+
+

वन डढेलो र आगलागीका घटना बढ्न सक्ने प्राधिकरणको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ९ गते १९:४२

९ चैत, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगलागीको जोखिम बढिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहीबार पत्रकार सम्मेलन गरेर जलवायु परिवर्तनका कारण तापक्रम बृद्धि हुँदा वन डढेलो तथा आगलागीका घटनाहरु झन् विकराल हुनसक्ने बताएको छ ।

‘यसै पनि आगलागीका घटना बढ्दै गइरहेका छन्,’ पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले  भने, ‘यस वर्ष हिउँदे वर्षा असाध्यै न्यून भएको छ, त्यसैले आगलागी तथा वन डढेलाका घटनाहरुको जोखिम अधिक हुनसक्ने छ।’

प्राधिकरणका उपसचिव तथा डढेलो विज्ञ सुन्दरप्रसाद शर्माले डढेलो र आगलगी नियन्त्रणका लागि राज्यका निकायका साथै उपभोक्ताहरु पनि सचेत हुनुपर्नेमा जोड दिए ।

प्राधिकरणका अनुसार २०७० वैशाख १ गतेदेखि २०७९ चैत ७ गतेसम्म देशभरमा भएका १८ हजार ७९१ वटा आगलागीका घटनामा  ७६९ जनाको ज्यान गएको छ । २ हजार ५६८ घाइते भएका छन् ।

आर्थिक क्षति २२ अर्ब २३ करोड भन्दा बढी छ । डढेलोबाट काठपात, जंगली जनावर, जडिबुटीसहित ठूलो पर्यावरणीय क्षति हुने गरेको छ ।

यसैअवधिमा चट्याङका २ हजार २८० घटनाहरु हुँदा ९०१ को मृत्यु भएको छ भने २ हजार ५४५ जना घाइते भएका छन् । यस अवधिमा २ हजार ८०३ चौपाया मरेका छन् ।

आगलागीका घटनाहरु  बढेकाले त्यसको न्यूनीकरण तथा व्यवस्थापनका लागि संरचनागत सुधार, उपकरण हस्तान्तरण, सूचना प्रणालीको विकास, प्रभावकारी संचार, तहगत प्रशिक्षण सहितका पहल गरिरहेको जनाएको छ ।

२१ वटा जिल्लामा छन् आगलागी नियन्त्रणका उपकरण

आगलागी तथा वन डढेलो नियन्त्रणमा खटिने अग्नि-नियन्त्रण दस्ताहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, वन उपभोक्ता समूह र नेपाल सरकारका वन प्राविधिकहरुका लागि उपयुक्त हुने तालिम सामग्रीहरुको विकास गरी इलर्निङ पाठ्यक्रमको डिजाइन भइरहेको प्राधिकरणकी सहसचिव अनिता निरौलाले बताइन् ।

प्राधिकरणले हालसम्म २१ वटा जिल्ला प्रशासन कार्यालहरुलाई आगलागी नियन्त्रणका लागि बोकेर लैजान मिल्ने पम्प सहित आगलागी नियन्त्रणमा प्रयोग हुने उपकरणहरुको ‘सेट’ नै वितरण गरेको छ ।

उपकरण वितरण गरिएका जिल्ला प्रशासन कार्यालयहरुमा इलाम, बारा, पर्सा, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, सल्यान, सुर्खेत, बाँके, बर्दिया, अछाम, कैलाली, डोटी, डडेल्धुरा र कञ्चनपुर छन् ।

वितरण गरिएका उपकरणका सेटमा पम्पका अलवा फायर स्वाटर, फायर र्‍याक, फायर एक्स हो, प्राथमिक उपचारका सामानहरु, फायर फाइटिङ जम्प सुट, फायर बुट, हेल्मेट, ब्याक प्याक जम्प, हेड टर्च, बेल्चा लगायत छन् ।

त्यसैगरि, तनहुँका आँबुखैरेनी र बन्दीपुर गाउँपालिका, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, खोटाङको वराहपोखरी गाउँपालिका, रामेछापको मन्थली नगरपालिका र चितवनको रत्ननगर नगरपालिकालाई पनि पम्पसहित आगलागी नियन्त्रणमा प्रयोग हुने उपकरणहरुको ‘सेट’ उपलब्ध गराइएको छ ।

जिल्ला प्रशासन कार्यालय रसुवा र सिन्धुपाल्चोक एवं सप्तरीको तिरहुत गाउँपालिका र ताप्लेजुङका फुङलिङ नगरपालिका एवं मिरङदेन गाउँपालिकालाई भने बोकेर लैजान मिल्ने पम्प हस्तान्तरण गरिएको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?