+
+

सैनिक कलेजमा पोशाकलाई लिएर विवाद हुँदा पढाइ अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३ गते २०:००

३ चैत, काठमाडौं । कलेज पोशाकको विषयलाई लिएर प्रशासन र विद्यार्थीबीच असमझदारी हुँदा नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबीबीएस तेस्रो, चौथो र अन्तिम वर्षको पठनपाठन तीन दिनदेखि अवरुद्ध भएको छ ।

डा. अरुण न्यौपाने प्रिन्सिपल हुँदा स्क्रब लगाएर क्लिनिकल वर्षहरुमा पढाइ गर्न दिएको संस्थानले अहिले फेरि नियमित पोशाकमा आउन भनेपछि पढाइ अवरुद्ध भएको हो । संस्थान स्रोतका अनुसार यसबाट झण्डै ३०० जना विद्यार्थी प्रभावित भएका छन् ।

पहिले जारी सूचना अनुसार विद्यार्थीले प्रति सेट ३६०० रुपैयाँ तिरेर स्क्रब किनेका थिए । तर, एक्कासी नियमित पोशाकमा आउनु भन्दै ‘क्लिनिकल एयर’का विद्यार्थीको नाममा सूचना जारी भएको स्रोतले अनलाइनखबरलाई बतायो ।

एक अधिकारीका लागि अनुसार विगतमा संस्थानले नै स्क्रब लगाएर पठनपाठन गर्ने व्यवस्था गरेपछि अन्य कलेजले पनि यो सुविधा दिएका थिए । तर, एक्कासी अहिले के कारणले निर्णय फेरियो भन्ने बुझ्न नसकेको ती अधिकारीले बताए ।

विद्यार्थीले प्रशासनसमक्ष निर्णय फिर्ता लिन अनुरोध गरेका छन् । संस्थानले भने प्राध्यापकहरुलाई विद्यार्थी पोशाकमा नआउञ्जेल नपढाउन निर्देशन दिएका छन् । एक कर्मचारीका अनुसार अध्यापन गर्दा अस्पतालको काम छाडेर शुक्रबार संस्थान पुगेका प्राध्यापकले पढाउन खोज्दा सैनिक अधिकारीहरुले रोकेका थिए ।

एक कर्मचारीका अनुसार सैनिक अधिकारीले तेस्रो वर्षको कक्षामा विद्यार्थी पुग्नु अगावै ताला लगाएका थिए । ‘अहिले पनि फार्मेसीसहित इन्ट्रनले स्क्रब लगाइरहेका छन्, क्लिनिकललाई मात्र किन रोकियो भन्ने प्रशासनले केही बताएको छैन’, एक अधिकारीले भने ।

स्रोतका अनुसार ३०० जनाले गरिरहेको माग सुनुवाइ नहुञ्जेल पोशाक परिवर्तन गर्ने पक्षमा विद्यार्थी छैनन् । तर, कलेजले हालसम्म उनीहरुलाई छलफलमा समेत नबोलाएको विद्यार्थीको गुनासो रहेको संस्थानका अधिकारीहरु बताउँछन् । कलेजका एक शिक्षकले चाहिं विगतमा कोभिड महामारी भएकाले स्क्रब लगाउन दिए पनि अहिले फरक परिस्थिति भएकाले नियमित पोशाकमा आउन भनिएको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?