+
+

अझै शक्तिशाली बने सी जिनपिङ, यी हुन् उनका नयाँ विश्वासपात्र

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १४:०६

२९ फागुन, काठमाडौं । चीनको संसद नेशनल पिपल्स अफ कंग्रेसको १४ औँ अधिवेशनले मुलुकलाई आर्थिक र सैन्य रूपमा शक्तिशाली बनाउने नीति पारित गरेको छ । राष्ट्रपति सी जिनपिङको तेस्रो कार्यकालको अनुमोदन र नयाँ प्रधानमन्त्री घोषणा गरेको चिनियाँ संसदले मुलुकलाई आर्थिक र सैन्य रूपमा अझै शक्तिशाली बनाउने नीति पारित गरेको हो ।

संसदीय अधिवेशनको समापनपूर्व बोल्दै राष्ट्रपति  सी जिनपिङले सुरक्षा विकासको पहिलो आधार रहेको बताए । यस्तै समृद्धिका लागि स्थिरता अनिवार्य शर्त रहेको भन्दै उनले राष्ट्रको स्वाधिनता  र सार्वभौमसत्ताको रक्षाका लागि रक्षा प्रणालीमा नयाँ आविष्कार र थप आधुनिकता आवश्यक रहेको धारणा राखे ।

‘राष्ट्रको स्वाधीनताको रक्षाका लागि र प्रतिरक्षा प्रणाली बलियो बनाउन हामीले हाम्रो सैन्य शक्तिलाई थप बलियो बनाउनैपर्छ । हाम्रो सैन्य संयन्त्र बलियो भएमात्रै समग्र विकासमा आरामदायी तरिकाले लाग्न सकिन्छ’, सीले भनेका छन्, ‘जनताको विश्वास आर्जन गर्नु सबैभन्दा जटिल काम हो र मेरो काँधमा यो जिम्मेवारी छ ।’

सी जिनपिङ चीनलाई सबैभन्दा धेरै कार्यकाल नेतृत्व गर्ने माओपछिका दोस्रो नेता हुन् । संसदको अधिवेशनबाट उनले आफ्ना विश्वासपात्रलाई विभिन्न पद दिएका छन् । सीले ली छ्याङलाई प्रधानमन्त्री घोषणा गरे । आफ्नो तेस्रो कार्यकालमा सहयोग गर्ने उच्चपदस्थ व्यक्ति छनौट गरे । समग्र चीन राज्यपरिषद्बाट सीको नीति अनुसार शासित हुन्छ, त्यहाँ १० जना हुन्छन् । जसले प्रान्तका प्रशासनदेखि संघीय २६ मन्त्रालयलाई निर्देशन गर्छन् । राज्य परिषद्मा छनौट भएका सबै व्यक्ति सीका विश्वासपात्र हुन् ।

तेस्रो कार्यकालमा आइपुग्दा उनले पूर्व राष्ट्रपति हु जिन ताओ र  युथ लिग निकट सबैलाई पन्छाएका छन् । ‘सरकार पनि अधिकतम रूपमा पार्टीकै नियन्त्रणमा भएपछि अब चीन सीको निजी विचार, नीति वा सिद्धान्तमा चल्ने निश्चित छ’, विश्लेषक कोर्नर स्वान्क भन्छन् । उनी सेन्टर फर एडभान्सड रिसर्च चाइनासँग आवद्ध छन् ।

नियुक्ति हेर्दा सीको स्वीकृति बेगर सुधारका काम अघि बढाउनु निकै कठिन रहेको अर्का विश्लेषक कार्स्टन ह्लज बताउँछन् । ‘पार्टीको नियन्त्रणमा रहेको वित्तीय प्रणाली र समग्र विषयमा सीको स्वीकृति वेगर केही सुधार हुनेछैन’, होल्जले भनेका छन् ।

यी हुन् सीले चयन गरेका विश्वासपात्र

प्रधानमन्त्री ली छ्याङ

सीले प्रधानमन्त्रीमा ली छ्याङलाई नियुक्त गरेका छन् । उनी सांघाईको पार्टी सचिव थिए । ६३ वर्षीय उनी सीका अत्यन्त्यै विश्वास पात्र हुन् । गत अक्टोबरमा उनी कम्युनिस्ट पार्टीको दोस्रो बरियतामा छनौट भएका थिए । सीसँगको निकटताकै कारण उनले छलाङ मार्न सफल भएका हुन् ।

