+
+

यातायात कार्यालय बिहान ८ बजे नै खोल्‍ने तयारी

रासस रासस
२०७९ फागुन २४ गते १५:५२

२४ फागुन, काठमाडौं । देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै खोल्‍ने तयारी गरेको छ ।

कार्यालयमा सधैँ कार्यालय समयभन्दा घण्टौँ पहिले नै सेवाग्राही लाममा हुने गरेकाले भीडभाड व्यवस्थापनका लागि बिहान चाँडै सेवा सुरु गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ ।

बिहान ८ बजेदेखि खुल्दा सेवाग्राही लाममा बस्नु नपर्ने र उनीहरुले थोरै समयमा काम गरिसक्ने कार्यालयका प्रमुख राजकुमार कपालीले बताए । उनले भने, ‘लाममा बस्न नपरेपछि बिचौलियाले पनि ठग्न पाउँदैनन् । आउँछन् र खुरुखुरु जान सक्छन्।’

बिहानदेखि सेवा सुरु अहिले छलफल भइरहेको कार्यालयले जनाएको छ । सेवा प्रवाह कार्यालय समयमा हुने भए पनि सेवाग्राही बिहान छ बजेदेखि लाममा बस्ने गरेको उनले बताए । सेवाग्राहीलाई बुझाउन नसकिएको १० बजेसम्म दुई सय जना लाममा बस्ने उनले बताए । प्रमुख कपालीले भने, ‘ताला लगाए पनि बाहिरैबाट लाम हुने गरेको छ।’

कार्यालयले दैनिक तीनदेखि साढे तीन सय टोकन बाँड्ने गरेको छ । त्योबाहेक टाढाबाट आएको जाममा परेको वा तुरुन्त अनुमतिपत्र चाहिने सेवाग्राहीलाई टोकन नभए पनि अवस्था हेरेर सेवा दिइने प्रमुख कपालीले बताए । उनले भने, ‘समस्या रहेकालाई टोकन विना ५० देखि एक सयसम्मलाई दिने गरिएको छ।’

कार्यालयमा अहिले दरबन्दीअनुसार नै जनशक्ति कार्यरत रहेका छन् । विसं २०७२ को दरबन्दीअनुसार ३५ जना रहेकामा र करारबाट २२ जना कार्यरत रहेका छन् । कार्यालयको व्यस्त समय ११ देखि २ बजेसम्म जनशक्ति कमी महसुस हुने भए पनि अरू समयमा जनशक्ति पर्याप्त नै हुने गरेको उनले बताए । सेवाग्राहीको भीडभाड बिहानी समयमा बढी भए पनि दिउँसो कम रहेको छ । उनले भने, ‘३ बजेपछि कार्यालय नै सुनसान हुन्छ।’

यातायात कार्यालय सधैँ नै सेवाग्राहीको भीडभाड बढी हुने कार्यालयका रुपमा रहेको छ । पहिले संघीय सरकारअन्तर्गत रहेको कार्यालय अहिले प्रदेश सरकारको अन्तर्गत गएको छ । कार्यालयहरुले केही वर्षदेखि टोकन प्रणाली सुरु गरे पनि सेवाग्राही घण्टौँ लाममा बस्नु परेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?