+
+

अहिलेसम्मकै कठिन चुनौती सामना गर्ने तयारीमा महिला भलिबल

नमिता दाहाल नमिता दाहाल
२०७९ चैत ७ गते १४:१४

७ चैत, काठमाडौं । २०७६ यता दुई वर्षको बीचमा एसियाली क्षेत्रीय प्रतियोगिता सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबलमा दुई उपाधि जितेर नेपालको महिला टिमले आफूलाई स्थापित गरिसकेको छ ।

अन्तर्राष्ट्रिय इतिहासको दुई दशकसम्म दक्षिण एसियामै सीमित रहेको नेपालको महिला भलिबलले २०७६ असोजमा पहिलोपल्ट एसियाली क्षेत्रीय प्रतियोगिताको उपाधि जितेको हो । २०७८ पुसमा उपाधि रक्षा गरेको थियो । दुवै संस्करणको प्रतियोगिता बंगलादेशमा भएका थिए ।

सेन्ट्रल एसियन भलिबल संघ (काभा)को आयोजनामा हुने प्रतियोगिताको नयाँ संस्करण जेठ ६ देखि १५ गतेसम्म नेपालमा आयोजना हुँदैछ । नेपालले पहिलोपल्ट सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो ।

घरेलु मैदानमा हुन लागेको प्रतियोगिता आफूभन्दा माथिल्लो वरीयताका काजाकिस्तान र भारतको पनि सहभागिता रहँदा उपाधिमा ह्याट्रिक गर्ने नेपालको लक्ष्य चुनौतिपूर्ण हुनेछ ।

सेन्ट्रल जोन भलिबल संघमा रहेका १४ सदस्य राष्ट्रलाई वर्गीकरण गरी आयोजना भएको प्रतियोगितामा नेपालले तल्लो वरीयताको प्रतिनिधत्व गर्दै दुईपल्ट उपाधि जितेको हो ।

यसपल्ट काभाको निर्णयअनुसार सबै टिमलाई एउटै हैसियतमा प्रतियोगितामा समावेश गरिएको छ । त्यसो हुँदा सेन्ट्रल जोनको शीर्ष स्थानमा रहेको काजाकस्तान र दोस्रो स्थानमा रहेको भारतसँग नेपालको भेट हुन लागेको हो ।

यसपल्ट काभा वुमेन्स च्यालेन्ज कपको नामबाट आयोजना हुन लागेको प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ । काजाकस्तान, भारत र नेपालसँगै बंगलादेश, श्रीलंका, माल्दिभ्स, किर्गिस्तान र उज्वेकिस्तानले यो प्रतियोगिता खेल्दैछन् ।

नेपालले अन्तर्राष्ट्रिय आधिकारिक प्रतियोगितामा भारतलाई हराउन सकेको छैन । २०७६ मंसिरमा आयोजित १३औं दक्षिण एसियाली खेलकुदअन्तर्गत महिला भलिबलको फाइनलमा नेपालले भारतविरुद्ध २ सेटको अग्रता लिएर पनि खेल गुमाएको थियो । काजाकस्तानसँग नेपालले अहिलेसम्म खेलेको छैन । बाँकी टिमहरुलाई भने अघिल्ला प्रतियोगिताहरुमा नेपालले हराइरहेको हो ।

यो प्रतियोगिताका लागि नेपालले ८ फागुनदेखि राष्ट्रिय टिमको प्रशिक्षण सुरु गरेको छ । अघिल्ला दुवै संस्करणमा नेपाललाई च्याम्पियन बनाएका प्रशिक्षक जगदीश भट्टले प्रशिक्षण सुरु गरेको एक महिनापछि अघिल्लो सातादेखि अन्तर्राष्ट्रिय भलिबल महासंघको सहयोगमा बेल्जियमका प्रशिक्षक जान डी ब्रान्टले नेपाली टिम सम्हालेका छन् ।

नेपालले घरेलु माहोलको साथ पाउनेछ । यद्यपी यसपल्ट उपाधि यात्रा सहज हुनेछैन । ‘काजाकस्तान र भारतसँगको जित सहज हुँदैन । सागमा पाँचौं सेटको त्यो हार अझै पनि नेपालीको मनमा ताजा छ । यसपल्ट भारतजस्ता बलियो विपक्षीलाई हराउने प्रयाससहितको तयारी हुनेछ,’ सहायक प्रशिक्षक भट्टले अनलाइनखबरसँग भने ।

संघले टिमको स्तर उकास्न भन्दै बेल्जियमका प्रशिक्षक ब्राण्टलाई जिम्मेवारी दिएको छ । उनी ६ महिनाका लागि नेपाल आएका हुन् । एक साताको बीचमा उनले खेलाडीहरुको प्राविधिक पक्षमा केन्द्रित रहेको प्रशिक्षण गराइरहेका छन् । ‘नेपाली टिममा धेरै युवा छन् । उनीहरुमा सिक्ने क्षमता र तीव्र चाहना भएकाले सिकाउन पनि सहज भइरहेको छ’, ब्रान्टले अनलाइनखबरसँगको कुराकानीमा भने ।

नेपालमा विदेशी प्रशिक्षकसँग प्रशिक्षण गरेको छोटो समयमा नै नयाँ कुराहरु सिक्ने मौका पाएको नेपाली टिमकी कप्तान अरुणा शाहीले बताइन् । नेपाल भलिबल संघले टिमको एक्स्पोजरका लागि मैत्रीपूर्ण खेलको तयारी गरिरहेको बताएको छ ।

