+
+

तुलसी सहकारीका सञ्चालकविरुद्ध ठगी मुद्दा चलाउने तयारी, अध्यक्ष अझै फरार

उजुरी दिन बचतकर्ताको लाम

हरि अधिकारी हरि अधिकारी
२०७९ फागुन २९ गते १४:३३

२९ फागुन, विराटनगर । १० हजार भन्दा बढी सर्वसाधारणको करिब एक अर्ब ४९ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तुलसी बहुमुखी सहकारी संस्थाका दुई सञ्चालक र एक व्यवस्थापकलाई ठगी मुद्दा चलाउने तयारी गरेको छ । सहकारी मार्फत सर्वसाधारणको रकम संकलन गरेर ठगी गरेपछि ठगी मुद्दा चलाउने तयारी गरेको हो ।

प्रहरीले सहकारीको उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दीप खवासलाई पक्राउ गरेको हो । सहकारीका अध्यक्ष केदारनाथ शर्मा भने अझै फरार छन् । फरार अध्यक्षको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए ।

जिल्ला प्रहरी कार्यालयमा हालसम्म १२१ जनाले १२ करोड ९ लाख ४ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी गरेका छन् । सहकारीबाट विराटनगर महानगरपालिका भित्र मात्रै ४ हजार जना भन्दा बढी ठगिएका छन् । प्रहरी उपरीक्षक पोखरेलले बचत फिर्ता नपाएका बचतकर्तालाई उजुरी गर्न आग्रह गरे ।

नेपालभर कार्यक्षेत्र रहेको सहकारीको मुख्य कार्यालय विराटनगरमा छ । झापाको दमक, उदयपुरको गाइघाट र सिराहाको गोलबजारमा सेवा केन्द्र सञ्चालन गरिरहेको छ । सहकारीमा २१ हजार ७ सय १३ जना सदस्य छन् ।

सर्वसाधारणको बचत फिर्ता गर्न नसकेपछि विराटनगरमा रहेको दुई वटा कार्यालयसहित झापा, उदयपुर र सिराहामा भएको कार्यालय बन्द छन् । फागुन १ गतेबाट सहकारीले सञ्चालन गरेको अन्य व्यवसाय पनि बन्द छन् ।

१५ प्रतिशतसम्म ब्याज दिने भन्दै सहकारीले लोभ देखाएपछि एक बचतकर्ताले एक करोडसम्म बचत गरेका छन् । सहकारी नै टाट पल्टिएपछि सर्वसाधारणको बचत जोखिममा परेको छ ।

संस्थाका अध्यक्ष केदारनाथ शर्मा भारतमा छन् । सर्वसाधारणले बचत फिर्ता माग्दै प्रदर्शन गरेपछि अध्यक्षको आफन्त सहकारीकी सचिव सविना न्यौपाने र उपाध्यक्ष अनिता गौतमलाई प्रहरीले पक्राउ गरेको थियो । अध्यक्ष र सचिवको सक्रियतामा चलेको सहकारीमा संकलन भएको रकम व्यक्तिगत स्वार्थका आधारमा प्रयोग गरेपछि सहकारी टाट पल्टिएको थियो । सहकारीले सर्वसाधरणबाट संकलन गरेको रकम कृषि व्यावसाय, राइस मिल, घडेरी खरिद लगायतमा क्षेत्रमा लगानी गरेका छन् ।

सहकारीबाट विराटनगरमा मात्रै ५० करोड भन्दाबढी रकम सर्वसाधरणबाट संकलन गरेको प्रहरीको दाबी छ । ‘अहिलेसम्म १२१ जनाले उजुरी गर्नु भएको छ, विराटनगरमा मात्रै ४ हजार भन्दा बढी व्यक्तीले बचत गर्नु भएको छ,’ प्रहरी उपरीक्षक पोखरेलले भने, ‘उजुरी गर्ने क्रम बढ्दो छ, ठगीको रकम पनि बढ्दै जान्छ ।’

प्रहरीले ठगी मुद्दा चलाउने तयारी गरेपछि सहकारीका बचतकर्ता उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । सहकारीबाट ठगिएको भन्दै उजुरी गर्नेको जिल्ला प्रहरी कार्यालय अगाडि लामो लाइन छ ।

बचत जोखिममा

१ फागुनखि बन्द भएको सहकारी तत्काल खोलेर लगानी उठाएर बचत फिर्ता गर्ने भन्दै सञ्चालकले बचतकर्तालाई आश्वासन दिएका थिए । तर प्रहरीले सञ्चालकविरुद्ध ठगी मुद्दा चलाउने भएपछि सहकारी सञ्चालनमा अन्योल भएको छ । सर्वसाधारणको एक अर्ब ४९ करोड रुपैयाँ बचत पनि जोखिममा परेको छ । बजारमा गरेको लगानीउठाएर फिर्ता गर्ने भनेपछि केही बचतकर्ताले सहकारी सञ्चालनको बातावरण बनाइरहेका थिए । तर ठगी मुद्दा चल्ने भएपछि सहकारी सञ्चालन र बचत फिर्ता अन्योल बनेको हो ।

जिल्ला प्रहरी कार्यायल मोरङका प्रहरी उपरीक्षक पोखरेल बचत फिर्ताका विषयमा सहकारी विभागले हेर्ने बताउँछन् । प्रहरीमा ठगीको उजुरी आएपछि सञ्चालकलाई पक्राउ गरेको बताउँदै उनले भने,‘बचतको विषय हेर्ने छुट्टै निकाय छ, हामीले ठगीमा कारबाही प्रकृया अगाडि बढाउँछौं ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?