+
+

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए विश्वासको मत

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १० गते १५:५७

१० चैत, हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रोपटक विश्वासको मत पाएका छन् ।

११० सदस्यीय प्रदेशसभाका ६७ सांसदले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिएका हुन् । विश्वासको मतको विपक्षमा १७ मत पर्‍यो भने ७ जना सांसद तटस्थ बसे । प्रदेशसभाको विश्वास छ भनेर देखाउन मुख्यमन्त्रीले कम्तीमा ५६ सांसदको समर्थन जुटाउनुपर्ने थियो ।

उनलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएका छन् । मुख्यमन्त्री नियुक्त भएको तीन महिना पनि पूरा हुन नपाउँदै उनले दोस्रोपटक विश्वासको मत पाएका छन् ।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै राप्रपाका ३ जना मन्त्रीहरुले फागुन १३ गते राजीनामा दिंदै सरकारको समर्थन समेत फिर्ता लिएका कारण मुख्यमन्त्री जम्कट्टेलले शुक्रबार पुनः विश्वासको मत लिएका हुन् ।

पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका जमकट्टेलले माघ ३ गते पहिलोपटक विश्वासको मत लिएका थिए । त्यतिबेला उनले १०५ सांसदको विश्वासको मत प्राप्त गरेका थिए भने प्रदेश सभामा उपस्थित सात मध्ये छ दलको समर्थन थियो । नेमकिपाका ३ सांसदले मात्र उनलाई विश्वासको मत दिएका थिएनन् ।

तर शुक्रबार उनलाई माघ ३ गते विश्वासको मत दिएका दलहरु नेकपा एमाले र राप्रपाले मत दिएनन् । अब प्रदेश सभामा नेकपा एमाले, राप्रपा र नेमकिपा प्रतिपक्षमा रहनेछन् ।

संसदको सबैभन्दा ठुलो दल भएर पनि सरकारबाहिर रहेको नेपाली कांग्रेसको भने सरकारमा जाने भएको छ । प्रदेश सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने बताएका छन् ।

बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकिकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?