+
+

कल्चरल भिलेजमा ‘उन्नती मेला’

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३० गते ७:५६

३० फागुन, चितवन । पूर्वी नवलपरासी (नवलपुर)को हर्कपुरस्थित उन्नती कल्चरल भिलेजले दोस्रो वार्षिकोत्सव एवम् एकदिने ‘उन्नती मेला’ आयोजना गरेको छ । नवलपुर र चितवन जिल्लाका महिला लघु उद्यमी र युवा उद्यमीहरुलाई सहयोग एवम् सशक्तीकरण गर्ने उद्देश्यले एकदिने मेला आयोजना गरिएको हो ।

मेलामा डिजिटल एन्ड मोबाइल बैंकिङ वर्कसप, डिजिटल मार्केटिङ एन्ड ई–कमर्स ट्रेनिङ, नवलपुर रेसिडेन्सी एक्जिबिसन र ओपन–एयर म्युजियम उद्घाटनलगायत विभिन्न गतिविधि गरिएको थियो ।

स्थानीय महिला लघु उद्यमी र महिला समूहहरूलाई लक्षित गरेर व्यवसाय विस्तार गर्न र वित्तीय साक्षरताको बारेमा कार्यशालाले सहयोग गरेको भिलेजकी कम्युनिकेसन तथा प्रोजेक्ट म्यानेजर सविना आचार्यले जानकारी दिइन् ।

यसैगरी मेलामा अश्विन न्यौपानेले डिजिटल मार्केटिङ र ई–कमर्स तालिमको सहजीकरण गरेका थिए । विशेषगरी युवा उद्यमी, मार्केटिङ प्रोफेसनल एवम् बिजनेस स्टार्टअपहरूका लागि लक्षित गरेर यस्तो कार्यशाला गरिएको हो । विशेषगरी सोसल मिडिया मार्केटिङ, सर्च इन्जिन अप्टिमाइजेसन (एसईओ), डिजिटल मार्केटिङ, डाटा एनालाईसिस् र ब्रान्ड व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा तालिम केन्द्रित थियो ।

मेलाको मुख्य आकर्षणका रुपमा नवलपुर रेसिडेन्सी एक्जिबिसन र ओपन एयर म्युजियम उदघाटनको गरिएको थियो । नवलपुर रेसिडेन्सी एक्जिबिसनमा नवलपुर र चितवनको ग्रामीण जीवनका दिनचर्या एवम् लोप हुन थालेका आदिवासी थारु, बोटे, कुमाल जातिको संस्कृति र भेषभुषालाई समेटिएका तस्वीरहरु राखिएका छन् । ६ जना फोटोग्राफर र भिडियोग्राफरहरुलाई आवासीय रुपमा राखेर उनीहरुले नवलपरासीको अमलटारी तथा माडी क्षेत्रमा खिचेका विभिन्न तस्वीरहरुलाई प्रदर्शनीमा राखिएको छ ।

उन्नतीले खुला प्रतिस्पर्धाका माध्यमबाट एक जना भिडियोग्राफरसहित ६ जना फोटोग्राफरहरुलाई तस्वीर खिच्नका लागि आह्वान गरेको थियो । छनौट भएको ६ जनाको टोलीले एक साता लगाएर आदिवासी थारु तथा कुमाल जातिका विभिन्न संस्कृतिहरुको तस्वीर र भिडियो लिएको टोलीका एक सदस्य उद्धव केसीले जानकारी दिए ।

कल्चरल भिलेज भित्र नै ओपन–एयर म्युजियमको उद्घाटन मेलाका क्रममा गरिएको छ । नेपाली एवम् अन्तर्राष्ट्रिय कलाकारहरुको टोलीले बनाएका माटो एवं सिसाबाट निर्मित र ढुंगामा कुँदिएका कला प्रदर्शन गरिएको छ । नेपालका गोपाल कलाप्रेमी श्रेष्ठको नेतृत्वमा ७ जना विदेशी मूर्तिकारहरुको टोलीले झण्डै २० दिन लगाएर बनाएका विभिन्न कलाकृतिहरु प्रर्दशनीमा राखिएको छ ।

जर्मनी, थाइल्याण्ड, लात्भिया, अष्ट्रलिया लगायतका देशबाट आएका मूर्तिकारहरुले नेपाली जनजीवनसँग जोडिएका विभिन्न वस्तुका कलाकृति बनाएका छन् । ती कलाकृतिलाई कल्चरल भिलेजको खुला ठाउँमा राखिने जानकारी कार्यशाला संयोजकसमेत रहेका गोपाल श्रेष्ठले जानकारी दिए । विदेशी मूर्तिकारहरुलाई कार्यशाला अगाडि नेपालका विभिन्न वस्तीहरुको भ्रमण गराइएको थियो । मेलाका अवसरमा फोटोग्राफी एवं भिडियोग्राफी रेजिडेन्सी र सेरामिक रेजिडेन्सीमा सहभागी कलाकारलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।

मेलाका अवसरमा विभिन्न विद्यालयका विद्यार्थीहरुबीच चित्र बनाउने कार्यशालासमेत राखिएको थियो । स्थानीय मगर तथा थारु जातिले जातीय पहिचान झल्काउने विभिन्न सांस्कृति प्रस्तुतीसमेत मेलामा देखाएका थिए ।

मेलामा पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, गैंडाकोट नगरपालिका उपमेयर शान्ति कोइराला लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?