+
+

पर्वतमा बैंकका कर्मचारीमाथि आक्रमण, कारबाही गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २ गते १९:३७

२ चैत, काठमाडौं । पर्वतमा बैंकका कर्मचारीमाथि आक्रमण भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार बैंकको कर्जा असुलीका लागि म्याग्दीबाट गएका एक बैंकका कर्मचारीमाथि आक्रमण भएको हो ।

आक्रमणमा परी म्याग्दीमा रहेको एनआईसी एसिया बैंकका कर्मचारी प्रकाश आले घाइते भएका छन् भने एकजनामाथि दुर्व्यवहार भएको छ । कर्जा असुलीको विषयमा विवाद हुँदा म्याग्दीमा रहेको एनआईसी एसिया बैंकका कर्मचारी प्रकाश आलेमाथि आक्रमण भएको पर्वतका डीएसपी मधुसुधन न्यौपानेले अनलाइनखबरलाई जानकारी दिए । घट्नमा संलग्न पर्वतको जलजला गाउँपालिका-२ का ४० वर्षीय कृष्णबहादुर मल्ललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको न्यौपानेले बताए  ।

घट्नामा संलग्नलाई कारबाही गर्न माग

बैंक सञ्चालकहरुको संस्था सीबीफीनले म्याग्दीमा रहेको एनआईसी एसिया बैंकका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि सांघातिक आक्रमण भएको जनाएको छ । बिहीबार उनीहरुमाथि नियोजित रुपमा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाएको सीबीफीनले जनाएको छ ।

बिहीबार सिबिफिनले एक विज्ञप्ति जारी गर्दै सापकोटा र रआलेमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ । बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरुमाथि दुर्व्यवहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिने जस्ता अराजक गतिविधि र आक्रमण बढ्दै गएको भन्दै त्यस्ता कार्यमा संलग्नहरुलाई कानुनी कारबाही गर्न सीबीफीनले माग गरेको हो ।

जाजरकोटमा कर्मचारीमाथि गरिएको दुर्व्यवहार, मकवानपुरमा कुमारी बैंकको शाखा कार्यालयमा गरिएको धरपकड र ज्यादती तथा म्यग्दीमा आज बैंकका कर्मचारीमाथि ज्यान लिने गरी आक्रमण गरिएको घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको सीबीफीनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘निहीत स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादती र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता बर्बर र आततायी घटनामा संलग्न दोषीहरुलाई हदैसम्मको कारबाहीको माग गर्दछौं’ सीबीफीनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सीबीफीनले वार्ता तथा सम्वादको माध्यमबाट कुनै पनि समस्याको उचित समाधान निकाल्नका लागि आवश्यक पहल गर्न र बैंकिङ सेवालाई भयरहित वातावरणमा सञ्चालनको व्यवस्था मिलाउनका माग गरेको छ ।

सीबीफीनले बैंकिङ सेवालाई निर्वाधरुपमा सञ्चालन हुने वातावरण सिर्जना गर्न र आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारसँग अपिल समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?