+
+

राष्ट्रपतिले थाले टिम निर्माणको तयारी, को-को छन् सम्भावित अनुहार ?

राष्ट्रपति निकट स्रोतका अनुसार पौडेलले बाबुराम कुँवर, विनोद भट्टराई, चिरञ्जीवी अधिकारी, खिला कार्की लगायतलाई प्रारम्भिक चरणमा नियुक्ति दिने तयारी गरेका छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०७९ फागुन २९ गते २१:०७
बायाँबाट बाबुराम कुँवर, विनोद भट्टराई, चिरञ्जीवी अधिकारी, खिला कार्की

२९ फागुन, काठमाडौं । नीति सिद्धान्तका कुरामा दिलचस्पी राख्ने थोरै नेतामध्ये पर्छन्, रामचन्द्र पौडेल । २५ फागुनमा राष्ट्रपति चुनिएसँगै उनले भनेका थिए, ‘नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा मार्गनिर्देशक सिद्धान्त रहनेछन् ।’

देशको सर्वोच्च पदमा पुगेका पौडेलको पदको कार्यभार तथा संवैधानिक सीमाबाट दायाँ-बायाँ नगर्ने वास्तविक परीक्षा सोमबारबाट सुरु भएको छ । संवैधानिक दायराबाट पर नजाने प्रतिबद्धता पौडेलले १३ फागुनमा राष्ट्रपतिको उम्मेदवारी दर्तादेखि नै गर्दै आएका छन् ।

‘राष्ट्रपति–संस्था’ले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण गर्दछु’, राष्ट्रपति पौडेलले प्रतिबद्धता गरेका छन् ।

पौडेलले औपचारिक रूपमा पदीय भूमिका सोमबारबाट सुरु गरेका छन् । शीतल निवासमा सोमबारबाट मात्रै प्रवेश गरेकाले उनीमाथि भूमिकालाई लिएर प्रश्न उठ्ने अवस्था छैन । तथापि, औपचारिक पद ग्रहण गर्नुअघि उनले मठ–मन्दिरको भ्रमण गर्दा बेला भएको सवारी अव्यवस्थामाथि प्रश्न उठेको थियो ।

राष्ट्रपति निर्वाचित हुने दिन २५ फागुनमा नागरिकलाई सास्ती नदिने उनको वचन भोलिपल्ट आंशिक रूपमा कार्यान्वयन भएको थियो । पशुपतिको दर्शन गर्न जाने क्रममा मन्दिर वरपरको सडक खाली बनाइएको भन्दै उनको आलोचना समेत भएको थियो ।

शपथ ग्रहण अघि राष्ट्रपति पौडेल पशुपतिनाथ, स्वयम्भू, पुष्पलाल पार्क, भट्टराई आश्रम बाँडेगाउँ, बीपी संग्रहालय सुन्दरीजललगायत स्थानमा पुगेका थिए । नागरिकले राष्ट्राध्यक्षको रूपमा राष्ट्रपतिलाई देख्न चाहेको कांग्रेस महामन्त्री गगन थापा बताउँछन् ।

‘हामीले राजाकै हैसियतमा राष्ट्रपति खोज्न भएन’ महामन्त्री थापा भन्छन्, ‘सवारी गरिबक्सने, भुजा ज्युनार गरिबक्सने राष्ट्रपति होइन । जनताको राष्ट्रपति देख्न चाहेका हौं ।’

राष्ट्रपति पौडेलले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सोमबार शपथ लिए । शपथ ग्रहण समारोहमा राष्ट्रपति पौडेलले जेल जीवन सँगै कटाएका पुराना हितैषीहरूलाई आमन्त्रण गरेका थिए । १४ वर्षे जेल जीवनमा आफूसँगै राजनीतिक बन्दीका रूपमा रहेका इन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मालाई पौडेलले शीतलनिवास डाकेका थिए ।

पौडेलले जेल बस्दा उनका लागि दूध ल्याइदिनेलाई समेत स्मरण गरेर निमन्त्रणा गरेका छन् । बागलुङ जेलमा रहँदा पौडेलका लागि हरेक दिन दूध ल्याइदिने डिलप्रसाद सापकोटा (सापकोटा बाजे) लाई जिल्लाबाट काठमाडौं बोलाएका थिए । तर उनी शपथ समारोहमा उपस्थित हुन सकेनन् ।