प्रतिस्पर्धीबारे अनभिज्ञ ब्रान्ट, च्याम्पियन बन्ने नेपालको लक्ष्य

बेल्जियम र हंगेरीको महिला टिमलाई प्रशिक्षण गराएका ६४ वर्षीय अनुभवी प्रशिक्षक ब्राण्टसामू नेपाल टिमको ब्राण्डलाई उँचो राख्ने जिम्मेवारी छ । त्यो भनेको उपाधिमै केन्द्रित हुने हो ।

प्रतियोगिताका विपक्षी टिमबारे आफूलाई धेरै जानकारी नरहेको ब्राण्टले बताएका छन् । उनी आफ्नै टिमलाई तयार बनाउन केन्द्रित छन् ।

‘मलाई भारत, श्रीलंका तथा बंगलादेशले कस्तो खेल्छ भन्ने थाहा छैन । उनीहरुको बारेमा मलाई केही पनि भिडियो जानकारी हात लागेको छैन,’ युरोपमा पछिल्लो समय क्लबस्तरमा प्रशिक्षण गराएका उनले थपे, ‘म नेपाली टिमलाई नै उत्कृष्ट बनाउन चाहन्छु । यो प्रशिक्षण च्याम्पियन हुन पर्याप्त हुन्छ कि हुँदैन भन्ने कुरा प्रतिस्पर्धीबारे जानकारी पाएपछि मात्र थाहा हुन्छ ।’

उनले पहिलो साताको अनुभव अनुसार नेपाली खेलाडीको सिक्ने भोक उच्च छ । दक्षिण एसियाली क्षेत्रका मानिसहरुको औषत उचाइ युरोपेलीभन्दा कम हुन्छ । त्यसैले टिमको रक्षापंक्ति सशक्त बनाउनेतर्फ ब्राण्ट केन्द्रित हुन खोजेका छन् ।

‘माथिल्लो स्तरमा भलिबल खेल्न अग्लो कद निकै जरुरी छ । नेपालीहरु त्यति अग्ला छैनन् । जसका कारण हामीले डिफेन्स राम्रो बनाएर खेल्नुपर्छ,’ ब्रान्टले भने ।

पछिल्ला सफलताले नेपाल टिमलाई आत्मविश्वासी बनाएको छ । टिममा केहि नयाँ खेलाडीहरुले पनि स्थान पाएका छन् । घरेलु मैदानमा जितको स्वाद चाख्ने लक्ष्यमा स्तरीय विदेशी प्रशिक्षकको आगमनसँगै सकारात्मक भावनाको विकास भएको कप्तान शाहीले बताइन् ।

‘सर आउनु भएको धेरै भएको छैन तर प्रशिक्षणसँगै प्रतियोगितालाई पनि जोडेर सिकाइ रहनुभएको छ,’ उनले भनिन्, ‘उहाँले व्याक्तिगतका साथ साथै समूहमा कसरी संयोजन मिलाउने भनेर सिकाउनुभएको छ । मोमेन्टहरु, स्पिडमा परिवर्तन भएको छ । यो तरिकाले सिक्दै गयौं भने टिममा छिट्टै ठूलो परिवर्तन आउनेछ ।’

अघिल्ला दुई संस्करण मुख्य प्रशिक्षक बनेर उपाधि जिताएका जगदीश भट्ट यसपल्ट सहायकको रुपमा ब्राण्टलाई सहयोग गरिरहेका छन् । नयाँ विदेशी प्रशिक्षकसँग आफ्नो समन्वयबारे उनी भन्छन्, ‘उहाँको अनुभव हाम्रा लागि महत्वपूर्ण छ । उहाँले प्राविधिक पक्षमा केन्द्रित गर्नुभएको छ । म आफ्ना खेलाडीको क्षमता र प्रतिस्पर्धीबारे जानकार छु । समन्वयमै सकारात्मक नतिजाको आशा छ ।’

च्यालेन्ज कपपछि एसियाड

नेपालको महिला भलिबल टिमले पहिलोपल्ट एसियाली खेलकुदमा सहभागिता जनाउँदैछ । कोरोना महामारीका कारण १ वर्ष सारिएको एसियाली खेलकुद आउने भदौ/असोजमा चीनमा हुँदैछ ।

नेपाल टिमले जेठको काभा वुमेन्स च्यालेन्ज कमलगत्तै आफूलाई एसियाडका लागि पनि तयार गर्नुपर्नेछ । नेपाल टिमले च्यालेन्ज कपलाई एसियाडको तयारीकै एउटा चरणका रुपमा लिएको छ ।

नेपालका प्रशिक्षकद्वय ब्रान्ट र भट्ट दुवैले यो प्रतियोगितालाई एसियन गेम्सको तयारीका रुपमा लिएको बताएका छन् । ६ महिनाका लागि नेपाल आएका ब्राण्ट एसियाडभन्दा अगाडि नै स्वदेश फर्कनेछन् ।

‘घरेलु मैदानमा प्रतियोगिता हुन्छ । उक्त प्रतियोगिता खेलाडीको क्षमता चिन्ने मौका हुन्छ । जसले गर्दा एसियन गेम्सका लागि खेलाडी काँटछाँट गर्न सहज हुनेछ,’ ब्रान्टले भने, ‘उनीहरु चुनौतीपूर्ण अवस्थामा कसरी खेल्छन् मलाई पनि हेर्न मन छ । टिमलाई सिक्ने र सुध्रिने मौका हुन्छ ।’

नेपालले एसियाडमा शीर्ष आठभित्र पर्ने लक्ष्य राखेको छ । काभा च्यालेन्ज कपमा राम्रो प्रदर्शन गर्न सके एसियाडका लागि मनोबल उच्च हुने नेपाल टिमले बुझेको छ ।

तस्वीर तथा भिडियो : शंकर गिरी/अनलाइनखबर

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?