+
+

प्यासिफिक एसिया ट्राभल एसोसिएसनको वार्षिक शिखर सम्मेलन पोखरामा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ८ गते १३:४६

८ चैत, पोखरा । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले नेपालमा पहिलोपटक पोखरामा वार्षिक शिखर सम्मेलन गर्ने भएको छ । नेपाल सरकार, पाटा र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मे २९ देखि जुन १ गतेसम्म पोखरामा शिखर सम्मेलन हुन लागेको हो ।

बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पाटाका महासचिव सुमन पाण्डेले पाटा शिखर सम्मेलनसहित पाटाको बोर्ड बैठक, वार्षिक जनरल मिटिङ, जनरल बोर्ड मिटिङसमेत पोखरामै हुने जानकारी दिए ।

कोरोना महामारीले सुस्ताएको नेपालको पर्यटनलाई उठाउन पाटा शिखर सम्मेलनले ठूलो भूमिका खेल्ने पाण्डेले दाबी गरे । ‘२०७२ मा भूकम्प जाँदा पनि पाटाले नेपालको पर्यटन बजार रिकभर योजना ल्याएको थियो । त्यसले छोटो समयमै रिकभर पनि भयो,’ उनले भने, ‘अहिले पनि हामी कोरोनापछि रिकभरको पर्खाइमा छौं ।’

नेपालको पर्यटन बजारमा पोखराको पर्यटनले ठूलो प्रभाव पार्ने भएकाले शिखर सम्मेलन पनि पोखरामै हुन लागेको पाण्डेले सुनाए । शिखर सम्मेलनमा १५ देशका पाटा कार्यकारी बोर्ड सदस्यहरु सहभागी हुने उनले जानकारी दिए ।

‘शिखर सम्मेलनमा विभिन्न देशका पर्यटन व्यवसायीहरुको सहभागी हुने हुनाले एकआपसको अनुभव आदानप्रदान गर्ने एउटा राम्रो प्लेटफर्म पनि हो,’ उनले भने, ‘यसको भरपूर फाइदा पोखराले पनि लिन सक्छ । यहाँका पर्यटन व्यवसायीले छुटाउनै हुँदैन ।’

शिखर सम्मेलनका अवसरमा हुने एड्भेन्चर ट्राभल मार्टमा विश्वभरका करिब ३ सय अन्तर्राष्ट्रिय प्रतिनिधिहरु सहभागी हुने आयोजक पाटाले जनाएको छ ।

कार्यक्रममा नेपाली तथा अन्तर्राष्ट्रिय व्यापारलाई एउटै प्लेटफर्ममा भेला हुने र काम गर्ने अवसर सिर्जना हुने नेपाल पर्यटन बोर्डका कार्यकारी डा. प्रमुख धनञ्जय रेग्मीले जानकारी दिए । उनले हालै सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन र पोखरामा भएको हवाई दुर्घटनापश्चात फैलिएको गलत अपवाहलाई चिर्न पनि महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?