+
+

सडक खाली नगराई कुमारी घर पुगे राष्ट्रपति पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ४ गते १७:२६

४ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कारकेड नलिई काठमाडौंको बसन्तपुरस्थित कुमारी घर पुगेका छन् ।

राष्ट्रपति पौडेलले शनिबार अपरान्ह कुमारी घरमा दर्शन गर्न जाने क्रममा सडक खाली गराएर मात्रै सवारी हुने परम्परा तोडेका हुन् । कारकेड बिनानै उनले त्यहाँ पुगेर कुमारीको दर्शन गरे ।

त्यसक्रममा सर्वसाधारणले सडकमा सवारी साधन चलाइरहेका थिए भने पैदलयात्रुलाई पनि रोकिएको थिएन । राष्ट्रपतिको सवारीका बेला सडक आली गराइएको र सर्वसाधारणलाई हिँड्न पनि नदिएको भन्दै विगतमा आलोचना हुने गरेको थियो ।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेल पशुपतिनाथको दर्शन गर्न जाँदा सडक खाली गराइएको थियो र उनको पनि आलोचना भएको थियो ।

राष्ट्रपति पौडेलले बसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन् । राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले कुमारी घरमा स्वागत गरेका थिए ।

राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न गएका हुन् । कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फर्केका थिए । यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन थिएन ।

यसअघि शनिबार नै कुमारी घरको प्रतिनिधिमण्डलले राष्ट्रपति निवास शीतलनिवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको थियो । कुमारी घरमा हरेक महिनाको दशमीको दिन जीवित देवी कुमारीको पूजा हुने र एकादशीका दिन राष्ट्रप्रमुखसमक्ष सो पूजाको प्रसाद पुर्‍याउने परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?