+
+

चर्चामा ‘छक्कापञ्जा ४’का दुई गीत, दीपाश्री भन्छिन्- नाच्‍न मिल्ने भएकाले सबैले रुचाए

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ६ गते १२:३९

काठमाडौं । ‘छक्कापञ्जा’ सिरिजले बक्स अफिसको गणितमा मात्र होइन, संगीत पक्षमा समेत आफूलाई ब्लकबस्टर बनाएको छ । फिल्म श्रृंखलामा समावेश प्रायः शीर्ष गीतहरुले युट्युबमा करोडौं भ्युज पाइरहेका छन् । पहिलो भाग रहेको राजनराज सिवाकोटीद्वारा संगीतबद्ध ‘पूर्वपश्चिम रेल’लाई युट्युबमा ६ करोड पटक हेरिएको छ ।

‘देख न चम्पा’लाई एक करोड पटक हेरिएको छ । तेस्रो श्रृंखलामा समावेश ‘पहिलो नम्बरमा’लाई ६ करोड पटक हेरिएको छ । ‘पछि कालै पल्किन्छ’लाई १ करोड २० लाख, ‘पहिलो नम्बर’लाई १ करोड ४ लाख पटक हेरिएको छ । सिरिजमा समावेश नभएपनि दीपक–दीपाकै फिल्म वडा नम्बर ६ को गीत ‘सुर्के थैली खै’लाई ५ करोड २२ लाख भ्युज पाएको छ ।

हलमा चलिरहेको ‘छक्कापञ्जा ४’का दुई गीतले यतिबेला सांगीतिक बजार पिटिरहेका छन् । ‘दर्शन सलाम’लाई १ करोड २३ लाख र ‘सिरुपाते जुँगामा’लाई ३१ लाख पटक हेरिएको छ । बाबुल गिरीद्वारा संगीतबद्ध गीत ‘सिरुपाते जुँगामा’ रिलिजको दुई सातादेखि लगातार युट्युब ट्रेन्डिङको नेपालतर्फ शीर्षस्थानमा छ । लगातार दुई साता ट्रेन्डिङको शीर्षस्थानमा रहनु कुनै गीतका लागि दुर्लभ उपलब्धि हो । झनै, पाश्र्वगीतका लागि त अति नै महत्वपूर्ण । टिकटक, विवाह संस्कार र भोजमा समेत यो गीत घन्किंदा यो ट्रेन्डिङमा कायमै छ ।

सरल र मुखैमा झुण्डिने शब्द रहेको यो गीतलाई गिरीले सुदूरपश्चिमको शैलीलाई फ्युजन गरेर कम्पोज गरेका छन् । लय र शब्द बेजोड हुँदा यसले टिकटकमा स्थान पाएको छ । अर्कोतर्फ, छक्कापञ्जा ब्रान्डको कारणले पनि समावेश गीतले करोड भ्युज मात्र होइन, राम्रो प्रवद्र्धनको मौका पाएका छन् ।

‘छक्कापञ्जा’ निर्मात्री तथा अभिनेत्री दीपाश्री निरौला दर्शकलाई सुन्दा रमाइलो लाग्ने, मेलोडी भएको नाच्न मिल्ने खालका आधार हेरेर गीत छनोट गर्ने बताउँछिन् । ‘दर्शन सलाम गीत छक्कापञ्जाकै फ्लेभर आओस् भनेर छानेका हौं । चार वर्षअघिको गीत हो यो । संगीतकारले पनि हाम्रै लागि भनेर धैर्य गर्नुभयो,’ निरौलाले अनलाइनखबरसँग भनिन् ।

‘सुरुमा त आफैंलाई मन पर्नुपर्‍यो । त्यसपछि टिममा सल्लाह गर्छौं,’ दीपाश्री भन्छिन्, ‘प्राप्त चार–पाँचवटा अन्य गीतबाट सिरुपातेलाई छानेका हौं । लभको प्लट पनि विकास होस् र कथा पनि अघि बढोस् भनेर यो गीतलाई छानेका हौं । यो गीत सुन्ने बित्तिकै छोयो । मेलोडी राम्रो लाग्यो,’ उनी भन्छिन् । अहिले टिकटक, फेसबुक र इन्स्टाग्रामका रिल्समा यो गीत भाइरल बनिरहेको छ । गीतलाई रुचाइदिएकोमा दीपाश्रीले दर्शकलाई धन्यवाद समेत दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?