+
+

बदलिएको सन्दर्भमा ८ मार्चको सम्झना

विगतलाई सम्झने तर वर्तमानको यथार्थ र आवश्यकतालाई नेतृत्व गर्न हिच्किचाउने हो भने ८ मार्च मनाउनुको कुनै औचित्य रहँदैन ।

कल्पना धमला कल्पना धमला
२०७९ फागुन २४ गते ७:०९

सामन्तवादले महिलाहरूलाई घरभित्रको ‘दासी’ र ‘अर्धदासी’ को रूपमा बन्धक बनाइराखेको थियो । जब पूँजीवादको उदय भयो ठूला ठूला उद्योग, कल-कारखाना खुले । श्रमिकहरूको आवश्यकता बढ्दै गयो । महिलाहरूलाई पनि घरबाहिर निस्किएर उद्योग, कल-कारखानामा मजदुरको रूपमा काम गर्ने अवसर प्राप्त भयो । तर लैंगिक कारणले ज्यालामा असमानता, मातृशिशुको असुरक्षा, पेशागत हकको आवाज उठाउने ट्रेड युनियनमा बन्देज, १६ घण्टा काम गर्नुपर्ने बाध्यात्मक अवस्थाको कारण घरभित्रको र बाहिरको कामको दोहोरो शोषणको मार पर्न गयो । यस्तो खालको असमानताको विरुद्ध स-साना क्लबदेखि ठूल्ठूला उद्योगहरूसम्म संगठित र आन्दोलित हुँदै गए ।

सन् १८९७ मार्च ८ का दिन अमेरिकाको न्यूयोर्क शहरको कपडा मिलका मजदुर महिलाहरूले मातृ शिशुको सुरक्षा, ट्रेड युनियनको हक, मताधिकारलगायत माग राखी र्‍याली, सभा र पछि आम हड्ताल सुरु गरेका थिए । महिलाहरूको इतिहासमा यो पहिलो र संगठित विद्रोह थियो । यो विद्रोह दबाउन पूँजीवादी शासकहरूले ठूलै तागत खर्चिए तर महिलाहरू डगमगाएनन् र संघर्षलाई निरन्तर हाँकिरहे । तर, मागहरू भने पूरा हुनसकिरहेको थिएन ।

समाजवादी नेतृ क्लारा जेट्किनले यो आन्दोलनलाई समाजवादी आन्दोलनसँग जोडेर मात्र सार्थक बनाउन सकिन्छ भन्दै सन् १९०७ मार्च ८ मा अन्तर्राष्ट्रिय समाजवादी महिलाहरूको पहिलो सम्मेलन गरेर नेतृत्व लिइन् । उक्त सम्मेलनले कुनै पनि प्रकारको लैंगिक विभेद नगरिकन सबै ठाउँमा समान अधिकारको प्रस्ताव पारित गरेको थियो ।

सन् १९०८ देखि १९०९ सम्म आन्दोलन सशक्त बन्यो । सन् १९०९ मार्च ८ को दिन आन्दोलन उत्कर्षमा पुग्यो र ८ घण्टा काम, समान कामको समान ज्याला, उद्योग, कल-कारखानाभित्र शिशु स्याहार केन्द्रको व्यवस्था, ट्रेड युनियनको हक प्राप्त भयो । सन् १९१० मा भएको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनले ८ मार्चलाई ‘संघर्ष र मुक्ति’ दुवैको स्मरणको लागि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव पारित गर्‍यो । सन् १९११ देखि संसारभरि मनाउँदै आइरहेका छन् ।

नेपालको सन्दर्भमा ८ मार्च

नेपालको सन्दर्भमा पनि ८ मार्चले संघर्ष र मुक्तिको लामो इतिहास बोकेको छ । ८ मार्च खासगरी लैंगिक समानताको पक्षमा महिलाहरूलाई सुसूचित पार्न राजनीतिक पार्टीसँग सम्बद्ध महिलाहरूले नै बढी मनाएको देखिन्छ । २०१७ सालदेखि सरकारी तवरबाट सरकारले सार्वजनिक बिदा दिएर ‘नारी दिवस’को रूपमा मनाउन सुरु गर्‍यो । सरकारी निकाय, संघ, संस्थाहरूले मनाउनका लागि मनाउँदै आए भने राजनीतिक पार्टीका महिला संगठनहरूले अधिकारका लागि संघर्षका रूपमा मनाउँदै आए ।

