+
+

तुलसी सहकारीको अनुसन्धान गर्न मोरङ प्रहरीले माग्यो सीआईबीको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २६ गते १५:०७

२६ फागुन, विराटनगर । तीन जिल्लाका १० हजार बढी सर्वसाधारणको करिब डेढ अर्ब रकम संकलन गरेर तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालक फरार भएपछि अनुसन्धानका लागि मोरङ प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी) को सहयोग मागेको छ । सहकारी अध्यक्ष केदारनाथ शर्मा फरार छन् भने उपाध्यक्ष र सचिवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीन जिल्लामा कार्यालय खोलेका कारण मोरङ प्रहरीले अनुसन्धानका लागि सीआईबीको सहयोग मागेको हो ।

मोरङ प्रहरीका डीएसपी टिकाबहादुर कार्कीले उक्त सहकारीको शाखा तीन जिल्लामा रहेकाले अनुसन्धानका लागि सीआईबीलाई आग्रह गरिएको बताए । ‘हाम्रो कार्यक्षेत्र मोरङ मात्रै हो,’ उनले भने, ‘झापा र उदयपुरमा पनि सहकारीको कार्यालय भएका कारण माथि भनेका छौं ।’

सीआईबीको टोली आउने निर्णय भने भइसकेको छैन । सीआईबीसँगको समन्वयमा मोरङबाट अनुसन्धान सुरु गरिएको मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए ।

सर्वसाधारणको बचत फिर्ता गर्न नसकेपछि सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारत पुगेका छन् । उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने प्रहरी नियन्त्रणमा छन् । अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले अनुसन्धानपछि ठगी मुद्दा चलाउन तयारी गरेको छ ।

सहकारीको कार्यालय र सहकारीले सञ्चालन गर्ने डिपार्टमेन्ट स्टोर १ फागुनदेखि बन्द छ । तीन जिल्लामा तुलसी बहुमुखी सहकारी सञ्चालन गरेका शर्माले पश्चिम नेपाल शिवशिखर नाममा सहकारी सञ्चालन गरिरहेका छन् । शिवशिखरमा पनि बचत फिर्ताको समस्या देखिएको प्रहरीले बताएको छ ।

२०७१ सालमा विराटनगरमा खुलेको तुलसीले झापाको दमक र उदयपुरको गाइघाटमा कार्यालय खोलेको छ । तीन जिल्लामा १० हजार बढी सर्वसाधारणले एक अर्ब ४९ करोड हाराहारी बचत गरेका छन् ।

प्रहरी स्रोतका अनुसार सर्वसाधारणबाट महँगो ब्याज दिने भन्दै बचत संकलन गरेको सहकारीले अन्य क्षेत्रमा लगानी गरेको छ । सहकारी सञ्चालकले कृषि व्यवसाय, राइस मिल, घडेरी खरिदलगायतमा क्षेत्रमा लगानी गरेका छन् ।

अध्यक्ष सम्पर्कविहीन भएपनि लगानी उठाएर बचत फिर्ता गर्नका लागि बचतकर्ताले सहकारीको कार्यायल खोल्न आग्रह गरिरहेका छन् । लगानी उठाएर बचत फिर्ताका लागि सहकारी खोल्न आग्रह गरिएको तुलसी बहुमुखी सहकारी स्ंस्थाका बचतकर्ता सन्तोष आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?