+
+

उपराष्ट्रपतिमा जसपाकै दुई उम्मेदवार, जनमतकी ममताको पनि उम्मेदवारी रहने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २७ गते ११:०९

२७ फागुन, काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा)ले उपपराष्ट्रपतिमा महिला र पुरुष दुवै उम्मेदवार उठाउने भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको १० दलको बैठकले जनता समाजवादी पार्टी (जसपा)बाट दुई जना (पुरुष र महिला) उम्मेदवार दर्ता गर्ने निर्णय गरेको हो । सत्तारुढ गठबन्धनमा रहेको जनमत पार्टीले महिला उम्मेदवार मतता झालाई उठाउने छ ।

एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल भन्छन्, ‘अहिले ३ जनाको उम्मेदवारी दर्ता हुन्छ । अरु भोलि फेरि छलफल गरेर टुंगो लगाउँछौं ।’

सत्तारुढ चार दल (कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी) बीच उपराष्ट्रपति जसपाले लिने सहमति भइसकेको छ । त्यसअनुसार संसदीय दलका नेता रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय पनि जसपाले गरेको थियो ।

तर निर्वाचन आयोगले पुरुष राष्ट्रपति भइसकेकाले उपपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने बताएको छ । संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने बताएको छ । यसअनुसार खासआर्य बाहेकका समुदायका पुरुष पनि उम्मेदवार हुनसक्ने सत्तारुढ नेताहरुको तर्क थियो ।

तर निर्वाचन आयोगले संविधानको धारा ३८ (४) पनि उल्लेख गरेको छ, जसमा राज्यको सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ भनिएको छ ।

यसले जसपा अफ्ठ्यारोमा परेको छ । त्यसैले जसपाबाट महिला र पुरुष दुवै उम्मेदवार बनाउने निर्णय भएको एक नेताले बताए । स्रोतका अनुसार जसपाले पुरुषमा रामसहाय यादवलाई नै उम्मेदवार बनाउनेछ भने महिलामा प्रमिला यादवलाई अघि सार्ने सम्भावना छ ।

गठबन्धनमा साना दलहरुले जनमत पार्टीका उम्मेेदवार ममता झालाई समर्थन गर्ने बताएका छन् । एक नेताका अनुसार जसपाका रामसहायको उम्मेदवारी दर्ता भएर कायम रहृयो भने उनी नै सत्तारुढ गठबन्धनको उम्मेदवार बन्ने छन् । तर उनको उम्मेदवारी दर्ता भएका वा दर्ता भएर पनि खारेज भयो भने जसपाका महिला उम्मेदवार वा जनमतकी उम्मेदवार ममता मध्ये कसलाई कायम राख्ने भनेर शीर्ष तहमा फेरि छलफल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?