उपल्लो वरियताका उपप्रधानमन्त्री दिङ स्योयाङ

६० वर्षका दिङ कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयको निर्देशक थिए । सन् २०१७ देखि उनले यो जिम्मेवारी सम्हालेका थिए भने उनी सीका सहयोगी समेत थिए ।

गत अक्टोबरमै उनको पनि पोलिटब्यूरो स्थायी समितिमा बढुवा भएको थियो । दिङले आफ्नो राजनीतिक करियर सांघाइबाटै सुरू गरेका थिए । अन्य उच्च वरियताका  नेताहरूलेझैँ दिङले कहिल्यै पनि प्रान्तको नेतृत्व भने गरेका छैनन् ।

उपप्रधानमन्त्री हु लिफङ

६८ वर्षीय हु लिफङले आर्थिक मामिला हेर्नेछन् । उनी राष्ट्रिय विकास र सुधार आयोगको पूर्व प्रमुख समेत हुन् । उनी नीति निर्माणमा अब्बल मानिन्छन् । अर्थशास्त्रमा उनले विद्यावारिधि गरेका छन् ।

उनले चीनको केन्द्रीय बैंक पिपल्स बैंक अफ चाइनाका गर्भनरसँग सहकार्य गर्नेछन् । सन् २०२३ मा चीनको कुल ग्राहस्थ उत्पादन ५ प्रतिशतले वृद्धि गर्नुपर्ने लक्ष्य पुरा गर्न उनले काम गर्नेछन् ।

उपप्रधानमन्त्री जाङ वचिङ

जाङसँग कर्पोरेट अनुभव छ। उनी यसअघि याओनिङ प्रान्तका पार्टी सचिव थिए । त्यसअघि उनी तियान्जिन र चोङकिन शहरका मेयर समेत भएका थिए । अर्थशास्त्रमा विद्यावारिधि गरेका जाङ पनि नीति निर्माणमा अब्बल मानिन्छन् ।

विदेशमन्त्री चिन गाङ

५६ वर्षका चिन गाङ राज्यपरिषद्का सबैभन्दा कान्छा सदस्य हुन् । उनलाई गत डिसेम्बरमै विदेश मन्त्रालयको जिम्मा दिइएको थियो । अमेरिका चीनप्रति आक्रामक बनिरहेका बेला अन्तर्राष्ट्रिय मञ्चहरूमा त्यसका विरूद्ध उनले कडा प्रतिवाद गर्नुका साथै चिनियाँ नीतिमा मित्रराष्ट्रहरूलाई गोलबद्ध गराउन  उनले महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने अपेक्षा राखिएको छ । उनी करियर कुटनीतिज्ञ हुन् । सन् २०२१ देखि २०२३ सम्म उनी संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत थिए ।

संसदको अधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री लीले  चीनको कुल ग्रार्हस्थ्य उत्पादन ५ प्रतिशतले वृद्धि गर्ने काम निकै सकसपूर्ण रहेको बताएका छन् । ‘सन् २०२३ भित्र यो लक्ष्य हाँसिल गर्ने काम निकै चुनौतीपूर्ण छ । यसका लागि हामीले हाम्रो प्रयत्नलाई दोब्बर वृद्धि गर्नुपर्छ’, उनले भनेका छन् ।

प्रधानमन्त्री लीले राष्ट्रपति सीको शून्य कोभिड नीति निकै जायज रहेको बताएका छन् । उनले अमेरिकाको दबाव र घेराबन्दी आफूहरूलाई स्वीकार्य नरहेको बताए । ‘चीन र अमेरिकाबीच द्वन्द्वको नभएर सहकार्यमुलक प्रतिस्पर्धा हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । चीनविरूद्ध अमेरिकी घेराबन्दी हामीलाई स्वीकार्य छैन’, लीले भनेका छन्।

चीनको संसदले संकटकालीन कानुनको संशोधनको प्रस्तावलाई अनुमोदन गरेको छ । संसदको अधिवेशनले यसलाई अनुमोदन गरेसँगै नेशनल पिपल्स अफ कंग्रेसको १ सय ७० स्ट्याडिङ समितिले यस विषयमा कानुन बनाएर पारित गर्नेछ। चिनियाँ संसदको १४ औँ अधिवेशन सोमबार नै समापन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?