‘राष्ट्रपतिले बोलाउनुभएको थियो, म घरायसी कामले आउन पाइनँ’ बागलुङबाट टेलिफोनमा उनले भने, ‘अर्को हप्ता आएर भेट्छु ।’ शपथ ग्रहणसँगै शीतलनिवासको बसाइ सुरु गरेका पौडेलले आफ्नो सचिवालयको तयारी समेत गरेका छन् । पौडेलले केही व्यक्तिलाई १/२ दिनमै औपचारिक रूपमा नियुक्ति दिने तयारी गरेका छन् ।

राष्ट्रपति निकट स्रोतका अनुसार पौडेलले बाबुराम कुँवर, विनोद भट्टराई, चिरञ्जीवी अधिकारी, खिला कार्की लगायतलाई प्रारम्भिक चरणमा नियुक्ति दिने तयारी गरेका छन् ।

कुँवर गण्डकी प्रदेशका पूर्व प्रमुख तथा पूर्व न्यायाधिवक्ता हुन् । कानुनी सल्लाहकारको भूमिका कुँवरले प्राप्त गर्ने कांग्रेस नेताको दाबी छ । अर्घाखाँचीका कुँवर २०७४ को माघमा गण्डकीको प्रदेश प्रमुख बनेका थिए । वरिष्ठ अधिवक्ता कुँवर पृथ्वीनारायण क्याम्पस पोखरामा कानुन विषयको पहिलो ब्याचका विद्यार्थी हुन् ।

पृथ्वीनारायण क्याम्पसमा २०३४/३५ सालमा कानुन विषय पढेका कुँवरले झन्डै ३० वर्ष वकालत गरे । कांग्रेस पूर्व सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता बनेका कुँवर कांग्रेसनिकट कानुन व्यवसायीको छाता संगठन डेमोक्रेटिक लयर्स एशोसिएसनका पूर्वअध्यक्ष समेत हुन् ।

राष्ट्रपति पौडेलले शीतलनिवासमा आफ्नो सचिवालयमा राख्न चाहेका विनोद भट्टराई कांग्रेसका पूर्व सभापति कृष्णप्रसाद भट्टराईका भतिजा हुन् । पूर्व सभापति भट्टराईका दाजु गोपाल भट्टराईका पुत्र विनोदलाई शीतलनिवासमा कुनै जिम्मेवारी प्रदान गर्ने राष्ट्रपति निकटका व्यक्तिको दाबी छ ।

उनका अनुसार राष्ट्रपतिमा निर्वाचित भइसकेपछि पौडेलले भट्टराईलाई बोलाएर दुई पटक भेटिसकेका छन् । भट्टराई विगतमा शिक्षण पेशामा आवद्ध थिए । ‘किसुनजीका भतिजालाई राष्ट्रपति कार्यालयमा कहीं न कहीं जिम्मेवारी दिने कुरा छ’, राष्ट्रपति निकट स्रोतको दाबी छ ।

पौडेलको स्वकीय सचिवको रूपमा विगतदेखि कार्य गर्दै आएका चिरञ्जीवी अधिकारीलाई सोही पदमा निरन्तरता दिने तयारीमा राष्ट्रपति छन् । प्रेस युनियनको राजनीतिबाट हाल अलग रहेका खिला कार्कीले प्रेस संयोजन गर्ने गरी नियुक्ति पाउने सम्भावना रहेको छ ।

विज्ञकै रूपमा राष्ट्रपति कार्यालयमा फरक–फरक क्षेत्रका सात जनाले नियुक्ति पाउन सक्नेछन् । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले विज्ञसहित ९७ जनालाई विभिन्न पदमा नियुक्त गरेकी थिइन् ।

राष्ट्रपति पौडेलले तत्कालका लागि सीमित व्यक्तिलाई नियुक्त गर्ने उनी निकट व्यक्तिहरूको दाबी छ । ‘तत्कालका लागि १०÷११ जनाको टोली राष्ट्रपतिको कार्यलाई सहज बनाउन नियुक्त हुनेछन्’ राष्ट्रपति निकट स्रोतले भन्यो ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?