+
+

ठेकेदारको लापरबाही टुलुटुलु हेरेर बस्न सक्दिन : यातायातमन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते १५:०५

२८ फागुन, काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्सान हुनेगरी निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर बस्न नसक्‍ने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४औँ साधारण सभा समुद्‌घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निर्माण व्यवसायीहरुले जिम्मा लिएको काम समयमै सम्पन्न नगर्ने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘दश वर्ष अगाडी बिड गर्ने एउटा पुलको एउटा पिल्लर खडा गरेर बस्न मिल्छ ? राजधानिकै अगाडी यही टेकुमा एउटा पुल छ, जो क्राइटीस्मा मेल खाँदैनन् त्यसलाई बुझाउन खोज्नु मिल्छ ? सरकारले लिन मिल्छ ? बाटाघाटा बुझाउन नपाइकन पर्सिदेखि टाल्नुपर्ने स्थिति पैदा हुन्छ । त्यो मिल्छ ?,’ उनले भने, ‘मैले भनेको हामी सबै मिलेर गरौँ न । मलाई त अहिले निन्द्रा लाग्दैन । तपाईहरुलाई भुक्तानी पनि दिन नसक्दा, फाइल पेन्डिङ भयो, न्यायोचित छ भने किन समय लगाइदिने ? किन तुरुन्तै नगर्ने ? राज्यले दुःख दिन पाए, लम्ब्याइदिन पाए, अलि अलि के–के, के–के गर्न पाए भनेर हुन्छ र ?’

उनले निर्माण व्यवसायीहरुले सम्झौता अनुरुपको काम नगरेर उपेक्षा गरेका छन् भने आफू टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए । उनले काममा उपेक्षा भएमा आवश्यक कारबाही गरिने बताए ।

उनले भने, ‘ राज्य, सरकारले त जिम्मेवारीबोध गरेर विलम्ब नगरीकन नियमसंगत हुने काम छिटोछिटो गरिदिनुपर्‍यो नि। त्यसमा जे कमजोरी भएको छ, त्यसलाई सच्याइन्छ । तर यति कुराचाहीँ तपाईहरुसँग भन्नै पर्छ मैले राज्यलाई, राष्ट्रलाई, जनतालाई नोक्शानी हुनेगरी निर्माण व्यवसायीले गरेका उपेक्षा छन् भने त्यसलाई पनि म टुलुटुलु हेरेर बस्न सक्दिनँ । आवश्यक कारबाहीको प्रक्रियामा जानेछु।’

मन्त्री श्रेष्ठले समयमै निर्माण सम्पन्न नगर्ने कम्पनीहरुसँग ठेक्का रद्द गर्नसक्नेतर्फ पनि सचेत गराए । उनले निर्माण व्यवसायीलाई परेको समस्या समाधानका लागि आफु जुन कुनै मन्त्रालयसँग समन्वय गर्ने भन्दै निर्माण व्यवसायीहरुले पनि जिम्मा लिएको काम सम्झौता अनुरुप समयमै पूरा गर्ने संकल्प गर्नुपर्ने बताए ।

उनले भने, ‘देशको विकास निर्माणको आयोजनाको जिम्मा लिएको छु, जुन प्रकारको म्याण्डेडमा मैले काम गर्छु भनेको छु, अब म गरेर देखाउँछु भनेर तपाईहरुको संकल्प छ कि छैन ? त्यो संकल्पको आवश्यकता छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?