पञ्चायती व्यवस्था र ‘जनयुद्ध’मा भने अधिकारका लागि ८ मार्च मनाउन समेत प्रतिबन्ध लगाइयो । सरकारी तहबाट ठूलो धरपकड गरियो तर पनि महिलाहरू डगमगाएनन् ।

संघर्षकै बलमा संविधानसभा मार्फत निर्माण भएको संविधानमा उत्पीडित, उपेक्षित जाति, क्षेत्र, लिंगका समुदायलाई अधिकारसम्पन्न गराउन संघीयता, समानुपातिक, समावेशी मुद्दाहरू स्थापित भएका छन् । महिला प्रतिनिधित्वलाई हेर्ने हो भने संसारको विकसित मुलुकहरूमा भन्दा बढी प्रतिशत देखिन्छ । तर पनि घरेलु कामको मूल्यांकन जीडीपीमा समावेश हुनसकेको छैन । समान कामको समान ज्याला लागू हुनसकेको छैन । महिला पक्ष राष्ट्र भएर गरिएका सन्धि, महासन्धि पालना भइरहेको छैन । अंश र वंशको हक कार्यान्वयनमा समस्या देखिएको छ । सहभागितामा रमाइरहेका छन्, अर्थपूर्ण प्रतिनिधित्वको लागि बहस हुन सकिरहेको छैन ।

महिलामाथि हुने गरेका सबैखाले हिंसा अन्त्य गर्न प्रभावकारी व्यवस्था हुनसकिरहेको छैन । समग्रमा संविधानप्रदत्त हकलाई पूर्णतः पालना गर्नमा कहीं न कहीं समस्या देखिएकै छ । आजको सन्दर्भमा देखिएका समस्याको समाधान खोज्न नयाँ ढंगको संघर्ष र बल पैदा गर्न ८ मार्चको ऐतिहासिक पक्षलाई केन्द्रमा राखेर बुझ्नु र मनाउनु आवश्यक छ ।

निष्कर्ष

८ मार्चको ऐतिहासिक पक्ष ‘संघर्ष र मुक्ति’ हो । जबसम्म समाजमा लैंगिक विभेद, असमानता र उत्पीडन रहन्छ, तबसम्म संघर्ष अपरिहार्य हुन्छ । ८ मार्चको मर्म र भावनाको सारलाई पक्रँदै आजको सन्दर्भमा संविधानप्रदत्त हकलाई पूर्णतः पालना गराउन राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा समान अधिकार, सह-अस्तित्व र अर्थपूर्ण प्रतिनिधित्व र पहुँच स्थापना गर्न संघर्ष गर्नुपर्नेछ ।

घरेलु कामको मूल्यांकन गरेर कुल गार्हस्थ्य उत्पादनमा जोड्न, महिला पक्ष राष्ट्र भएर गरिएका सन्धि, अभिसन्धिहरूको पालना गर्न, महिला माथि भइरहेका सबैखाले हिंसा विरुद्ध अभियान र आन्दोलन केन्दि्रत गर्न आवश्यक छ । विगतलाई सम्झने तर वर्तमानको यथार्थ र आवश्यकतालाई नेतृत्व गर्न हिच्किचाउने हो भने ८ मार्च मनाउनुको कुनै औचित्य रहँदैन ।

एकता, संघर्ष, न्याय, समानता र मुक्तिको इतिहास बोकेको ८ मार्चलाई स्मरण गरिरहँदा आजको आवश्यकता पूरा गर्न आइपर्ने चुनौतीको सामना गरी अगाडि बढ्ने उच्च मनोबल र आँटको आवश्यकता बढ्दै गएको देखिन्छ । सबैले प्रण गरौं, हामी कुनै पनि प्रकारको महिला हिंसा गर्दैनौं । महिला हिंसा सहन्नौं । समतामूलक, सभ्य, प्रविधिमैत्री सम्मुन्नत समाजको निर्माण गर्न लागि परौं । ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सम्पूर्ण जनसमुदायमा महिला हिंसा र असमानताका बिम्वहरूलाई निरुत्साहित, तिरस्कृत, बहिष्कृत र अन्त्य गर्ने जागरण र सोच पैदा गरोस्, शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?