+

छोरीको पहिलो महिनावारी, सिकाउनुपर्ने चार कुरा

२०७९ चैत  २ गते १३:४४ २०७९ चैत २ गते १३:४४
छोरीको पहिलो महिनावारी, सिकाउनुपर्ने चार कुरा

पहिलो महिनावारीलाई लिएर बालिकाको मनमा धेरै प्रश्न उठ्न सक्छन् । अधिकांश बालिकालाई महिनावारीको विषयमा यथेष्ट जानकारी नहुन सक्छ ।

अप्रत्यासित रुपमा आफू महिनावारी हुँदा एक किसिमको भय मनमा उत्पन्न हुन्छ । आफूसरहका साथीले आफ्ना अनुभव बाँडेका हुन सक्छन्, तर अपरिपक्व उमेर भएकाले दुविधा र अत्यास लाग्न सक्छ । त्यसैले महिनावारी सामान्य प्राकृतिक प्रक्रिया हो भनेर अभिभावकले पहिले नै आफ्नी छोरीसँग छलफल र जानकारी दिंदा राम्रो हुन्छ ।

पहिलो महिनावारी हुने उमेर

सामान्यतया महिनावारी सुरु हुने उमेर १३ वर्ष हो । तर खानपान, बदलिंदो जीवनशैली र वातावरणका कारण अहिले ११-१२ वर्षकै उमेरबाट बालिकाहरुमा महिनावारी सुरु हुने गरेको छ ।

त्यस्तै घरमा भन्दा बाहिरका खानेकुरा बढी र व्यायाम कम हुँदा मोटोपन पनि बढ्छ । मोटोपन हुने बालिकामा इस्ट्रोजन हार्मोनको स्तर बढ्छ, जसले महिनावारी छिटो गराउँछ । कहिलेकाहीं यो उमेरभन्दा पहिले वा पछि पनि हुन सक्छ । तर ११ वर्षभन्दा कम उमेरमा महिनावारी देखिएमा स्वास्थ्य समस्या भएको पनि हुन सक्छ ।

छिट्टै महिनावारी हुँदा देखिन सक्ने समस्या

११ वर्षभन्दा कम उमेरमा महिनावारी भएमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्छन् । वंशाणुगत कारण, हार्मोनमा ट्युमर देखिनु, दिमागमा कुनै समस्या वा ट्रमा, हाइपोथाइराइडिज्म, अण्डाशयको ट्युमर जस्ता समस्याले छिटो महिनावारी हुन सक्छ । त्यसैले ११ वर्षभन्दा कम उमेरमा महिनावारी भएमा स्वास्थ्य परीक्षण गराउनुपर्छ ।

पहिलो महिनावरी हुनुअघि कुनै लक्षण थाहा हुन्छ ?

महिनावारी हुनु एक वर्षअघि नै बालिकाको शारीरिक विकास तीव्र हुन थाल्छ । स्तन बढ्दै जाने, गुप्ताङ्गमा रौंहरु पलाउन थाल्ने, शरीर पनि पहिले भन्दा फरक हुँदै जाने हुन्छ । योनी स्राव महिनावारी सुरु हुनुभन्दा लगभग ६ देखि १२ महिनाअघि सुरु हुन्छ । त्यस्तो अवस्थामा अभिभावक सहज हुनुपर्छ र उनीहरुलाई महिनावारीको लागि तयार गराउनुपर्छ ।

महिनावारी हुनु केही दिनअघिदेखि केही लक्षण देखिन्छन् । अनुहारमा डन्डीफोर आउने, स्तन बढ्ने, ढाड दुख्ने, कब्जियत, पखाला, खुट्टा वा तिघ्रामा दुखाइ हुने, सामान्यभन्दा धेरै थकित महसुस हुने, धेरै भावुक वा चिडचिडापन महसुस हुने हुन्छ । यद्यपि यी लक्षण सबैलाई देखिन्छ भन्ने हुँदैन । पहिलो महिनावारीमा अण्डा फुटिसकेको हुँदैन, जसले धेरै पीडादायी भने नहुन सक्छ ।

मानसिक रुपमा तयार राख्ने ?

छोरीमा शारीरिक परिवर्तन देखिन थालेपछि महिनावारी सुरु हुन लाग्यो कि भन्ने सोचेर अभिभावकले आवश्यक जानकारी दिनुपर्छ । यो छोरी मान्छेमा हुने स्वभाविक प्राकृतिक प्रक्रिया हो भनेर मानसिक रुपमा तयार राख्नुपर्छ ।

पहिलो महिनावारी जुनसुकै समयमा हुन सक्ने भएकाले प्याडको प्रयोग गर्ने तरिका सिकाउनुपर्छ । महिनावारी सुरु हुने उमेरमा प्रवेश गरेपछि ब्यागमा प्याड राखिदिने गर्दा राम्रो हुन्छ ।

पहिलो महिनावारी भएपछि के के कुरा सिकाउने ?

-सर्वप्रथम महिनावारी भएपछि उनीहरुलाई प्याड लगाउन सिकाउनुपर्छ । लामो अवधिसम्म प्याड लगाउँदा कीटाणुको संक्रमण हुन सक्ने हुँदा दुई-दुई घण्टामा फेर्नुपर्छ भनेर सिकाउनुपर्छ । राम्रो प्याड, ट्यापुन र महिनावारीकपका बारेमा पनि जानकारी दिनुपर्छ । ती सामग्रीहरु घरमै ल्याएर राखिदिनुपर्छ ।

-कहिलेकाहीं रगतको स्रावले प्याडदेखि अण्डरवेयरसम्म भिज्ने हुन सक्छ । त्यसैले स्कुल पठाउँदा अर्को एउटा अण्डरवेयर पनि साथमा लैजान सिकाउनुपर्छ ।

-अत्यधिक पेट दुखेको छ भने सहेर बस्न हुँदैन भनेर सिकाउनुपर्छ । यसको समाधानको लागि पेनकिलर खान सकिन्छ यसले दुखाइ कम गर्छ र कहिलेकाहीं खाँदा खासै फरक पर्दैन । तातो, झोलिलो र पोषिलो खानेकुरा खानमा जोड दिने र हट वाटर ब्यागले पेटमा सेक्न पनि सकिन्छ ।

-यौनसँग सम्बन्धित परिवर्तन सामान्य हुन् । आफूमा भइरहेको परिवर्तनबारे खुलेर भन्न सिकाउने, त्यसको अर्थ बुझाउने र संकोच मान्न हुँदैन भन्ने जस्ता कुरा सिकाउँदा उनीहरुमा सचेतना र सहजता आउँछ ।

(डा. प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन् ।)

पहिलो महिनावारी स्वास्थ्य
डा. प्रियंका त्रिपाठी
लेखक
डा. प्रियंका त्रिपाठी
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १०५४७ अध्ययन : एमबीबीएस, एमएस, फेलोसिप (कस्मेटिक गाइनोकोलोजी) हाल काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पताल, ललितपुरको धापाखेलस्थित सुमेरु अस्पताल र जावलाखेलस्थित वान क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय