+
+

मध्यपूर्वमा ‘छक्कापञ्जा ४’को आक्रामक ओपनिङ, विदेशी फिल्ममा भन्दा बढी दर्शकको चाप

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते १३:४६

काठमाडौं । नेपाली फिल्म ‘छक्कापञ्जा ४’ले मध्यपूर्वमा पहिलो सप्ताहन्त आक्रामक ओपनिङ गरेको छ । यूएई, कतार, ओमान र बहराइनमा फिल्मको सप्ताहन्त अकुपेन्सी शतप्रतिशत देखिएको छ । गत शुक्रबारदेखि यो फिल्म ती मुलुकका ५० पर्दामा रिलिज भएको हो ।

बलिउड र हलिउडको परम्परागत बजार मानिएको मध्यपूर्वमा ‘छक्कापञ्जा ४’लाई स्थानीय मल्टिप्लेक्स हलहरुले आकर्षक संख्यामा शोहरु दिएका छन् । १८ अडिटोरियम भएको दुबईको स्टार सिनेमाज् मल्टिप्लेक्सले छक्कापञ्जालाई १२ शो दिएको छ । यो शो संख्या उक्त हलमा रणवीर कपुर स्टारर बलिउड फिल्म ‘तु झूठी मैं मक्कर’ भन्दा पनि उच्च हो ।

दुबईको भक्स सिनेमा मल्टिप्लेक्समा पनि फिल्मको अकुपेन्सी राम्रो देखिएको छ । यूएईको राजधानी अबुधाबीको इलेक्ट्रा स्टार र ओस्कार सिनेमा मल्टिप्लेक्सले पनि १०–१० भन्दा बढी शो दिएका छन् । कतार, बहराइन र ओमानका हलमा समेत फिल्मको सप्ताहन्त ओपनिङ आक्रामक देखिएको फिल्मका मध्यपूर्व वितरक रमेश ढकालले जानकारी दिए ।

उनका अनुसार पहिलो दिन बिहीबार नै फिल्मले चार मुलुकबाट एक करोड रुपैयाँ कमाइ गरेको छ । ‘चलिरहेका हिन्दी र अंग्रेजी फिल्ममा भन्दा छक्कापञ्जा ४ मा दर्शकको चाप उच्च देखिएको छ,’ ढकालले अनलाइनखबरसँग भने, ‘मध्यपूर्व नेपाली फिल्मको ठूलो बजार बन्दैछ भन्ने स्पष्ट संकेत यसले दिन्छ । हामी यो ओपनिङबाट उत्साहित छौं ।’

निर्माता तथा अभिनेता दीपकराज गिरीले दुबईमा समेत एकसाथ रिलिज भएका हिन्दी फिल्मभन्दा छक्कापञ्जाको शो बढी भएको र दर्शकको चाप पनि नेपाली फिल्ममै भएको बताएका छन् । त्यहाँका मल्टिप्लेक्स सञ्चालकले वितरकलाई रातो कोट लगाउनेको फिल्मलाई यसपछि पनि ल्याउन सुझाव दिएको समेत आफूले पाएको समेत गिरीले बताए ।

चलचित्र विकास बोर्ड र वितरण कम्पनी नेपफिल्म्सबीच भएको सहमतिपछि छक्कापञ्जा ४ मध्यपूर्वमा रिलिज हुने पहिलो फिल्म हो । यी चार मुलुकबाहेक साउदी अरब र कुवेतमा पनि फिल्म प्रदर्शनको तयारी भइरहेको छ । मध्यपूर्वबाहेक फिल्मले अमेरिका, अष्ट्रेलिया र युरोपेली मुलुकमा समेत राम्रो कमाइ गरिरहेको निर्माता गिरीले जानकारी दिए ।

हेमराज बीसी निर्देशित फिल्ममा दीपकराज गिरीसहित दीपाश्री निरौला र बेनिशा हमालको शीर्ष भूमिका छ । फिल्ममा नीर शाह, केदार घिमिरे, बुद्धि तामाङ, राज आचार्य लगायतको पनि अभिनय छ ।

फिल्मले पहिलो साता नेपालमा आठ करोड रुपैयाँ हाराहारीमा कमाइ गरेको छ । दोस्रो शुक्रबार र शनिबार पनि फिल्मको कमाइमा उछाल देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?