+
+

स्ववियु निर्वाचनमा पार्टीका केन्द्रीय नेता पनि खटिए

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते १६:१२

२ चैत, कामठाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पार्टी निकट संगठनलाई जिताउनका लागि मूलधारका दलहरुले केन्द्रीय नेताहरु नै खटाएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेले घोषित रुपमा नेताहरुलाई जिम्मेवारी दिएको छैन ।

तथापि, संयोजन भने केही नेताहरुले गरिरहेका छन् । आगामी आइतबार हुने स्ववियु निर्वाचनका लागि अरु दलभन्दा अघि बढेर माओवादीले केन्द्रीय नेताहरुलाई जिम्मेवारी दिएको छ ।

माओवादी केन्द्रले काठमाडौंका २२ क्याम्पसमा केन्द्रीय नेताहरुलाई खटाएको छ । कतिपय क्याम्पसमा माओवादी केन्द्रले दुई जना नेतालाई समेत संयोजनको जिम्मेवारी दिएको छ । सानोठिमी क्याम्पसमा उपाध्यक्ष अग्निप्रसाद सापकोटा पार्टीबाट खटिएका छन् । केन्द्रीय क्याम्पस त्रिभुवन विश्वविद्यालय कीर्तिपुर चुनावी संयोजनका लागि उपमहासचिव शक्तिबहादुर बस्नेतले जिम्मेवारी पाएका छन् ।

पुल्चोक क्याम्पसमा पनि माओवादी केन्द्रले दुई जनालाई खटाएको छ । उपमहासचिव पम्फा भुसाल र केन्द्रीय सदस्य अनिल शर्मा अखिल क्रान्तिकारीलाई जिताउनका लागि भूमिका पाएका छन् । थापाथली इन्जिनियरिङ क्याम्पसमा प्रवक्ता कृष्णबहादुर महरा र केन्द्रीय सदस्य तिलकराज भण्डारीलाई खटाइएको छ ।

वाल्मीकिमा केन्द्रीय सचिव डिलाराम आचार्य, पद्यकन्यामा स्थायी समिति सदस्य शशी श्रेष्ठ, पाटन क्याम्पसमा सचिव लीलामणि पोखरेल र केन्द्रीय सदस्य युवराज चौलागाईले पार्टीबाट जिम्मेवारी पाएका छन् ।

नेपाल ल क्याम्पसमा सचिव देवेन्द्र पौडेल र केन्द्रीय सदस्य उत्तम अधिकारीलाई खटाइएको छ । शंकरदेव क्याम्पसमा सचिव डिलाराम आचार्य, पब्लिक युथमा केन्द्रीय सदस्य देवेन्द्र पराजुली, जनप्रशासनमा कल्पना शर्मा, कोटेश्वरमा झक्कुप्रसाद सुवेदी खटिएका छन् ।

यसैगरी, अमृत साइन्स क्याम्पसमा हिमाल शर्मा, महेन्द्ररत्न क्याम्पस चाहचलमा रामदीप आचार्य, काठमाडौँ शिक्षा क्याम्पसमा अञ्जना विसंखे, विश्वभाषा क्याम्पसमा सूर्य सुवेदी, सरस्वती क्याम्पसमा केन्द्रीय सदस्य जगत सिम्खडाले जिम्मेवारी पाएका छन् ।

चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठानमा केन्द्रीय सदस्य कल्पना शर्मा र अञ्जना विसंखे, ग्रामीण आदर्श क्याम्पसमा हितबहादुर तामाङ तारकेश्वर क्याम्पसमा केन्द्रीय सदस्य अनिल शर्मा, र भक्तपुर क्याम्पसमा देवेन्द्र श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

रत्नराज्यलक्ष्मी क्याम्पसमा अखिल क्रान्तिकारीका उपाध्यक्ष नरेश रेग्मीले जिम्मेवारी पाएका छन् । केन्द्रीय सदस्य सुरेन्द्र बस्नेत र दिलीप प्रजापतिले सानो ठिमी क्याम्पस भक्तपुरमा उपाध्यक्ष सापकोटासँगै सोही स्थानमा खटिने भएका छन् । चैत ९ गते त्रिचन्द्र क्‍याम्पसमा हुने स्ववियु निर्वाचनका लागि केन्द्रीय नेतालाई खटाइएको छैन। संगठनबाट अखिल क्रान्तिकारीका उपाध्यक्ष टुकमान महराले जिम्मेवारी पाएका छन।

नेपाली कांग्रेसले घोषित रुपमा केन्द्रीय नेताहरुलाई क्याम्पसहरुमा खटाएको छैन । आन्तरिक समन्वय गर्ने गरी केही नेताहरुले जिम्मेवारी भने पाएका छन् । नेविसंघलाई जिताउन पार्टीबाट समन्वय गर्ने गरि नेताहरु बालकृष्ण खाँण त्रिवि कीर्तिपुर, एनपी साउद शंकरदेव, शंकर भण्डारी त्रिचन्द्रका लागि खटिएका छन् । स्ववियु निर्वाचनका लागि पार्टीमा मूल जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्काले लिएका छन् । आफूले अध्ययन गरेको क्याम्पसमा चासो राखेर निर्वाचनमा ध्यान दिने नेताहरु भएको पूर्व संघका पूर्व अध्यक्ष नैनसिंह महरले बताए ।

टिकट वितरण तथा संघको विवाद मिलाउने गरी पूर्व अध्यक्षहरुको नौ सदस्यीय टोली समेत गठन भएको छ । पूर्व अध्यक्ष किशोरसिंह राठौर संयोजकत्वमा रहेको उक्त टोलीमा गुरुराज घिमिरे, केशव सिंह, महेन्द्र शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ, रञ्जित कर्ण, नैनसिंह महर र राजीव ढुङ्गाना छन् ।

एमालको अनेरास्ववियुको लागि केन्द्रीय नेताहरुलाई क्याम्पसमा खटाइएको छैन । अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले पार्टीका नेताहरुले क्याम्पस विशेष भनेर जिम्मेवारी नपाएको बताए ।

‘केन्द्रीय नेताहरुले कुनै एउटा क्याम्पस भनेर पार्टीले जिम्मेवारी दिएको छैन’, बडालले भने, ‘आफूले पढेको कलेजको आधारमा त्यसमै नेताहरुले ध्यान दिनु स्वभाविक हो । नेताहरु आफ्नो तरिकाले लाग्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?