर्षको मैदानमा उभिंदा

सबैले आफूले जित्छु नै भन्ने ठान्छन्

सबैले आफू नै अगाडि पर्छु त भन्छन्

तर,

संघर्षमा जित मात्र त कहाँ हुन्छ र ?

हार पनि त सहनुपर्छ

संघर्षमा सधैं अगाडि पर्न त कहाँ सम्भव छ र ?

पछाडि पनि त पर्नुपर्छ

 

प्रकारान्तरले,

अरुलाई पछाडि पार्नको निम्ति

आफू पछाडि पर्न पनि त तयार भयौ

अरुलाई हराउनको निम्ति

आफू हार्न पनि त तयार भयौ

 

यही संघर्षको दौडमा

अरुलाई हराउन संघर्ष गर्दा

तिमी आफैं पटक–पटक हारिरहेको देखेको छु म

अरुलाई पछाडि पार्न संघर्ष गर्दा

तिमी आफैं पटक–पटक पछाडि परेको देखेको छु म

हुन त म पनि

तिमी हारेको देख्दा

रमाएको भए पनि त हुन्थ्यो

तिमी पछाडि परेको देखेर

तिमीलाई होच्याएको भए पनि त हुन्थ्यो

 

मलाई थाहा छ

आज तिमी हार्दा रमाउने म

भोलि म आफैं पनि त हार्नुपर्छ

आज तिमी पछाडि पर्दा होच्याउने म

भोलि म आफैं पनि त पछाडि पर्नुपर्छ

 

नपत्याए हेर त

यहाँ आफू जित्नको निम्ति

अरुलाई हराउन खोज्दा

धेरै धेरैले हारेका छन्

दरबारमा बस्नेहरु

सडकमा ओर्लिएका छन्

सत्तामा पुग्नेहरु

प्रतिपक्षमा ओर्लिएका छन्

उद्यम गर्छु भन्नेहरु

ऋणको पासोमा परेर

इन्तु न चिन्तु बनेका छन्

अनेकौं दूरावस्थाहरुको उपभोक्ता बनेर

नागरिक ठगिनेहरुको लाममा उभिएका छन्

 

हो, यो तिम्रो दोष होइन

यो त समयको दोष हो

किनकि यहाँ सबैले त्यसै गर्छन्

यहाँ सबैले त्यस्तै भोग्छन्

वर्तमान जे चलिरहेको छ

यसैलाई दुनियाँको रीत ठान्छन्

यसैलाई समयको जित ठान्छन्

 

कहिलेसम्म यही समयलाई पर्खिरहने ?

कोही न कोही त आउनैपथ्र्यो

तिमीलाई बताउनको निम्ति

तिमीलाई देखाउनको निम्ति

कि

आफूले जित्नको निम्ति

अरुलाई नहराएर पनि त सम्भव छ

आफू अगाडि बढ्नको निम्ति

अरुलाई पछाडि नपारेर पनि त सम्भव छ

 

अरुलाई नहराएर पनि तिमी जित्न सम्भव बनाउने

अरु पछाडि नपारेर पनि तिमी अगाडि बढ्न सम्भव बनाउने

तिमीलाई एक औजार दिनुछ

तिमीलाई एक पुस्तक दिनुछ

हो, तिमीलाई एक अभ्यास पुस्तक दिनुछ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?