+
+

मन्त्रीमा शेखर समूहले खोज्यो हिस्सेदारी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते १९:०५
नेपाली कांग्रेसका नेता शेखर कोइराला

९ चैत, काठमाडौं । नेपाली कांग्रेसको शेखर समूहले सरकारमा आफूहरुको सम्मानजनक सहभागिता हुनुपर्ने बताएको छ ।

सत्ता गठबन्धनमा मन्त्रालय भागबण्डा टुंगो लागेको छैन । तर कांग्रेसमा मन्त्रीका आकांक्षीहरुको दौडधुप चलिरहेको छ । विहीबार आफ्नो समूहको बैठकमा डा. शेखर कोइरालाले पनि मन्त्रालय भागबण्डाबारे सभापतिले केही नभनेको सुनाएका थिए ।

आफ्नो सम्पर्क कार्यालय, बालुवाटारमा भएको छलफलमा नेताहरुले सरकारमा सम्मानजक सहभागिता हुनुपर्ने बताए । ‘सरकारमा हाम्रो सम्मानजनक र न्यायोचित सहभागिता हुनुपर्छ भन्ने हाम्रो मत हो’ एक नेता भन्छन्, ‘कांग्रेसले ७ पायो भने हामीले ३ पाउनुपर्छ, ९ वटा पायो भने चार वटा चाहिन्छ ।’

नेताहरुले सरकारको नेतृत्व गर्ने अवसर पाए जान डा. शेखर कोइरालालाई सल्लाह दिएका छन् । उनले भने यसबारे केही नबोलेको एक सहभागीले सुनाए । महामन्त्री गगनकुमार थापालाई पनि नेताहरुले अर्थ मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव आएको भए जान सुझाव दिएका थिए । तर उनले भने आफू सरकारमा नजाने बताए ।

नेताहरुका अनुसार शेखर समूहबाट उपसभापति धनराज गुरुङको मन्त्री हुने निश्चित जस्तै छ । यो समूहबाट डा. शेखर र महामन्त्री थापाले दुवै सरकारमा नगएको अवस्थामा पार्टी वरीयतामा तेस्रो स्थानमा रहेका उनी मन्त्री हुने सम्भावना छ ।

यद्यपि प्रवक्ता डा. प्रकाशशरण महतले सरकारमा पार्टीको नेतृत्व गरेको अवस्थामा उपसभापति मातहत जाँदा नैतिक प्रश्न भने उठ्न सक्छ । ‘उहाँ (धनराज) लाई मन्त्री हुने पहिलो कुरा हो । वरीयता वा कसको नेतृत्व भनेर हेर्नु होला जस्तो लाग्दैन’, एक केन्द्रीय सदस्य भन्छन् ।

यो समूहमा रहेका सहमहामन्त्री जीवन परियार, डिगबहादुर लिम्बु, तेजुलाल चौधरी पनि आकांक्षी छन् । ‘शेखर दाइले आफ्नो समूहमा सबैभन्दा बढी विश्वास गर्ने जीवन परियारको हो’ एक नेता भन्छन्, ‘यो पटक उनलाई मन्त्री बनाउन सक्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?